-राजन प्रसाद न्यौपाने
म गुलाफ ,त्यो बाटोको
डिलमा फुलेको
काँडाहरुले संरक्षण दिएको
तिमी मलाई टिप्न आउँदा
मेरो सह्योगी
त्यही काँडाले बाटो छोड्नुपर्ने
अर्को कुनै पारखी आउँदा
त्यही काँडाले
रक्ताम्य हुने गरेर घोच्नुपर्ने?
तिमी वनैभरी डुलेपनि
अरुको बोट वरिपरि घुमेपनि
जति मौरी र किराहरु
तिम्रो छेउछाउ घुमेपनि
तिमी पवित्र भइरहने।
म स्थिर गुलाफ
त्यस्तै थिएँ युगौदेखि
आज पनि त्यस्तै छु
भोलि पनि तय्स्तै रहनेछु
मैले छिमेकीहरुसंग बोलेपनि
आफन्तहरुसंग सहकार्य गरेपनि
आफ्नो रंगमा अलि निखार
ल्याएपनि
कहिल्यै सोचेनौ सकारात्मक
सुनेरै बस्यौ ऎसेलु र घंघारुका कुरा
बनमारा र उन्युका कुरा
कहल्यै हेरेनौ क्षीतिजतर्फ
आकाश कती खुलेको छ भनेर
घामको प्रभाती सुनौलो लाली
र उज्याला किरण
हेर्यौ नियालेर
मात्र संध्या पछिको कालो साँझ
निष्पट अध्यारो रात
नजिकैको दोभानबाट राँको बालेर
तिमी र मलाई खरानी बनाउन
आउँदै गरेका राँके भूत मात्र देख्यौ
अनि रिसको आगो बालेर
मलाई नै सकाउन मेरै वरिपरि
अगुल्टो झोस्यौ
किन बिर्सियौ म बलेँ भने
म जलेँ भने
सबैभन्दा पहिला
तिमीलाई खुईलाउछन् मान्छेहरुले
जसरी अहिले तिम्रा आफ्नाहरुले
सलाई कोरिरहेका छन्
अब आफैं भन त
के साच्चै अब यस्तै हो त?
जीवनका सौगातहरु
बेमौसमी फूल जसरी
ओइलाएकै हुन् त?