विराटनगर । विराटनगर सवारी चापमा त्यसैपनि थियो । दिर्घकालिन अवस्थाका अध्ययन नगरी विस्तार गरिएका सडक पूर्वाधार र बजार क्षेत्रमा सडक सीमा नछोडिएका कारण त्यसैपनि साँघुरो सहर बन्दै गएको छ । त्यसलाई व्यवस्थित गर्न बजार क्षेत्रका केहि निश्चित स्थानलाई सडक निषेधित पार्किङ घोषणा गरियो । त्यसका लागि सार्वजानिक पार्किङको अवधारणा अगाडी सारिएको थियो । तर, व्यापारीले आफ्नो व्यापारमा असर पारेको भ्रममा पारेपछि महानगरपालिका त्यसबाट पछि हट्नुपर्ने स्थितिमा पुग्यो ।
सडक निषेध पार्किङको स्थिति कुनै न कुनै दिन सहरले फर्काउनु पर्ला तर तत्काल सवारी आवागमन व्यवस्थापन मिलाउन महानगरपालिकाले ट्राफिक लाइटमार्फत यसको समाधान खोज्ने प्रयास गरेको छ । ठूलो सहरमा ट्राफिक लाइट समेत नहुँदा दैनिक सवारी आवागमन मिलाउन असहज भईरहेको बेला चालु आर्थिक वर्षमा महानगरपालिकाले चार स्थानमा यसको प्रवन्ध मिलाएको छ । बरगाछीमा प्रदेश सरकारले ट्राफिक लाइट जडान गरिदिएको छ ।
सहरको सवारी आवागमन मिलाउन पाँचस्थाका ट्राफिक लाइट अहिले चालु छन् । विराटनगरको कञ्चनबारी, तीनपैनी, जलजला, रोडशेष र घाँसचोकमा ७७ लाख रुपैयाँको लागतमा ट्राफिक लाइट जडान गरिएको हो । यिनै ट्राफिक लाइट जडान गरेको स्थानमा एआई प्रयोग गरेर आधुनिक सवारी व्यवस्थापन मिलाउने भावी योजना राखिएको दावी छ ।
चालु आर्थिक वर्षमा जडान भएको ट्राफिक लाइटले सहरको मुख्य सडकको सवारी चापलाई केहि न केहि बाइपासको काम समेत गरेको छ । ट्राफिक लाइट भएको सडकभन्दा बाइपास मानिएका सडकमा सिटी सवारी तथा मोटरसाइकल गुडाउनेको संख्या त्यसपछि बढ्दै गएको छ । राजमार्गमा सिटी सफारीको चाप कम गर्न यस अगाडी ट्राफिक प्रहरीले गरेको प्रयासमा समेत यसले केहि न केहि सहयोग भने पुगेको दावी गरिएको छ ।