विराटनगर । जीवन विकास समाजले यो वर्षको ‘दिगो विकासका लागि जीवन विकास पुरस्कार–२०८१’ प्रदान गरेको छ । शिक्षा क्षेत्रमा उत्कृष्ट काम गर्ने दुई विद्यालय र एक जना पत्रकारलाई ‘दिगो विकासका लागि जीवन विकास पुरस्कार–२०८१’ प्रदान गरेको हो ।
विराटनगर महानगरपालिका–३ मा रहेको पोखरिया माध्यमिक विद्यालयले पाँच लाख रुपैयाँ राशीको ‘दिगो विकासका लागि जीवन विकास पुरस्कार–२०८१’ प्राप्त गर्यो । पाेखरीया नेपालकै उत्कृष्ट मध्येकाे एक सामुदायिक विद्यालय हाे । प्राविधिक धारतर्फ अध्यापन हुने सिन्धुलीको कमलामाई नगरपालिकामा रहेको जनज्योति माध्यमिक विद्यालयलाई तीन लाख रुपैयाँ राशीको दोस्रो ‘दिगो विकासका लागि जीवन विकास पुरस्कार–२०८१’ प्रदान गरियो ।
पत्रकारितातर्फ दुई लाख रुपैयाँ राशीको ‘दिगो विकासका लागि जीवन विकास पुरस्कार–२०८१’ गोरखापत्र दैनिकमा कार्यरत पत्रकार प्रकृति अधिकारीलाई प्रदान गरियो । मंगलबार काठमाडौंस्थित नेपाल पर्यटन बोर्डको सभाहलमा आयोजित कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र जीवन विकास समाजका संस्थापक अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले संयुक्त रुपमा पुरस्कार प्रदान गरे ।
नेपालमा दिगो विकासका लक्ष्य अन्तरगतको गुणस्तरीय शिक्षाको क्षेत्रमा उल्लेखनीय काम गरे बापत जीवन विकास समाजलाई द अरब गल्फ प्रोग्राम फर डेभलपमेन्टले तीन लाख अमेरिकी डलर बराबरको 'एजीफण्ड अन्तर्राष्ट्रिय पुरस्कार' प्रदान गरेको थियो । सो पुरस्कार राशीमा थप गरी ६ करोड बराबरको जीवन विकास समाज, दिगो विकास कोष २०७६ स्थापना भएकाे थियाे । कोषले शिक्षा क्षेत्रमा राष्ट्रिय स्तरको पुरस्कार प्रदान गर्छ ।
देशभरबाट सर्वोत्कृष्ट संस्था छनोट गरी पुरस्कार प्रदान गरिएको जीवन विकास समाजका संस्थापक अध्यक्ष तथा मोरङ क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य मण्डलले जानकारी दिए । शिक्षा क्षेत्रमा भइरहेका सकारात्मक कामलाई प्राेत्साहन गर्ने उदेश्यले पुरस्कार वितरण सुरु गरेकाे उनकाे भनाई छ ।
पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै पूर्वराष्ट्रपति भण्डारीले सबै नागरिकलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने सरकारी लक्ष्य हाँसिल गर्नका लागि सरोकारवाला सबै क्षेत्रसँग सरकारले सहकार्य गर्नुपर्ने बताइन् ।