विराटनगर । विराटनगर महानगरपालिकाले यतिका वर्षसम्म गर्न नसकेको काम भनेको फोहोरमैलाको डम्पिङ साइट निर्माण गर्न नसक्नु हो । विराटनगरको ढल प्रशोधनका लागि केहि काम गरेपनि त्यसले भनेजति सार्थकता पाउन सकेको छैन । सहरमा उत्पादन भएको फोहोर संकलनमा सुधार ल्याएपनि त्यसलाई डम्पिङ गर्ने फोहोर प्रशोधन केन्द्र निर्माणको काम भने अझै सुरु गर्न सकेको छैन ।
एशियाली विकास बैंकको सहयोगमा अहिले इष्टर्न करिडोर परियोजनामा विराटनगर पनि जोडिदैछ । त्यसमा पाँचवटा योजना महानगरपालिका भित्र बन्नेछन् । जसमध्ये एकिकृत फोहोर प्रशोधन व्यवस्थापन केन्द्र पनि छ । तर, यो निर्माणको अध्ययन प्रारम्भिक चरणमा रहेको छ । अझै यो परियोजना भित्रन ढेडवर्ष लाग्ने देखिन्छ ।
निर्माण प्रारम्भ भएदेखि समेत यसमा समय खर्चनुपर्ने हुन्छ । विराटनगर महानगरपालिकाले १६ नम्बर वडामा फोहोर प्रशोधनका लागि जग्गा खरिद गरिसकेको छ । तर, निर्माण भएर सञ्चालनमा आउन अझै कम्तिमा पनि पाँचवर्ष लाग्ने देखिन्छ । पाँचवर्षसम्म अझै पनि विराटनगरमा उत्पादन हुने फोहोर भने ब्रम्हपुराको केशलिया नदीको किनार आसपासमै थुप्रने निश्चित छ । विकल्पमा अर्को कुनै स्थान नहुँदा र नयाँ परियोजना समेत निर्माण प्रक्रिया बढ्न नसक्दा महानगरपालिका यसमा ढिलाई भइसकेको देखिन्छ ।
गर्नैपर्नेमध्ये विराटनगर महानगरपालिकाको फोहोर व्यवस्थापन प्रमुख हुँदाहुँदै पनि गर्न सकेको छैन । जसको कारण विराटनगर वाड नम्बर ६ स्थित ब्रमपुरामा अहिले पनि फोहोरको डंगुरमा धुँवा उडिरहेको छ । फोहोरका कारण आसपासका स्थानीय आक्रान्त छन् । तर, समाधान गर्ने कुनै उपाय छैन । विराटनगरदेखि ३ किलोमिटर पश्चिममा रहेको ‘डम्पिङ साइट’ लामो समयदेखी समास्या हुँदै आएको छ । दैनिक सय मेट्रिक टन निस्कने सहरको फोहोर व्यवस्थापनमा भने महानगरपालिकाले कम चासो राखेको जस्तो देखिन्छ । जसको आलोचना महानगरपालिका केन्द्रीत हुने गरेको छ ।
विराटनगर महानगरपालिका फोहोर व्यावस्थापन शाखा प्रमुख पुनम दाहालका अनुसार अझै पनि यो समस्या केहि वर्षसम्म रहन्छ । किनकी महानगरपालिकाले एडिबीको सहयोगमा विराटनगर १६ मा एकिकृत फोहोर व्यवस्थापन प्रशोधन केन्द्रको निर्माणको काम सन् २०२६ पछि सुरु हुनेछ । यो प्रोजेक्ट सुरु भएपछि निर्माण अवधीसहित पाँचवर्ष अहिलेकै स्थानमा फोहोर फ्याँक्नुपर्ने हुन्छ ।