प्रेम देवान
विराटनगर । विराटनगरमा रहेको हिमालय टाँकिज सिनेमा हलले लामो समयदेखी कर नतिरेपछि महानगरको टोली पुगेर कर असुल गरेको छ ।
पटक पटकको ताकेता गरे पनि विभिन्न शिर्षकको कर नतिरेपछि आज(आईतबार) विराटनगर महानगरपालिकाको राजश्व टोली हलमा ताला लगाउन पुगेको थियो ।
हिमालय हलले मनोरन्जन, घर बहाल लगायतका कर लामो समयदेखी नतिरेपछि विराटनगर महानगरपालीकाको राजस्व महाशाखाका प्रमुख सरोज गौतम सहित प्रहरी निरीक्षक राजन पौडेलको टोलीले ताला लगाउने भन्दै हलमा पुगेका थिए । तर हलमा फिल्म चलिरहेका कारण ताला नलगाउन हलका संचालकले आग्रह गरेका थिए । हलले २०७० सालदेखी कर नतिरेको विराटनगर महानगरपालिकाका राजश्व महाशाखा प्रमुख सरोज गौतमले आवर विराटनगरलाई जानकारी दिए ।
लामो समयदेखी हलले मनोरन्जन , घर बहाल , सम्पत्ती , स्थानिय निकाय लगायतको कर लामो समयदेखी नतिरेका कारण वाध्य भएर हलमा ताला लगाउनुपर्ने अवस्था आएपछि हामी आएका हौँ, गौतमले भने, ‘पटक पटक हललाई ताकेता गरेयौँ, तर समयमा नआएका कारण हलमा नै आउनुपर्ने वाध्य भयो ।’ हलले २०७० साल देखीको ५० लाख भन्दा बढी कर तिर्नुपर्ने गौतलले बताए । यता हिमालय टाँकिजका मेनेजर मनोज मण्डलले भने हामीले पटक पटक गरेर १५ लाख बढी बुझाई सकेको बताए । खास गरी लकडाउनका कारण हामीलाई समस्या आएको हो,उनले भने महानगरलाई म आफै गएर पटक पटक अलि अलि गरेर भएपनि कर बुझाएको छु ।
आज पनि म महानगर गएको थिए, तर कार्यालयमा कर्मचारी नभेपछि म फर्केको हो ।’ यता हलले भने अहिले तत्कालको लागि १५ लाखको चेक काटेर ताला लगाउन आएको टोलीलाई फर्काएको छ । अरु रकम भोली गएर पुन: तिर्ने हलका मेनेजर मण्डलले जानकारी दिए । तर हलमा दादा गिरी शैलीमा आएर फिल्म चलिरहेको बेला ताला लगाउने भन्दा चाही राम्रो लागेन मण्डलले आवर विराटनगरसँग गुनासो गरे ।