प्रचण्डको अवसरवादी चरित्रका कारण कांग्रेस–एमाले एक ठाउँमा उभिए : ज्ञवाली

<span class='c1'>प्रचण्डको अवसरवादी चरित्रका कारण कांग्रेस–एमाले</span> <span class='c2'>एक ठाउँमा उभिए : ज्ञवाली</span>

रामेछाप । नेकपा एमालेका उपाध्यक्ष युवराज ज्ञवालीले पुष्पकमल दाहाल प्रचण्डको अवसरवादी चरित्रको कारण कांग्रेस र एमाले एक ठाउँमा उभिनु परेको बताएका छन् ।

नेकपा एमाले रामेछापले आयोजना गरेको जिल्ला स्तरीय प्रशिक्षण कार्यक्रमलाई शुक्रबार उदघाटन गर्दै ज्ञवालीले प्रचण्डकै कारण कांग्रेस र एमालेको सरकार बनेको बताए ।

‘कांग्रेस सभापतिले एमाले अध्यक्षलाई तपाईँ प्रधानमन्त्री बनिदिनुस् भन्ने अवस्था सिर्जना भयो । कांग्रेस सभापति शेरबहादुर देउवा आफैँ एमाले अध्यक्ष केपी ओलीको घरमा गएर दुई वर्षको लागि प्रधानमन्त्री बनिदिनुस् भनेर भनेपछि अध्यक्ष प्रधानमन्त्री बन्नुभएको हो’, उनले भने ।
सत्ता एमालेको लक्ष्य नभएको बताउँदै ज्ञवालीले समाज बदल्ने साधन मात्र भएको बताए । सत्तालाई साध्यको रूपमा बुझ्नु हुँदैन, त्यो साधन मात्र हो’, उनले भने । देशको राजनीतिक अस्थिरता अन्त्य गर्नको लागि नेकपा एमाले सरकारमा गएको उनले बताए । १० सिट ल्याएका माधव नेपाल समेत प्रधानमन्त्री हुने लाइनमा बसेपछि स्थिर सरकार बनाउन एमाले सरकारमा जानु परेको उनको भनाइ छ ।

ज्ञवालीले एमाले र कांग्रेसको संयुक्त सरकार भएपनि कांग्रेसलाई हेर्ने एमालेको प्रष्ट दृष्टिकोण भएको बताए । निर्वाचनमा एमाले र कांग्रेस प्रतिस्पर्धी शक्ति हुन् भन्ने कुरा एमाले र कांग्रेसका नेताहरूले स्पष्ट रूपमा बताउँदै आएका र यथार्थ पनि यही भएको उनले प्रष्ट पारे ।
२०८४ अघि कांग्रेस र एमाले मिलेर देशका समस्या समाधान गरेर निर्वाचनमा जाने उनले बताए । कांग्रेस एमालेको सरकार देशको परिस्थितिको बाध्यात्मक बाटो भएको उनले प्रष्ट पारे । अहिले देशको आर्थिक क्षेत्र निक्कै कमजोर भएको बताउँदै ज्ञवालीले त्यसको सुधारको लागि काम गरिरहेको बताए । धेरै ठुलो काम गर्न नसकिए पनि जनताले अनुभूत गर्नेगरी आर्थिक, सामाजिक क्षेत्र र कानुन निर्माणको क्षेत्रमा केही न केही काम हुने उनले विश्वास दिलाए ।
सरकार आजै ढल्छ, भोलि नै ढल्छ भनि विरोधीले भनिरहेका भए पनि अहिलेको सरकार राजनीतिक रूपमा बलियो रहेको उनको भनाइ छ । कांग्रेस र एमाले मिलेर अहिले सरका बनाएको बताउँदै यस्तो अवस्थामा पनि विरोधीको आक्रमणको निशाना एमाले र एमाले अध्यक्ष केपी ओली माथि मात्र भएको उनले बताए ।

ज्ञवालीले भूराजनीतिक अवस्था नेपालको लागि केही जटिल बन्दै गएको बताए । दक्षिणको भारतमा पुँजीवादी शासन व्यवस्था र उत्तरको चीनमा समाजवादी शासन व्यवस्था भएकोले दुई देश बिचमा रहेको नेपाललाई सन्तुलन कायम गर्ने कुरा निक्कै जटिल भएको बताए ।
चीन विश्वको एक नम्बरको आर्थिक शक्ति मात्र होइन विज्ञान प्रविधि लगायतको क्षेत्रमा पनि एक नं शक्ति बन्नेगरी अघि बढेको उनले बताए । पुँजीवादी देशहरूले पनि यसलाई स्विकारी सकेका उनको भनाइ छ । अब चीन विश्वको पहिलो, अमेरिका दोस्रो र भारत तेस्रो शक्ति बन्ने स्थिति बन्दै गएको उनले बताए । अहिले एकले अर्कालाई निषेध गरेर विश्व अघि बढ्न सक्ने अवस्था अब टर्दै गइरहेकोले यसले केही सकारात्मक सन्देश दिएको उनले बताए । अन्तर्राष्ट्रिय स्तरमा चुनौतीसँग सम्भावना पनि बढ्दै गएको ज्ञवालीले बताए ।

भारत सधैँ नेपाललाई आफ्नो नियन्त्रणमा राख्न उद्यत रहेको बताउँदै ज्ञवालीले नेपाललाई उसले नेपालको स्वतन्त्रता हार्दिकतापूर्वक स्विकार्न नै नसकेको बताए। चीन नेपालको मित्र राष्ट्र भए पनि चीनले समेत नेपाललाई त्यतिकै सहयोग नगर्ने उनले स्पष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्