विराटनगर । विराटनगर महानगरपालिकाले बनाउने भनेको स्वागत अथवा प्रवेशद्वार चारवर्षयता त्यसको डिजाइनमै घुमिरहेको छ ।
विराटनगर ३ र ४ को सीमा ढाटमा निर्माण गर्ने भनिएको उत्तरी प्रवेशद्वार बनाउन चालु आर्थिक वर्षमा दुई करोड रुपैँया बजेट बिनियोजन गरिएको छ । नगरस्तरीय बजेटमा समेटिएको योजनाको आधा चैत सकिँदासम्म ठेक्का भने लागेको छैन ।
महानगरपालिकाले २०७७ सालमै प्रवेशद्वारको डिजाइन सार्वजनिक गरिएको थियो । त्यो डिजाइन अहिले पनि ‘रिभ्यू’ कै चरणमा रहेको छ । खुला प्रतिस्पर्धाबाट महानगरले रमन श्रेष्ठ र आशिक महर्जनको तयार पारेको डिजाइनलाई स्वीकृत गरेपनि त्यसमा आलोचना भएको थियो । त्यसपछि परिमार्जन गराएको थियो ।
विराटनगरको पहिचान दिने गरि महानगरपालिकाले नयाँ प्रवेशद्वारको डिजाइन सडक विभागमा स्वीकृतका लागि पठाएको दावी महानगरपालिकाका शहरी पूर्वाधार महाशाखाका प्रमुख अर्जुन थापाले जानकारी दिएका छन् । उनले डिजाइन रिभ्यू भएसँगै चालु आर्थिक वर्षमै ठेक्का लगाउने तयारी रहेको बताएका छन् ।
महानगरले आह्वान गरेको डिजाइन प्रस्ताव १४ कम्पनीले पेश गरेका थिए। यद्यपी पेस गरिएकामध्ये स्वीकृत भएको प्रवेशद्वारको डिजाइनले विराटनगरको पहिचान समेट्न नसकेको भन्दै आलोचना भएको थियो । कोशी राजमार्ग छलेनमा विस्तार भएपछि ढाटमा रहेको प्रवेशद्वार सडकको बीचमा सरेको छ । जसलाई हटाउन वा सडक सीमालाई असर गर्ने गरी नयाँ निर्माण गर्नका लागि सडक विभागले दवाव सिर्जना गर्दै आएको थियो ।
साविकको स्वागत गेट भत्काएर नयाँ बनाउनुपर्ने अवस्था आएपछि महानगरपालिकाले डिजाईन स्वीकृत गरेर सडक विभागसँग निर्माण स्वीकृत माग गरेको छ ।