विराटनगर । विराटनगर महानगरपालिका– १४ की ज्योतिदेवी राउत घरेलु केमिकल उद्योग सञ्चालन गर्छिन् । उनले 'ज्योति केमिकल घरेलु उद्योग' सुरु गरेको सात वर्ष भयो ।
उद्योग सुरु गर्नुअघि उनी नास्ता पसल सञ्चालन गर्थिन् । उनका श्रीमान पनि अरुको केमिकल उद्योगमा काम गर्थे । अरुकाेमा काम गर्दा तलब नियमित थिएन् । दु:ख पनि धेरै थियाे । आफ्नै उद्योग सुरु गरेपछि उनी र उनको परिवारको दैनिकी फेरिएको छ । आर्थिक अवस्था पनि सुधार भएको छ ।
ज्योतिले सञ्चालन गरेको घरेलु उद्योगबाट ट्वाइलेट क्लिनर, फिनेल, क्लिनर, ब्याट्रीको पानीलगायत सरसफाइमा प्रयोग हुने केमिकल उत्पादन हुन्छ । उनको उद्याेगले उत्पादन गरेका सामग्री पूर्वी नेपालदेखि पश्चिमसम्म पुग्छ । ‘विराटनगरसहित लोकल बजार पूर्वको बजारमा जान्छ,’ उनले भनिन्,‘ गाडी आफ्नै छ, धेरै ठाउँमा पठाउँछौ ।’
सुरुमा ज्योतिले घरकै कोठामा उद्योगको काम गर्थिन् । उनका श्रीमान सिटी सफारी भाडामा लिएर बजार लगेर बिक्री गर्थे । सात वर्षको अन्तरालमा उनीहरूले उद्योगका लागि छुट्टै घर बनाएका छन् । उद्योगबाट उत्पादित सामग्रीको मार्केटिङका लागि गाडी पनि किनेका छन् ।
उद्योगमा ज्योति र उनका श्रीमानसहित ६ जनाले काम गर्छन् । सुरुमा भाडामा बस्ने ज्योतिले केमिकल उद्योग सुरु गरेपछि उद्योगसहित तीन वटा घर बनाएकी छन् ।
उद्योग सुरु गरेर अरुलाई रोजगारी दिइरहेकी ज्योति खुसी छन् । ज्योतिलाई केमिकल उद्योग सञ्चालन र विस्तारका लागि जीवन विकास लघुवित्त वित्तीय संस्थाले सहयोग गरेकाे छ । उद्योग सुरु गर्नका लागि उनलाई जीवन विकासले सहज रुपमा दुई लाख ऋण उपलब्ध गराएको थियो । उद्योग विस्तारका लागि पनि उनलाई जीवन विकासले निरन्तर सहयोग गरिरहेको छ । ‘पहिलेदेखि नै राम्रो भएको छ, हामीलाई समस्या छैन,’ उनले भनिन्,‘हामीलाई जीवन विकासले धेरै ठूलो सहयोग गरेको छ ।’
ज्योतिले घरेलु केमिकल उद्योगलाई विस्तार गरिरहेकी छन् । आफ्नै ब्रान्ड पनि बनाइरहेकी छन् । केमिकल उद्योगलाई थप विस्तार गर्ने उनले बताइन् । केमिकल उद्योगसँगै भोज भतेरमा प्रयोग हुने थाल,कचौरा,ग्लास उत्पादन गर्ने उद्योग सुरु गर्ने उनकाे योजना छ ।
भिडियो हेर्नुहोस् :