विराटनगर । इटहरीको मुख्यचोकमा रहेको व्यापारिक भवन सेन्ट्रल प्लाजामा लागेको आगो नियन्त्रणमा आएको छ।
५ घण्टापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र नेपाली सेनाका ३२२ जनाको संयुक्त टोलीले आगो नियन्त्रणमा लिएको कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी वरिष्ठ उपरीक्षक भीम दाहाल जनाकारी दिए।
सेन्ट्रल प्लाजाको छैटौं तलाको क्युएफएक्स सिनेमा हलबाट विद्युत् सट भएर बुधबार बिहान ९:३० बजेदेखि आगलागी सुरु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ। मोरङ र सुनसरीका १२ वटा बारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा प्रवक्ता दाहालले बताए । आगलागीबाट सिनेमा हल र प्लाजाको भरन्डा होटलमा क्षति पुगेको छ। आगलागीबाट करोडौं रुपैयाँको क्षति भएको छ। आगलागीमा फसेका ८ पुरुष र ३ जना महिला गरी ११ जनालाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ। जसमा एकजना बंगलादेशी नागरिक समेत रहेका छन्। आगलागीमा फसेका ५ जनालाई सशस्त्र प्रहरी सहायक हबल्दार भरत काफ्लेले उद्धार गरेका थिए। अन्य ५ जनालाई सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक मनिष थापा, सशस्त्र प्रहरी उपरीक्षक विक्रम हुमागाई र तोपबहादुर खनालको कमान्डमा खटिएको टोलीले आगोको मुस्लोबाट उद्धार गरेको थियो। भवनमा बारुणयन्त्रबाट पानी फाल्न कठिनाइ भएपछि विराटनगरबाट क्रेन झिकाएर सुरक्षाकर्मीहरूले आगो नियन्त्रणमा लिएका थिए। भवनको विभिन्न तलामा सर्वसाधारण फसेको जानकारी लगत्तै गृह मन्त्रालयले उद्धारका लागि नेपाली सेनाको हेलिकोप्टर पठाएको थियो । हेलिकोप्टरद्वारा भवनमा फसेकाहरुको उद्धार गरेको थियो।