विराटनगर । मोरङको जहदा गाउँपालिका–१ बुधनगरकी गंगीयादेवी सरबरीया र उनका छोरा राजकिशोरको दैनिकी फेरिएको छ ।
सधै घर खेतको काम व्यस्त हुने उनीहरु हिजोआज हरेक दिन चिउरा मिलमा समय दिन्छन् । चिउरा मिल सुरु गरेपछि उनीहरुको दैनिकी फेरिएको हो ।
गंगीयादेवीले गाउँमा जग्गा भाडामा लिएर चिउरा मिल चलाउन थालेको एक वर्ष भयो । मिलमा चिउरा कुटाउनका लागि आसपासका गाउँबाट मानिसहरु आउँछन् । चाडपर्वमा भने घरका सदस्यले मात्रै मिलमा काम गर्न भ्याउदैनन्, भिड धेरै हुने भएकाले गाउँका अरु मानिसलाई पनि रोजगारी दिन्छन् ।
चिउरा मिल सुरु गरेपछि राजकिशोरले विदेश जाने सोच पनि त्यागेका छन् । ‘विदेश जाँदा अरुकोमा गुलामी गर्नुपथ्र्याे, परिवारबाट पनि टाढा हुनुपथ्र्याे,’उनी भन्छन्,‘ आफ्नै पुँजीमा यहीँ व्यवसाय सुरु गरे, अरुको काम छाडेर आफ्नै काम गर्दा सन्तुष्ट छु ।’
उनी चिउरा मिल राखेकै ठाउँमा मसला पिस्ने मिल राख्ने योजनामा पनि छन् । ‘अर्काे मसला पिस्ने मेसिन हाल्ने योजना छ, यो गाउँमा छैन, अलिक पर जानुपर्छ,’ उनले भने,‘ यो पल्ट मसला पिस्ने मिल राख्छु ।’
राजकिशोरका अनुसार चिउरा मिलबाट खर्च कटाएर मासिक ३० हजार भन्दाबढी आम्दानी हुन्छ । आम्दानीले परिवार सञ्चालनमा सहज भएकाे छ । चिउरा मिल राखेको जग्गाको भाडा मासिक एक हजार पाँच सय तिर्नुपर्छ ।
गंगीयादेवीलाई मिल सञ्चालनका लागि जीवन विकास लघुवित्त वित्तीय संस्थाले सहयोग गरेको छ । एक दशकअघि जीवन विकासको सदस्य बनेकी गंगीयादेवीको घर बनाउनका लागि पनि जीवन विकासले ऋण सहयोग गरेको थियो । ‘सुरुदेखि नै जीवन विकासले मलाई सहयोग गरेको छ,’ उनी भन्छिन्,‘ जीवन विकासले मलाई मात्रै होइन अरुलाई पनि सहयोग गरेको छ ।’
भिडियो हेर्नुहोस् :