सिमा सुरक्षाको सुधार अभावमा लागु ‍औषधको सिकार हुँदै नेपाली युवाहरु

<span class='c1'>सिमा सुरक्षाको सुधार अभावमा लागु</span> <span class='c2'>‍औषधको सिकार हुँदै नेपाली युवाहरु</span>

-राम खेलौन मेहता
लागु पदार्थको सेवन मानव सभ्यताको विकाससँगै विस्तार हुदै आएको मानिएतापनि परम्परागत रुपमा जोगी, सन्यासीहरुले जंगलमा भेटिने गाँजा, भांग, धतुरो वनस्पतीजन्य लागु पदार्थहरु होली, शिवरात्री जस्ता चाँडपर्व, थकान मेटन र आफुलाई खुशिको अनुभुति दिलाउन सेवन गर्ने गरेको देखिन्छ तर समय सँगसँगै १९६० को दशकमा हिप्पी संस्कृतीको प्रवेशसँगै उनीहरुको सँगतमा लागेर बिस्तार हुँदै आई १९९० को दशक पछि भने हाम्रो मुलुकमा आधुनिक रुपमा लागु औषधको प्रयोगले बिस्तारै गतिलिएको मान्न सकिन्छ ।

लागु औषध (Drug) भनेको मानिसको चेतना, अनुभुति र मनोभावनालाई प्रभावित पार्ने अर्थात् लागु औषध प्रयोगकर्ताको सम्झने र सोच्ने शक्तिलाई विकृत तुल्याउने औषधी हो । यसको अलावा मानिसमा लत सिर्जना गरी दुर्व्यसनी तुल्याउने वस्तु वा पदार्थ लाई नै लागु पदार्थ वा औषध हो भनिनु अतियुक्ति नहोला । विश्व स्वास्थ्य संगठनले लागु पदार्थलाई स्वस्थ्य शरीरको लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनि परिभाषित गरेको छ। यसले मानिकको केन्द्रीय स्नायू प्रणालीमा प्रभाव पार्नुका साथै मानिसको भावना र सोचाईमा परिवर्तन ल्याउँदछ ।

लागु पदार्थलाई मुख्य दुई भागमा विभाजन गरिएको छ।पहिलो प्राकृतिक लागु औषधः ब्राउन सुगर, गाँजा, चरेस, भाङ्‍ग, धतुरो, अफिम, कोका आदि । दोस्रो औषधीजन्य लागु पदार्थः मानव जीवन रक्षाको लागि उत्पादित औषधीजन्य पदार्थहरु (Dextromoramide, Dextropropoxyphen, Diazepam, Pentazocine, Nitrazepan, Clonazepam, Pheniramin इत्यादि ) जुन चिकित्सकको सल्लाह विना सेवन वा दुरुपयोग गर्ने औषधहरु हो, भने सेवन विधिको आधारमा निम्न चार भागमा वर्गीकरण गरिएको छ । नेपाल लागु औषध प्रयोगकर्ता सर्वेक्षण विस २०७६ को प्रतिवेदन तथा नेपाल सरकार गृह मन्त्रालयको वेवसाइट समेतको आधारमा) मुखबाट सेवन गर्ने, धुवाँबाट सेवन गर्ने, सुईबाट सेवन गर्ने, सुँघेर सेवन गर्नेहरु क्रमशः ३३ दशमलब ७० प्रतिशत,३४ दशमलब ९० प्रतिशत, २९ दशमलब ३० प्रतिशत, २ दशमलब १० प्रतिशत रहेको देखिन्छ।

लागु औषधका प्रयोगकर्ता तथा कारोबारीहरु प्रायजसो देशको जनसांख्यिक लाभको रुपमा रहेको अमुल्य जनशक्ति खासगरी युवा शक्ति नै छन् किन भने यो उमेर अत्यन्त प्रभावशिल एवं तरल अवस्थाको हुने गर्दछ । विश्व स्तरमा मानव समुदायलाई लागु औषधको असर र कारोबारबाट मुक्त गराउने उद्देश्यले जुन २६ तारिखलाई “अन्तराष्ट्रिय लागु पदार्थ तथा अवैध तस्करी विरुद्ध दिवसका” रुपमा मनाउन थालेको पनि करिब चार दशक भइ सक्दा पनि गृह मन्त्रालयले प्रकाशन गरेको नेपाल लागु औषध प्रयोगकर्ता सर्वैक्षण 2076 का अनुसार लागु औषध प्रयोगकर्ता कोशी प्रदेशमा मात्र २७ हजा ६ सय ५ जना र मुलक भरीमा लागु औषध प्रयोगकर्ता मात्र एक लाख ३० हजार ४ सय २५ जना रहेको देखिन्छ । यस संख्यामा बर्षेनी करिब ५ प्रतिशत भन्दा बढीको दरमा बृद्धि भइ रहेको देखिएकोले यो दिवस दिवसमा मात्र सीमित रहेको हो कि भन्ने प्रश्न हामी सामु उभिएको देखिन्छ । यसलाई कानुनी उपचार गर्ने क्रममा प्रारम्भिक सुनवाइको चरण (Pre Triale Stage), सुनवाई चरण (During Triale Stage) र सुनवाई पश्चातको चरण (Post Triale Stage) समेत गरी राज्यले खर्चैको रकम र जनशक्तिलाई लागु औषध सम्वन्धि जनचेतना फैलाउन, सिमा नाकाबाट सेवनकर्ता तथा संचयकर्ता, कारोबारलाई पक्राउ गर्नुको साथै सरकारका प्रभावकारी, सक्षम निकायको रुपमा रहेको नेपाल प्रहरीलाई सिमा नाकामा सेवन र ओसारपसार गर्ने तथा सिमावर्ती क्षेत्रमा ओहोरदोहोर गर्नेलाई पुर्व पहिचान गरी प्रथम दृष्टिमा शंका लागेकालाई सचेत गराउने, सेवन तथा खरिद पुर्व नै निगरानीमा राख्‍ने विद्यमान कानुनको लचक प्रयोग मार्फत पहिलो पटकका सेवन कर्ताहरुलाई छोटो न्यायीक प्रकृयाबाट सुधारको अवसर प्रदान गर्नु पर्ने देखिन्छ ।

लागु औषध भित्रीने मुख्य नाकाहरुमा त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल, नेपालगँज, भैरहवा, काँकरभिट्टा, जोगवनी र अन्य खुल्ला सिमानाहरु रहेको देखिन्छ । सिमासँग जोडीएको मोरङ जिल्ला अदालतमा मात्र आ.व. २०७९/०८० मा ३१८ थान लागु औषध मुद्दा दर्ता भएकोमा आ.व. २०८०/०८१ मा १५ प्रतिशतले बृद्धि भई ३६४ थान मुद्दा दर्ता हुनगएको देखिन्छ । कारागार कार्यालय मोरङमा मात्र २०८१ साल कार्तिक महिनाको मसान्तसम्म लागुऔषध मुद्दाका विदेशी कैदी बन्दी (कैदी र थुनुवा) ३० जना र नेपाली कैदी बन्दी (कैदी र थुनुवा समेत) २५ जना महिला समेत गरी जम्मा २८० जना रहेकोले यी ब्यक्तिहरुको परिवार समाजमा परेको असर जीवित अध्ययनको बिषय नै हो । यो बिकराल अवस्था नेपाल प्रहरीको मात्र प्रयासले अपेक्षाकृत रुपमा निराकरण गर्न कठिन रहेको देखिन्छ । हाल हाम्रो समाजमा लागुऔषधका असरहरुको रुपमा पारिवारिक कलह, कुपोषण, सर्ने/नसर्ने रोगको जोखिम, यौनजन्य विकृति, आर्थिक हिनामिना, सम्वन्ध विच्छेद, अकाल मृत्यु, सामाजिक क्षती जस्ता घटनाहरु दिनानुदिन बिकरालरुप लिन थालेको सहजै अनुमान गर्न सकिन्छ ।

लागुऔषध नियन्त्रणका लागि विद्यमान कानुनहरु मा लागु औषध (नियन्त्रण) ऐन, २०३३, लागु औषध नियन्त्रण राष्ट्रिय नीति, २०६३, लागु औषध नियन्त्रण राष्ट्रिय रणनीति, २०६६, लागु औषध नियन्त्रण कार्ययोजना-२०७५, लागु औषध नियन्त्रण र रोकथाम सम्वन्धी कार्यक्रम सञ्चालन सम्बन्धमा स्थानीय तहलाई मार्गदर्शन,2076, मुलुकी अपराध संहिता, २०७४, संगठित अपराध निवारण ऐन,२०७०,अपराध पीडित संरक्षण ऐन, २०७५ रहेकोले कानुनको अभाव नभई बदलिदो परिवेशको अध्ययन र समन्वय,सहकार्य एवं सचेतनाको पाटो सुस्त रहेको मान्न सकिन्छ।

लागुऔषध प्रयोगकर्तामा मनोवल र आत्मबल अभिवृद्धि गरी लागु पदार्थ प्रति वितृष्णा उत्पन्न गराउने, लागुऔषधको नकारात्मक असर बारे जनजागरण कार्यक्रम संचालन गरी लागुऔषध प्रयोगकर्ताको कारणबाट उतपीडित समाजलाई राहत दिलाउने समेत उदेश लिएर नेपाल प्रहरीले विस २०५४ सालमा आसरा सुधार केन्द्र स्थापना गरी हाल नेपाल प्रहरी श्रीमती संधले संचालन गर्दे आएको छ । यस्ता कैयो सरकारी तथा गैर सरकारी,सुधार केन्द्र हरु संचालनमा रहेपनि लागुऔषध सेवन तथा दुरुव्यसनी हुन बाट यूवाहरुलाई जोगाउने उल्लेख्य एवं प्रभावकारी प्रयासहरु भएको देखिदैन नाकाहरुबाट मानिसहरुको औहरदोहोरमा नेपाल प्रहरीले सहजै लागुऔषध सेवन तथा औसारपसार कर्ताको पहिचान गर्ने क्षमता भएकोले नाका प्रवेशको बखत कुनै केही रोक टोक सोधपुछ वा चेतनामुलक जानकारी (Preventive measure) नअपनाई सिमापारीबाट फर्किदा सकृतापुर्वक खोजतलास गरि पक्राउ गर्नु सर्हानिय कार्य त हो तर यसले राज्यको कैयौं दक्ष जनशक्ती अनउत्पादक क्षेत्रमा ब्यस्त भएर पनि लागुऔषध सेवनकर्ता तथा औसार पसार गर्नेको संख्यामा न्यूनिकरणको संकेत देखिदैन।

यसलाई थप जोडबलका साथ न्यूनिकरण गर्न बहुपक्षिय, साझेदारीः- निजी तथा सामुदायिक संधसंस्थाको श्रोत परिचालन गर्न सरकारी र निजी, सामुदायिक स्थानीय निकायका बिच साझेदारी तथा सहकार्य विद्यालय स्तरमा सचेतना (शिक्षक एवं विद्यार्थी), समुदायमा महिला स्वास्थ्य स्वंयसेविका,आमा समुह, समुहमा काम गर्ने मजदुरहरु, सिमाक्षेत्रमा व्यापार व्यवसाय गर्ने सिमाका नियमित प्रयोगकर्ताहरु अन्य सम्वन्ध सरोकारवाला बिचमा अन्तरकृया सिमा वारपारका सम्वन्धित प्रशासनिक गैर स.स.अन्य सम्बन्ध पक्षसँग सहकार्य स्थानीय तह र प्रहरी बिचको संयुक्त साझेदारी, भारतीय अधिकारीहरुको प्रतिबद्धता थप अध्ययन अनुसन्धान गर्नु आजको आवश्यक्ता रहेको देखिन्छ ।

लागुऔषध दुर्व्यसन तथा अवैध ओसार पसार बहुपक्षीय सरोकारको बिषय हो । विश्वका सवै जसो राष्ट्रहरु यसबाट अछुतो रहन सकेको छैन । खास गरी नेपाल-भारत सिमावर्ति शहरहरुमा यो समस्या बढदो मात्रमा रहेको पाइन्छ। हालको जनचाहना र विद्यमान अवस्था समेत लाई मध्यनजर गर्दा खुल्ला सिमा सुरक्षा तथा अन्तरसिमा अपराधमा थप सजगता तथा लागुऔषध सेवन एवं कारोबारमा युवाहरु होमिनु पुर्वको बहुपक्षीय प्रभावकारी निगरानीमा जोडबल दिनुपर्ने देखिएको छ । नेपाल सरकारले लागु औषध नियन्त्रण राष्ट्रिय नीती,२०६३ अनुसार लागु औषधको रोकथाम, तथा नियन्त्रणको लागि लिएको नीतिहरुमाः आपुर्ति नियन्त्रण (Supply Control), माग घटाउ, उपचार तथा पुनर्स्थापना, जोखिम न्यूनिकरण, शोध र विकास रहेको छ। मुलुकमा लागुऔषध दुर्व्यसनको स्वरुप, प्रकृति व्यापकता, किसिम एवं संख्या तथा नतिजा र परिणाम समसामयिक महत्वका विषयमा अध्ययन अनुसन्धान तथा विकासका कार्यलाई प्रोत्साहन गरी नविन कार्यक्रमहरु यसको सफल कार्यान्वयन एवं परिणाम मुखि बनाउन आवश्यक रहेको छ । जस्ले विभिन्न अदालतहरु, सरकारी वकिल कार्यालय, नेपाल प्रहरी र समग्र समाज समेतको श्रोत र समयको खर्च जोगाई युवाहरुलाई स्वस्थ्य एवं सृजनशील नागरीक र समृद्ध राष्ट्र निर्माण गर्न नेपाल सरकारका सम्यन्त्रहरुले स्थानीय तहलगायत विभिन्‍न निकायसँग सहकार्य गर्न अपरिहार्य देखिन्छ।

(लेखक मोरङ जिल्ला अदालतमा शाखा अधिकृत पदमा कार्यरत्त हुनुहुन्छ।)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्