विराटनगर । नेकपा एमाले विराटनगर महानगर कमिटीको अध्यक्षमा बलराम गिरी (नविन) प्यानल नै निर्वाचित भएका छन् । बिहीबार साँझ ७ बजे भएको मतदानपछि राती ११ बजेबाट मतगरण सुरु गरिएको थियो । शुक्रबार सम्पन्न मतपरिणामले बललराम गिरीले १७३ मत ल्याएर निर्वाचित भएका हुन् ।

अध्यक्षका प्रत्यासी रोहित कोइरालालाई ५२ मतान्तरले पराजित गर्दै गिरी अध्यक्षमा निर्वाचित भएका हुन् । गिरीले १७३ र कोइरालाले १२१ मत प्राप्त गरे । कोइराला निवर्तमान संगठन कमिटीका अध्यक्ष र गिरी सचिव हुन् । महानगर कमिटीको उपाध्यक्षमा सुरज न्यौपाने निर्वाचित भएका छन् । उनले उपाध्यक्षका अर्का प्रत्यासी राम पोखरेललाई ९ मतान्तरले पराजित गरे । न्यौपानेले १४५ र पोखरेलले १३६ मत प्राप्त गरेका छन् ।

सचिवमा गिरी कै प्यानलबाट विज्ञान चापागाई निर्वाचित भए । उनले १८३ र सचिवका प्रत्यासी नवराज काफ्लेले १०४ मत प्राप्त गरे । उपसचिव खुल्लामा हमिद आजाद निर्वाचित भएका छन् । उनले उपसचिवका अर्का प्रत्यासी चन्द्रशेखर विश्वासलाई पराजित गरे । आजादले १७८ र विश्वासले –९८ मत प्राप्त गरे । उपसचिव महिलामा हिमा मैनाली पोखरेल निर्वाचित भईन् । उनले उपसचिवकी प्रत्यासी कला डाँगीलाई पराजित गरिन् । पोखरेलले १६९ र डाँगीले १११ मत प्राप्त गरिन्। यसअघि महानगर कमिटीका ६८ सदस्य निर्विरोध निर्वाचित भईसकेका छन् ।

अधिवेशनमा ३१४ प्रतिनिधि मध्ये ३०८ जनाले मतदान गरेका थिए । महानगर अधिवेशन वैशाख २ गते नेकपा एमाले मोरङ पार्टी कार्यालय पाञ्चालीमा उद्घाटन भएको थियो । बन्द शत्र पनि सोही स्थानमा गरिएता पनि दुई समुह चुनावी मैदानमा उत्रिएपछि मतदान पक्रियाको लागि ढिलाई भएको थियो ।