विराटनगर । नेकपा माओवादी केन्द्रको विराटनगर महानगर सम्मेलन आगामी बैशाख ७ गते तय भएको छ । विराटनगर महानगर समितिले बिहीबार पत्रकार सम्मेलन गरेर सम्मेलन बारे जानकारी दिइएको हो ।
नगर सम्मेलन पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्घाटन गर्ने दावी गरिएको छ । भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन कायम गर्ने अभियान अन्तर्गत नै महानगरको सम्मेलन कार्यक्रमलाई राखिएको छ । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शिवकुमार मण्डलले सम्मेलनमा पार्टीका अध्यक्षलाई उद्घाटनमा प्रमुख अथितिको रुपमा निमन्त्रण गरिएको बताउँदै भने–यो देशका हरेक समस्याका लागि अध्यक्ष प्रचण्डको पहलकदमी महत्वपूर्ण छ ।
विराटनगर आयल निगम दक्षिणमा रहेको शुभ ब्यान्केटमा हुने नगर सम्मेलनमा ३५६ जना प्रतिनिधि, ३५ जना पर्यवेक्षक, २५ जना स्वयंसेवक रहने नगर समितिका अध्यक्ष नवीन पौडेलले जानकारी दिएका छन् । सम्मेलनको बन्दसत्र बैशाख ८ गते हुनेछ । सम्मेलनले ९९ सदस्य महानगर समितिको चयन गर्ने नेकपा माओवादी केन्द्र विराटनगर नगर समितिका सचिव नमिता न्यौपानेले जानकारी दिएकी छिन् ।