विराटनगर । तीनवर्ष अगाडी मृत्युमा घाटसम्म मलामी पु¥याउन निःशुल्क बस सेवा प्रदान गर्दै आउनु भएका विराटनगर–१ शंकरपुरटोल निवासी ३७ वर्षीय करिम अन्सारीले विराटनगरमा गरिब विद्यार्थीका लागि पनि बस सेवा सुरु गर्नु भएको छ ।
दशवर्ष अगाडीदेखि यातायात व्यवसायीको पहिचान बनाउनु भएका अन्सारीले एउटा गाडी गरिब तथा असाहय विद्यार्थीलाई विद्यालयसम्म पु¥याउन प्रयोग गर्ने घोषणा गर्नु भएको हो । घोषणासँगै उहाँले को १ ख ५३१४ नम्बर बसलाई पहेंलो रङ्ग लगाएर निःशुल्क बस सेवा लेख्नु भएको छ ।
तीनवर्ष अगाडीयता ६२८ जनाको मरणमा मलामीलाई घाटसम्म निःशुल्क बस सेवा प्रदान गरिसकेको उहाँले जानकारी दिनुभयो । उहाँको यो अभियान सुनसरीको वराहक्षेत्र नगरपालिका १ चतराधाममा २०८० मा लागेको महाकुम्भ मेलामा ज्येष्ठ नागरिकलाई तिर्थाटन गराउनेमा समेत सामेल भईसकेको छ । कुम्भमेला जाने विराटनगरका ज्येष्ठ नागरिकलाई प्रत्येक शनिबार तीनवटा बसबाट निःशुल्क सेवा दिए वापत उहाँलाई जगत गुरु बालसन्तले सम्मान समेत गर्नु भएको थियो ।
समाजसेवाले मलाई धन प्राप्तमा रोकेको छैन, करिमले भन्नुभयो–अब सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क रुपमा आगामी शैक्षिकसत्रदेखि बस उपलब्ध गराउने छु । करिम अन्सारीलाई यो सेवा प्रदान गर्ने मन कसरी जाग्यो ? भन्ने प्रश्नमा उहाँको रोचक प्रसङ्ग छ ।
दुईवर्ष अगाडी विराटनगर–२ जनता माध्यमिक विद्यालयलाई मासिक एकलाख २० हजारमा गाडी भाडामा दिने सम्झौता भएको थियो । विद्यालयको व्यवस्थापन समितिले भाडामा लिएको गाडीको रकम विद्यार्थीबाटै असुल्ने थियो । तर, भाडा बुझाउन नसक्ने विद्यार्थीले बस सेवा लिन सकेनन् । दुई महिनापछि विद्यालय आईरहेका विद्यार्थी घरमै छुट्न थाले । त्यसपछि विद्यालयसँग पहिले भएको सम्झौता संशोधन गरिएको थियो ।
संशोधन हुँदा सबै विद्यार्थी बोक्ने र व्यवस्थापन समितिले ६५ हजार रुपिँया मासिक दिने भन्ने सम्झौता भयो । ढेडवर्षसम्म विद्यालयले पैसा दियो, त्यसपछि नसक्ने भनेपछि गाडी छुट्यो र विद्यार्थी पनि ।
‘पैसा हुनेहरु मात्रै गाडी चढे, नहुनेहरु घरमै बसे’ करिमले भन्नुभयो–शिक्षा त समाजको धन हो तर पैसा नहुँदा त्यो धन पनि समाजमै विलिन भयो, उठ्न सकेन । त्यसैले मैले पैसा त कमाएकै थिएँ, किन विद्यार्थीलाई विद्यालयसम्म नल्याउने भन्ने सोचेर यो अभियान घोषणा गरेको छु, उहाँले भन्नुभयो ।
जनताका विद्यार्थीलाई विद्यालयसम्म ल्याउन नपाउँदा चित्त नमानेपछि आगामी शैक्षित्र सत्रदेखि दुईवटा रुटमा निःशुल्क बस सेवा दिने योजना करिमले अगाडी सार्नु भएको छ । त्यो पनि जनता स्कुलकै विद्यार्थी बोक्नलाई । उहाँका अनुसार ४५ जना क्षमता भएको बसमा पहिलो रुट विराटनगर ५, ६ र ११ मा चल्नेछ । त्यसपछि विराटनगर ३ र ४ का लागि पठाईने छ । बिहान जसरी विद्यार्थी विद्यालय छोड्ने काम हुन्छ, त्यसरी नै साँझमा विद्यार्थीलाई घरसम्म पु¥याउने लक्ष्य राखिएको छ ।
आमाबुबाको न्यून आयआर्जन भएका कारण छोराछोरी विद्यालयसम्म पुग्न नसकिरहेका विद्यार्थीका लागि यो सेवा घोषणा गरेको छु अन्सारीले भन्नुभयो–तर केहि पैसा तिर्नसक्ने अभिभावकका सन्तान पनि त गाडीमै चढेर आउन मन गर्नुहोला, त्यस्तोमा पनि विभेद गर्दिन । उहाँले विद्यालयले गाडी सुविधा दिन नसकेपछि घरमै बसिरहेका बालबालिकाका अभिभावकको आग्रह अनुसार बस सेवा दिन चाहेको बताउनुभयो । यसमा विद्यालयले केहि सहयोग गर्छु भन्न पाउँछ तर विद्यार्थीसँग रकम लिन नपाउने उहाँको शर्तछ । त्यस बाहेक कसैले समाजसेवा गरिरहेको छस् भनेर इन्धन खर्च दिएपनि आफूले लिने उहाँको भनाई छ ।
अन्सारीका पाँचवटा बस विराटनगर बसपार्कमा रहेका छन् । त्यसमध्ये को १ ख ५३३८ नम्बरको बसले मलामी बोक्ने काम गर्दै आएको छ । अर्को विद्यालयका विद्यार्थी बोक्न प्रयोग हुनेछ । त्यस बाहेक तीनवटा बस विराटनगर–धरान रुटमा चलिरहेका छन् । रुटमा चलेका बसमा उद्योगका मजदुर बोक्ने सम्झौता समेत रहेको छ । विद्यार्थी बोक्ने बस दुईवटा निजी कलेजलाई भाडामा समेत लगाइएको छ । तर, विद्यालय समय र कलेजको समय फरक परेका कारण भाडाका लागि गरिएको सम्झौता अनुसारको काम पनि हुने र निःशुल्क सेवा घोषणा गरेको समाजसेवा पनि हुने अन्सारीको बुझाई छ ।
विराटनगर निवासी अन्सारी दशवर्षको हुँदा इटहरीमा टेम्पोको सहचालक बन्नुभएको थियो । २०५५ साल भदौमा इराकमा १२ जना नेपालीको हत्या भएको दिन उहाँले इटहरी छोड्नु परेको थियो । त्यहि दिन आफ्ना बुबा स्वर्गीय नसिम अन्सारी छोरा भेट्न पुग्नु भएको थियो । राजमिस्त्री काम गर्नु हुने बुबा पुग्दा इटहरीको अवस्था नराम्रो थियो । भीडले आक्रमण गर्ने देखेपछि बुबालाई लिएर विराटनगर फर्केको स्मरण करिमसँग छ । त्यसपछि विराटनगर बसपार्कमा सहचालक र चालक बन्दै आठवर्ष अगाडी एउटा गाडी खरिद गर्ने स्थितिमा पुगेको उहाँले जानकारी दिनुभयो ।
दुईवटा लघुवित्तबाट पाँचलाख र बाँकी ऋण सापटी लिएर २०७२ सालमा गाडी खरिद गरेदेखि अहिलेसम्म हार्नु नपरेको करिमको दैनिकी छ । त्यहि एउटा गाडीको ऋण दुई वर्ष तिरेपछि अर्को बैंकले लिलामी गरेको गाडी २०७४ मा करिमले नै खरिद गर्नुभएको थियो । दुईवटा गाडीले कमाएको पैसाले क्रमशः तीन, चार हुँदै पाँचवटा बसको मालिक भईसक्दा समेत धनले नपुग्ने देखेपछि समाजसेवामा लाग्ने मन मलाएको उहाँको भनाई छ ।
कर्ममा भाग्यो जोडियो भने लाभैलाभ हुने रहेछ, अन्सारीले भन्नुभयो–७ वर्षको हुँदा आमा बित्नुभयो, अहिले बुबा पनि हुनुहुन्न । दुई छोरी, एक छोरासहित श्रीमतीसँगको जीवन हाँसिखुशी चलिरहेकोले समाजसेवा पनि एउटा पाटो बनेको उहाँले सुनाउनुभयो । सन्तुष्ट भएपनि धन पनि काफी हुने र मन पनि खुशी रहने, करिमले भन्नुभयो–जीवनमा तीनचक्के रिक्सा पनि चलाएँ, टेम्पो पनि अनि बस पनि । खान दुःख हुँदा अर्काले दिएको बासी भात खाएर जीवन बचाएँ, त्यहि भएर अर्काको दुःख देख्दा मनमा भावना जाग्छ । मान्छे मृत्युपछिको कर्म गराउन पनि कमिसन खान खोज्ने पनि छन् तर जीवन अमूल्य भएपनि अमर चाँहि बनाउन सक्नु ठुलो कुरा हो ।