विराटनगर । कोशी प्रदेश सरकारले ३८५ सडक पूर्वाधारको निर्माण सूची राजपत्रमा सार्वजानिक गरेको छ ।
भौतिक पूर्वाधार विकास मन्त्रालयले प्राथमिकताका योजनाको रुपमा रणनीतिक सडक सञ्जाल पहिचान र वर्गिकरण गरेर राजपत्रमा प्रकाशित गरेको हो ।
प्रदेश सार्वजानिक सडक ऐन २०७७ को मापदण्डमा आधारित रहि प्रादेशिक सहायक लोकमार्ग अन्तर्गतका ९६ योजना रहेका छन् । जुन ३ हजार १६५.५८ किलोमिटर दुरीका रहेका छन् । यसैगरी प्रादेशिक मार्ग २८९ वटा रहेका छन् । जुन ५ हजार ८१५.५० किलोमिटर रहेको छ । निर्माणमा लाग्ने खर्च यकिन नगरेपनि ऐनले समेटेको मापदण्डमा पर्ने सडक प्राथमिकतामा पारेर बजेट बिनियोजन गरिने भौतिक पूर्वाधार विकास मन्त्री भुपेन्द्र राईको दावी छ । प्रदेशले सार्वजानिक गरेको सूचीमा स्थानीय तह र संघीय सरकार अन्तर्गतको सडकहरु पर्दैनन् । कोशी प्रदेशमा पूर्व–पश्चिम महेन्द्र राजमार्ग, मदन भण्डारी राजमार्ग, हुलाकी राजमार्ग, मध्यपहाडी पुष्पलाल राजमार्ग, गाईघाट–दित्तेल सडक संघ अन्तर्गत पर्दछन् ।
मन्त्री राईले सूची प्रकाशित भएका सडकहरुको मात्रै डिपिआर गरेर प्राथमिकताका आधारमा निर्माण गरिने जानकारी दिनु भएको छ । राजपत्रमा प्रकाशित सूची भन्दा बाहिरका सडकलाई हटाएर अन्य योजना समावेश गराईनेछैन । प्रादेशिक सडक सञ्जाल सूचीमा २ किलोमिटरदेखि १०८ किलोमिटर दुरीका सडक समेटिएका छन् । सडक प्राथमिकीकरण गरेर सूची बनाउने कार्य २०७६ सालदेखि नै सुरु भएपनि चालु आर्थिक वर्षमा यसलाई राजपत्रमा प्रकाशित गरेर सरकारको प्राथमिकीकरणमा समेटिएको हो । मन्त्री राईले यति भएपछि अब जथाभावी सडकहरु ल्याएर बजेट छर्ने कार्य कम हुने विश्वास व्यक्त गर्नुभयो ।
राजपत्रमा प्रकाशित सूची अनुसार प्रादेशिक सहायक लोकमार्गमा इलामको लारुम्बा–भञ्ज्याङ्ग–इभाङ–गजुरमुखीधाम–मंगलबारे–शान्तिडाँडा–नेपालटार ७६.४५३ किलोटिमर, धनकुटाको भेडेटार–राजारानी–रबि राँके सडक ६३.५७७ किलोमिटर, बहन्डे बजार–थाङला भञ्ज्याङ्ग ७० किलोमिटर दुरीका रहेका छन् ।
यसैगरी जोरबौद्ध–गर्मा–नेले–चारघरे–मुक्ति–फुलुङ–झरेनी–देउसा–बुङ–गुदेल–सनम–साल्पा सडक ५० किलोमिटर, हिले–बोहोराटार ५४ किलोमिटर, एयरपोर्ट मोड–पिखुवा खोला–कोट–गोगने–पानधारे–तावा भञ्ज्याङ ७४ किलोमिटर, कार्तिके–दिक्तेल बजार सडक, ५५ किलोमिटरर लामो भस्मे–मुर्कुची–ख्यातुङ– भुटार–बराहा–बासबोटे– कुनाई सडक, ७२ किलोमिटर लामो लिखु–कुवापानी–नरकटे– चिलाउने–कोष भञ्ज्याङ– कटुन्जे–थापा चोक–धुस्के सडक, १०८ किलोमिटर लामो रानिटार–पाङछा–बलङ्खा– युन–पाप्माखाम सडक, ९७ किलोमिटर लामो कोथु–हसनपुर–घेडेटार– कोटडाँडा–भोजपुर सडकलगायत गरी ३ हजार १६३.५८ किलोमटर प्रादेशिक सहायक लोकमार्ग रहेका छन् । यस्तै प्रादेशिक मार्गको सूचीमा रहेका सडकहरुमा ५५ किलोमिटर लामो माझखर्क – थुम्का – प्याङ्ग– चर्खुवा – मेग्बर्ने –भिगाँउ– मिलन चोक सडक, ५२ किलोमिटर लामो ल्हाप्रा – नुनथला – जुभिङ – खरिखोला – पैया – चौरीखर्क सडक देखि ४८ किलोमिटर लामो कार्कीगाँउ–सिँवा–खैजेनिम–साँवा– पापुङ्ग सडक तथा ८४ किलोमिटर लामो सङ्क्रान्ति बजार–ह्वाकु–बिजुरे– लिम्बुनी–निघुरादिन–जुकेटार– हाङपाङ्ग–पभेक–फ्यातु–साँघु सडकलगायत रहेका छन् ।
फोटो:फाइल