विराटनगर । स्थानीय सरकार नागरिकका लागि नजिकको मानिन्छ । नागरिकसँग दैनिक जोडिने स्थानीय सरकारले नागरिकका घरमै पुगेर दिने सेवामा स्वास्थ्य पर्दछ । विराटनगर महानगरपालिकाले चालु आर्थिक वर्षमा ८० वर्षमाथिका नागरिकलाई घरमै पुगेर निःशुल्क उपचार र औषधी वितरण गर्दै आएको छ । उनीहरुको प्राथमिक स्वास्थ्य स्थिति बुझ्ने स्थानीय सरकारको यो अभियान नागरिकमुखी रहेको छ ।
यसैवरी महानगरपालिकाले निःशुल्क एम्बुलेन्स तथा शवबाहन सेवा समेत सञ्चालनमा ल्याएको छ । महानगरपालिका परिसरमा हेल्थ डेस्क स्थापना गरी सेवाग्राहीको स्वास्थ्य चेकजाँचको प्रबन्ध मिलाएको हो ।
त्यस बाहेक महानगरपालिकाको रानी र बैजनाथपुर अस्पतालको सेवा स्तरोन्नती गरिएको छ । रानीमा फिजोयोथेरापीसहित दुवै अस्पतालमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको छ । महानगरपालिकाको कार्यलय र बसपार्कमा स्तनपान कक्ष सञ्चालनमा ल्याइएको छ । महानगर उपप्रमुख शिल्पा निराला कार्कीका अनुसार मोतिया बिन्दुमुक्त महानगर अभियानका कार्यक्रम समेत सञ्चालनमा रहेका छन् । विराटनगर आँखा अस्पतालसँगको सहकार्यमा मोतीयाबिन्दु भएका सबैको निःशुल्क शल्यक्रियाको व्यवस्था मिलाइएको उनले जानकारी दिएकी छन् । त्यस बाहेक रेडक्रससँग सहकार्यमा विराटनगरवासीलाई निःशुल्क रगत उपलब्ध गराउने कार्यक्रम रहेको छ ।
जिल्लास्तरीय स्वास्थ्य कार्यक्रम मूल्यांकनमा महानगरपालिका पाँचौं स्थानमा परेको छ । मोरङका १७ पालिकामध्ये अघिल्लो वर्ष १६ औं स्थानमा रहेको महानगरपालिकाले चालु आर्थिक वर्षका कार्यक्रममार्फत आफ्नो सेवालाई नागरिकमुखी बनाईरहेको पुष्टि गरेको हो । महानगरपालिकाका सबै वडामा निःशुल्क स्वास्थ्य शिविरमार्फत ५ हजार २१ जनालाई सेवा दिइएको अभियानमा एकहजार ३७२ जनाले निःशुल्क भिडियो एक्सरे, ६५५ जनाले ईसीजी सेवा र १२ सय ६४ जनाले ल्याब सेवा लिएका थिए ।