विराटनगर । मोरङको रंगेली नगरपालिका– ७ का जितेन्द्र महतोको परिवारको पेशा कृषि हो ।
कृषि कर्म छाडेर केही वर्षअघि उनी रोजगारीका लागि मलेसिया पुगे । चार महिनामै मलेसियाबाट फर्किएका उनी रंगेलीमा व्यावसायिक रुपमा तरकारी खेती गर्छन् ।
कृषि कर्म गरिरहेका उनलाई विदेश भन्दा आफ्नै काम गर्न राम्रो लाग्छ ।
‘यहाँ आफ्नै काम गर्दा आम्दानीको ग्यारेन्टी हुँदैन, एक दिनमा ५–१० हजारसम्म पनि कमाउन सकिन्छ,’ उनी भन्छन्,‘ विदेशमा त फिक्स सेलरी हुन्छ, त्यसमा आफ्नो आवश्यकता पुरा गर्नुपर्ने बाध्यता हुन्छ ।’ आफ्नो कमाइले धेरै प्रगती गर्न सकिन्छ ।
उनी अब विदेश जाने योजनामा छैनन । गाउँमै खेती विस्तार गरिरहेका छन् । ‘ म आफै जन मजदुर राखेर खेती गर्छु, अब विदेश नजाने,’ उनी भन्छन् ,‘अरुको काम गर्न विदेश जान्न, घरमा बसेर आफ्नै काम गर्छु ।’
उनले उत्पादन गरेको तरकारी रगेलीसहित आसपासकाे बजारमा पुग्छ । सिजन अनुसारको तरकारी खेतीबाट राम्रो आम्दानी भइरहेको जितेन्द्र बताउँछन् ।
श्रीमती शान्तिदेवीसँगै जितेन्द्र तरकारी खेतीको काम गर्छन् । आवश्यकता अनुसार बारीमा जन मजदुर खटाउँछन् । १ बिघा जग्गामा तरकारी खेतीसँगै उनीहरु गाइ पालन पनि गर्छन् ।
शान्तिदेवी र जितेन्द्रलाई तरकारी खेतीका लागि जीवन विकास लघुवित्त वित्तीय संस्थाले सहयोग गरिरहेको छ । एक दशकअघि शान्तिदेवी जीवन विकासकाे सदस्य बनेकी थिइन् । त्यसयता खेतीका लागि जीवन विकासबाट एकमुष्ठ ऋण लिएर लगानी गर्छन् । थोरै थोरै किस्तामा ऋण तिर्छन् ।
जीवन विकासकाे ऋण सहयोगले उनले घर पनि बनाएकी छन् । छोराछोरीको पढाई खर्चदेखि घरको सबै खर्चको स्रोत तरकारी खेती नै हो । तरकारी खेतीलाई विस्तार गर्दै लैजाने उनीहरुको योजना छ ।
भिडियो हेर्नुहोस् :