काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई हराउँदै मछिन्द्र फुटबल क्लबले तेस्रो केपी ओली कप पुरुष फुटबल च्याम्पियनसिपमा ह्याट्रिक गरेको छ । आज भएको फाइनल खेलमा मछिन्द्रले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई २–० गोलअन्तरले पराजित गरेको हो ।
त्रिपुुरेश्वरस्थित दशरथ रङ्गशालमा सम्पन्न फाइनल खेलको पहिलो हाफमा १–० गोलको अग्रता लिएको मछिन्द्रले दोस्रो हाफमा थप अर्को गोल गर्दै आर्मीलाई २–० गोलअन्तरले हराउन सफल भयो । जितसँगै मछिन्द्रले रु १५ लाख ११ हजार एक सय ११ तथा उपविजेता आर्मीले रु पाँच लाख पुरस्कार प्राप्त गरेको छ ।
खेलको पहिलो हाफको २९औँ मिनेटमा एन्ड्रेस नियाको पासमा आर्मीका विमल पाण्डेले आफ्नै पोष्टमा आत्मघाघी गोल गर्न पुगेका थिए । योसँगै मछिन्द्रले १–० गोलको अग्रता लिएको थियो । यस्तै दोस्रो हाफमा मछिन्द्रले खेलको ७२औँ मिनेटमा दोस्रो गोल ग¥यो । मल्लिक युसुफले दिएको पासमा स्टेफन जमाहा जालीले गोल गरेका थिए ।
यसअघि मच्छिन्द्रले पहिलो खेलमा भुटानको ट्रान्सपोर्ट युनाइटेडलाई १–० गोलले तथा सेमिफाइनलमा आयोजक केपी ओली एफसीलाई ४–० गोलअन्तरले हराएको थियो । यस्तै आर्मीले भने पहिलो खेलमा नेपाल पुलिस क्लबलाई २–० गोलले तथा सेमिफाइनलमा सङ्कटा क्लबलाई २–१ गोलअन्तरले हराएको थियो ।
मछिन्द्र र आर्मीबीचको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली श्रीमती राधिका शाक्यका साथमा दशरथ रङ्गशाला पुग्नुभएको थियो ।
फाइनल खेल हेर्न इटालियन फुटबल टोलीका पूर्व कप्तान तथा गोलरक्षक जियानलुुइजी बुफोन प्रमुख अतिथिका रुपमा उपस्थित हुनुुभएको थियो । रङ्गशाला दर्शकले खचाखच भरिएको थियो । खेल सुरु हुनुुअघि कलाकारहरुले साङ्गीतिक प्रस्तुुति समेत पस्किएका थिए ।
राष्ट्रिय युवा सङ्घ नेपालको आयोजनामा केपी ओली कप फुटबल च्याम्पियनसिप यही फागुन ११ गतेदेखि सुरु भएको हो ।