विराटनगर । नेकपा एमालेको विराटनगर महानगरको दोस्रो अधिवेशन चलिरहेको छ । अधिवेशनमा विराटनगर ५ का पूर्व वडाध्यक्षसमेत रहेका मिनकुमार आचार्यले समूह परिवर्तन गरी संस्थापन पक्षमा गएका छन् ।
उनले अध्यक्ष पदका लागि आश्वासन दिएर धोका दिएको आरोप लगाएका छन् । विज्ञप्ति जारी गरेका आचार्यले युवराज बास्कोटा र विनोद ढकालको सल्लाहमा प्रतिनिधि चयन भएपनि अध्यक्षको उमेदवार हुन षड्यन्त्र गरेर रोकिएको दावी गरेका छन् । विराटनगर महानगरपालिकाका पूर्व अध्यक्ष तथा अहिलेका जिल्ला उपाध्यक्ष सागर थापा आचार्यलाई नै अध्यक्ष बनाउने जोडमा थिए । त्यसमा ढकालले समेत समर्थन गरेपनि तलबाट युवाहरुले आचार्यलाई अध्यक्ष बनाउन नहुने तर्क गरेका थिए ।
उनी ५ नम्बर वडाको अध्यक्ष हुँदा कतिपय विवादित काम गरेको आरोप लगाइएको छ । एमाले अधिवेशनस्थलमा भेटिएका एक युवाका अनुसार आचार्य भन्दा नवराज नेपाल प्रवल दावेदार रहेको बताएका छन् । तर, नेपालका विरुद्ध उजुरी पर्ने देखिएपछि विकल्पमा बलराम गिरी (नविन)लाई सार्नुपर्ने स्थिति आएको बताएका छन् ।
आचार्यले भने विनोद ढकाल, सागर थापा र वलराम गिरीको नेतृत्वमा रहेको प्यानलले आफूविरुद्ध भ्रामक मुद्दा उठाई राजनैतिक र सामाजिक चरित्र हत्या गर्ने प्रयत्न गरिरहेको उल्लेख गरेका छन् । तर, यस अगाडीका कुराहरुमा उपाध्यक्ष थापाले भने आचार्यलाई नै अगाडी सार्ने अडान लिदैं आएका थिए । आचार्यले सामान्य विषयलाई जघन्य अपराध सरह प्रस्तुत गरी मलाई उम्मेदवार बन्न नदिने प्रयास गरेको विज्ञप्तीमा उल्लखे गरेका छन् ।
आचार्यले मन मिल्दासम्म सबै राम्रो भनेर प्रतिक्रिया दिदैं आएका बिनोद ढकाल पक्षलाई भने “पार्टी विध्वंश गर्ने” लाइनको संज्ञा दिएका छन् । उनले आफ्नो नेतृत्व स्थापीत नहुने देखिने बितिकै दिएको यो अभिव्यक्तिले आफैलाई असजिलो बनाएको एकथरीको भनाई छ । गुटबाट अलग हुने बितिकै विध्वंसको संज्ञा दिनु भनेको उनी स्वार्थ प्रेरित संलग्न थिए भन्ने देखाउँछ, अर्को लाइनमा पनि उनको विश्वास गर्ने अवस्था नहुने सक्छ, ती युवाले भने ।