विराटनगर । दुर्गा श्रेष्ठ झापाको दमक बजारमा गुडियाको व्यवसाय गर्छिन् । दमक बजारमा उनले एभरेष्ट डल हाउस सञ्चालन गर्न थालेको ११ वर्ष भयो । उनले महिलाहरुलाई स्वरोजगार बनाउनका लागि सीप पनि सिकाउँछिन् ।
दुर्गाले पसलमा चार जनालाई रोजगारी दिएकी छन् । ७–८ जनाले घरमै बसेर गुडिया बनाउने काम गर्छन् । उनले उत्पादन गरेको गुडिया पूर्वका सबै बजारमा पुग्छन् । अनलाइन मार्फत विभिन्न स्थानमा पठाउँछिन् ।
‘हाम्रो गुडिया बनाउन सिकेर घरमै बसेर गुडिया बनाउनु हुन्छ, सबै सामान हामी उपलब्ध गराउँछौं,’ उनले भनिन्,‘ तालिम लिएर आफ्नै व्यवसाय पनि गरिरहनु भएको छ ।’
डल व्यवसायबाट सफल उद्यमी बनेकी दुर्गा ११ वर्षअघि भने के गरौं भन्दै भौँतारिएकी थिइन् । उनी काठमाडौं पनि पुगेकी थिइन् । दमकमा डल बनाउने तालिम लिएपछि भने काठमाडौंमा जागिर गर्ने श्रीमान पनि दमक नै बोलाइन् । अहिले श्रीमान श्रीमतीले डलको व्यवसाय सञ्चालन गर्छन् ।
‘बजारमा नभएको काम गर्दा ठाउँले पनि नयाँ कुरा पाउँछ, आफ्नो व्यवसाय पनि बढ्छ भन्ने लाग्यो,’ उनले भनिन् ,‘ त्यसपछि हामीले दमकमा काम गर्न सुरु गर्याैं ।’
दुर्गालाई व्यवसाय विस्तारका लागि जीवन विकास लघुवित्त वित्तिय संस्थाले निरन्तर सहयोग गरिरहेको छ । ‘म पहिलेदेखि नै जीवन विकासमा छु, मलाई व्यवसाय विस्तारमा जीवन विकासले सहयोग गरेको छ,’ उनले भनिन् ।
डलको व्यवसाय सुरु गरेपछि उनले राम्रो आर्थिक प्रगति गरेकी छन् । दुर्गाले व्यवसायलाई समय अनुसार विस्तार गर्दै लैजाने योजना पनि बनाएकी छन् । डल बनाउनका लागि मेसिन ल्याउने उनको योजना छ ।
भिडियो हेर्नुहोस् :