विराटनगर । ताप्लेजुङको सदरमुकाम फुङलिङमा शनिवार बेलुका ‘नो केबलकार समूह’ र सुरक्षाकर्मीबीच भएको झडपमा दुवैतर्फका गरी दुई दर्जन भन्दा बढी घाइते भएका छन् । घाइतेमध्येका ४ जनालाई थप उपचारका लागि ताप्लेजुङ जिल्ला अस्पतालले रेफर गरेको छ । उनीहरूलाई धरानको घोपा लगिएको आन्दोलनरत समूहका अगुवा किर्तिमान मादेनले जानकारी दिए । प्रहरी नायव उपरिक्षक (डीएसपी) रवि रावलका अनुसार सुरक्षाकर्मीतर्फ १२ जना घाइते छन् ।
उनीहरू मध्येका एक जनालाई जिल्ला बाहिर पठाइएको छ भने अरुको जिल्ला अस्पताल मै उपचार भइरहेको छ । आन्दोलनत समूह तर्फपनि त्यतिनै सङ्ख्यामा रहेको प्रारम्भिक जानकारी रहेको रावलले बताए । रातको समयमा झडप भएको र कतिपय जिल्ला बाहिर गएर पनि उपचार गराइ रहेकाले यकिन तथ्यांक नभएको मादेनले बताए । प्रहरीले हुलहुज्जत गरेको अभियोगमा १५ जनालाई नियन्त्रणमा लिएको जनाएको छ । पक्राउ पर्नेमा आन्दोलनको अगुवाई गरिरहेका नविन पोमु लगायत रहेका छन् । तर प्रहरीले नाम भने खुलाएको छैन । हुल हुज्जत नियन्त्रणका लागि शनिवार बेलुका २ राउण्ड अश्रु ग्यास प्रहार गर्नु परेको प्रहरीले जनाएको छ ।
आन्दोलनरत पक्षले भने आन्दोलनकारी बसेको घर तथा होटल छापा मारेर कुटपिट गर्दै धरपकड तथा तोडफोड, कुटपिट गर्ने जस्ता अमानवीय व्यवहार गरेको आरोप लगाएका छन् । आन्दोलन समूहका अर्का अगुवा प्रदिप मादेनले भने २७ जनालाई पक्राउ गरेको दावी गरेका छन् । स्थानीय प्रशासनले आईतबार बिहान ५ बजेबाट फुङलिङ र पाथीभरा क्षेत्रको काफ्लेपाटी र बलुडाडा क्षेत्रका चारकिल्ला तोकी निषेधाज्ञा ज्ञारी गरेको छ । गएसाँझ नो केवलकार पक्षले फुङलिङमा आयोजना गरेको राँके जुलुस र प्रदर्शनपछि भएको झडपसँगै स्थिति तनावपूर्ण भएको थियो । आन्दोलनरत पक्षले भनें झडपपछि पनि घर–घर घेरा हालेर सुरक्षाकर्मीले धरपकड तथा कुटपिट गरेको भन्दै आपक्ती जनाएका छन् ।