-ऋषि तिवारी
धेरै जनाले मलाई प्रश्न गरेका थिए । 'के तिम्रो विवाह लभ मैरिज हो ? जोडी पनि सुन्दर छ, सुहाउँदो छ ।'
मैंले सबैलाई एउटै उत्तर दिएको थिएँ । 'होइनँ, मागी विवाह गरेको थिएँ ।' प्रश्नमा प्रश्न तेर्साउँनेहरु विश्वस्त थिएनन् । फेरि सोध्नेहरुको मुखले छुच्चो बोल्यो- 'होइन, तिम्रो लभ मैरिज नै हो !'
ती सोध्नेहरु टोलका थिए । वरपरका छिमेकीहरु थिए । कोही जन्ती जान पाइन भन्दै गुनासोका पोकाहरु, गाँठोमा कस्सिएका पोकाहरु मुखको सहयोगले खोल्दै थिए । जेठी र माइली छोडी, छोडी साइँली किन गरेको त ? यसरी पनि प्रश्न तेर्सिएका थिए । उनिहरु लभ मैरिज नै हो भन्ने ठोकुवा गर्न सफल देखिन्थे। फेरि मागी विवाह भएको थियो भने, "घरबाट बेहुलो बनेर जानु पर्ने थियो ! उ दुई दिन पहिले कसरी उता पुग्यो ?"
मसंग एउटा जीवन कथा थियो । त्यो कथा सबै छिमेकी आफन्तहरूलाई पनि थाहा थियो ।
मैंले बहस गर्न आवश्यक ठानिनँ । आफ्नै मनबाट उनीहरुलाई आफ्नै मनले सुन्ने गरि भने- "मेरो लभ होइन । मैरिज पछि मेरो लभ हो । यही परिणामको फल आज सम्म आइपुगेको मेरो सुधारोन्मुख जीवन कथा हो ।"
विराटनगर-६, ममता-मार्ग ।