-दिपिका धिमाल "शान्ता"
जिन्दगीले कुन मोडमा ल्याई अड्यायो,
न यता, न उता, अलमल्यायो।
खुला संसारबाट हुरी सरि उडायो,
अन्धकार ओडारमा थुनायो।
पानीको झरीबाट झरेको थोपा झैं,
नयनबाट अथाह आँसु बगायो।
प्रकाशको उज्यालो जीवनलाई,
गुफाको अन्धकार झैं बनायो।
अरूको आशमा बाँच्न बाध्य गरायो,
अरुकै इसारामा नाच्न सिकायो।
बादलले घामलाई छेकेझैं,
चिन्ताले खुशीलाई ढाक्यो।
दिमागको सुनौ कि मनको
दोधारै दोधारमा बाँच्न बाध्य गरायो।
खै, यो जिन्दगीले मलाई किन सतायो?
मेरो कुन जन्मको पाप करायो?
रतुवामाई -०५ , मोरङ