विराटनगर । कोशी प्रदेशका विभिन्न प्रहरी कार्यालयमा कार्यरत ९९ जना महिला प्रहरी पुरस्कृत भएका छन्।
प्रदेश प्रहरी कार्यालयले ११५ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा महिला प्रहरीलाई पुरस्कृत गरेको हो । पुरस्कारले महिला प्रहरीको मनोबल उच्च बन्ने र उनीहरुमा उत्प्रेरण अभिवृद्धि हुने अपेक्षा गरिएको छ ।
महिला प्रहरीको कार्यसम्पादनलाई पुरस्कार प्रणालीमा आबद्ध गर्ने अभियान नै छ । प्रदेश प्रहरी कार्यालय विराटनगर तथा प्रदेश मातहतका विभिन्न कार्यालयमा कार्यरत रहेर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, अपराध अनुसन्धान, प्रहरी कार्य, प्रशासनलगायत विभिन्न शाखामा कार्यरत महिला प्रहरी पुरस्कृत भएका हुन् ।
विभागीय नीति निर्देशनको पालना गरी आफ्नो पदीय दायित्वलाई उत्कृष्ट तवरले निर्वाह गर्नेमध्ये महिला प्रहरी निरीक्षक १ जना, प्रहरी सहायक निरीक्षक ३ जना, प्रहरी वरिष्ठ हवल्दार २ जना, प्रहरी हवल्दार १५ जना, प्रहरी सहायक हवल्दार २० जना, प्रहरी जवान ५७ जना र प्रहरी कार्यालय सहयोगी १ जना सहित जम्मा ९९ जना महिला प्रहरीलाई पुरस्कृत गरिएको प्रदेश प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले जानकारी दिए ।
डीआईजी अधिकारीले न्यून संख्यामा प्रहरी संगठनमा कार्यरत रहेका महिला प्रहरी कर्मचारीको मनोबल सदैव उच्च र उनीहरुलाई कर्तव्यप्रति वफादार बनाइ राख्न यस्ता उत्प्रेरणा अभिवृद्धि योजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । पुरस्कृत हुने महिला प्रहरी कर्मचारीलाई थप हौसला र उर्जाका साथ पदीय जिम्मेवारी निर्वाह गर्न उनको निर्देशन छ ।
नेपाल प्रहरीले सम्पादन गर्ने विभिन्न कार्यहरुमा महिला प्रहरी कर्मचारीहरुको अनिवार्य उपस्थिति कानुनद्वारा नै निर्दिष्ट गरिएको छ । कोशी प्रदेश प्रहरी प्रमुख अधिकारीको विशेष सक्रियतामा यसवर्ष कोशी प्रदेशमा नमुनाको रूपमा महिला प्रहरी कर्मचारीहरु पुरस्कृत भएका हुन् ।