विराटनगर । नेपाल इन्स्योरेन्स प्रोफेसनल्स सोसाइटी (निप्स) कोशी इटहरी च्याप्टरले कोशी प्रदेशका बैंक, बिमा तथा नेपाल टेलिकमबीच पहिलो कर्पोरेट फुट्सल टुर्नामेन्ट सफलतापूर्वक सम्पन्न भएको छ।
फागुन २४ गते इटहरीस्थित एरेना स्पोर्ट्सको प्रांगणमा "स्वास्थ्यका लागि खेलकुद, संस्थाका लागि एकजुट" भन्ने मूल नाराका साथ आयोजित कार्यक्रममा १४ टिमले सहभागिता जनाएका थिए।
कार्यक्रमको अध्यक्षता निप्स इटहरी च्याप्टरका उपाध्यक्ष गणेश श्रेष्ठले गरेका थिए भने प्रमुख अतिथिमा नेपाल बीमा प्राधिकरण कोशी प्रदेश कार्यालयका सहायक निर्देशक पुष्पा खनाल रहेका थिए। अतिथिहरूमा निप्स कोशी कोषाध्यक्ष नारायण गौतम, सिद्धार्थ प्रीमियर इन्स्योरेन्सका प्रकाश निरौला, प्रभु इन्स्योरेन्सका प्रदेश प्रमुख सुनिल पाण्डे, प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स कोशी प्रदेश प्रमुख धना भट्टराई लगायतका व्यक्तिहरू उपस्थित थिए।
अतिथिहरूले यस्ता आयोजनाले संघसंस्थाका कर्मचारीबीच भाइचारा तथा कर्पोरेट संस्कृतिको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने कुरामा जोड दिएका थिए।
फाइनल खेल प्रभु बैंक र सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको) बीच निकै रोमाञ्चक रह्यो। प्रभु बैंकले सलिकोलाई १-० गोल अन्तरले हराउँदै च्याम्पियन बन्न सफल भयो। विजेता टिमलाई रु. ३० हजार र उपविजेता टिमलाई रु. १५ हजार नगद पुरस्कारका साथै ट्रफी प्रमुख अतिथि पुष्पा खनालद्वारा प्रदान गरिएको थियो।
प्रतियोगितामा प्रभु बैंकका नविन राईले सर्वाधिक ७ गोल गरी उत्कृष्ट गोलकर्ता घोषित भए । भने सलिकोका गोलकिपरले उत्कृष्ट गोलकिपरको पुरस्कार प्राप्त गरे।
कार्यक्रम संयोजक गोपाल पौडेलले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण सहभागी संस्थाहरूलाई धन्यवाद दिँदै आगामी दिनहरूमा अझ उत्कृष्ट खेल कार्यक्रमहरूको आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे।
सभापति श्रेष्ठले पनि यस आयोजनालाई निरन्तरता दिँदै अझ सबल र उत्कृष्ट ढंगले सञ्चालन गर्न प्रेरणा र हौसला मिलेको बताए।