-भूपाल अधिकारी
प्रतिदिन उसले हुकुम चलायो
छलकपट गरी मुलुक डुबायो
नियमित यसरी अभिनय गर्थ्यो
समय समयमा छलफल भन्थ्यौ
वरपर जगमा सबतिर ठग्दै
जल जमिन सबै हरदम लुट्दै
अति दमन गरी गरिब रुवायो
तरतर सबका रगत बगायो
कुनियत जहिले मन बिच राख्दै
खुब कर असुली अधिपति बन्दै
किसिम किसिमका लहड चलायो
सकल जन ठगी महल बनायो
कुपुकुपु घरका सबचिज खायो
कुटिल असुरझैँ बदन बनायो
हर बखत निल्यो जब मनुवा नै
तब सहज बन्यो मुख सुरसाझैँ
हर बखत त्यसै किन शठ बन्थ्यो
हिटलर जसरी कति हठ गर्थ्यो
अब सब मनका मयल हटाओस्
झलमल नभझैँ हृदय बनाओस्