विराटनगर । मोरङको जहदा गाउँपालिका– ७ का सिर्सियाका धनलाल मड्डीको पुर्ख्यौली पेशा खेती हो ।
पछिल्लो चार वर्षयता उनले कृषिसँगै बङ्गुर पालन पनि गरिरहेका छन् । बङ्गुर पालन सुरु गरेपछि उनको दैनिकी फेरिएको छ । व्यस्तता पनि बढेको छ।‘खेती गर्दा सिजनमा मात्रै काम हुन्थ्यो, अरु बेला फुर्सद ,’ उनी भन्छन्,‘ बङ्गुर पाल्न थालेपछी काम टुटेको छैन । ’
व्यवसायीक सीप सिकेपछि उनले २०७७ सालबाट बङ्गुर पालन सुरु गरेका हुन् । फार्ममा उन्नत जातका बङ्गुर राखेका छन् ।
उनी बङ्गुरसँगै माछा पालन पनि गर्छन् । चार वर्षअघि उनले फर्म बनाएर चार वटा बङ्गुर राखेका थिए । अहिले ८ वटा उन्नत जातका बङ्गुरका माउ छन् । बिक्री गर्ने तयारी अवस्था र हुर्कंदै गरेका पाठापाठी पनि छन् । बङ्गुर पालन विस्तारका लागि उनले फर्म संरचना विस्तार गरिरहेका छन् । विस्तार गरेको संरचनामा ५० वटा बङ्गुर अट्छन् ।बङ्गुर पालन र फार्म विस्तारका लागि उनलाई जीवन विकास लघुवित्त वित्तीय संस्थाले सहयोग गरिरहेको छ ।
बङ्गुर बिक्रीका लागि उनलाई बजारको समस्या छैन । विराटनगर, इटहरी र कटहरीको नयाँ बजारका व्यापारी गाडी लिएर उनको घरसम्म पुग्छन् ।
‘व्यवसायमा बजारको समस्या छैन, व्यापारी घरमै गाडी लिएर आउँछन्,’ उनी भन्छन्,‘ फर्मबाटै लैजान्छन्, भाउ पनि राम्रै छ ।’
बङ्गुर फर्मसँगै दुई वटा पोखरीमा माछा पालन पनि गरिरहेका छन् । खेतीसँगै बङ्गुर र माछाबाट राम्रो आम्दानी भइरहेको उनले बताए ।
धनलालले फार्मको आम्दानीले घरखर्च र तीन छोराछोरीको पढाइ खर्च धानिरहेका छन् । उनका दुई छोरा विदेशमा बसेर पढिरहेका छन् । ‘घरको खर्च र छोराछोरीको पढाई खर्च फर्मको आम्दानीले व्यहोरिन्छ,’ उनले भने,‘ जेठो छोरा मलेसियामा होटल म्यानेजमेन्ट र कान्छा छोरा भारतमा आइटी पढ्दैछन्, छोरी स्कुल पढ्दैछिन् ।’
चार वर्षअघि सुरु भएको फर्मलाई विस्तार गर्दै १०० वटा माउ बङ्गुर पाल्ने धनलालको योजना छ । बजारमा बङ्गुरको मासुको माग धेरै भएकाले विस्तार गर्ने योजना रहेको उनले बताए । बङ्गुरसँग माछा पालनलाई पनि व्यवस्थित बनाएर बढाउँदै लैजाने उनले बताए ।
भिडियो हेर्नुहोस् :