इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिकाले महानगर प्रहरीलाई दिएको इलेक्ट्रिक साइकल विग्रिएर थन्किएको छ । आर्थिक वर्ष २०७८।०७९ मा महानगरपालिकाले इलेक्ट्रिक साईक नगर प्रहरीलाई दिएको थियो ।
विराटनगरलाई सफा, सुन्दर, व्यवस्थित, उज्यालो र विकसित बनाउने अभियानमा लागेको महानगरले नगर प्रहरीको कामलाई थप जिम्मेवार बनाउन महानगरले इलेक्ट्रिक साइकल हस्तान्तरण गरेको थियो । दशवटा इलेक्ट्रीक साइकलमध्ये अब दुईवटा बाहेक सबै कवाडी गोदाममा राखिएको छ । जिन्सी शाखाका प्रमुख रामहरी कोईरालाका अनुसार उक्त इलेक्ट्रिक साइकल खरीद गर्दा एक साईकलको ६२ हजार ८०० परेको थियो । ६ लाख २८ हजारमा खरिद गरिएका इलेक्ट्रीक साइकल मर्मतमा सामान नपाएपछि गोदाममा राख्नु परेको जिन्सी शाखा प्रमुख कोइरालाले जानकारी दिए ।
उनले दमकबाट साईकल मर्मतकालागि मान्छे बोलाएको भएपनि आउन ढिलाई गरेको दावी गरे । साईकल वितरण गर्दा सो अवसरमा मेयर कोइरालाले महानगर प्रहरीलाई थप स्रोत साधनयुक्त बनाउने योजनाअनुसार इलेक्ट्रिक साइकल वितरण गरिएको थियो । त्यसबेला मेयर कोईरालाले जिम्मेवार भएर छिटो छरितो रुपमा काम गर्न नगरप्रहरीलाई निर्देशन समेत दिएका थिए । साईकल पाएको केहि महिना त नगरप्रहरीले उक्त साईकलमै महानगरका विभिन्न स्थलमा गस्ति गरेका थिए । तर अहिले भने दुई साईकल बाहेक सबै विग्रिएर थन्किएको अवस्था छ । यत्तिको बजेटको सामाग्री विग्रनसाथ बनाउनुपर्ने हो, तर ६२ हजार मूल्य बराबरको ८ साईकल अहिले कवाडि झै राखिएको छ ।
माहानगरले वितरण गरेको साईकल विग्रन थालेपछि मर्मतको जिम्मेवारी पनी महानगरले लिनुपर्ने हो । तर महानगर र महानगरका नगर प्रहरीको उक्त साईकल मर्मत गर्ने प्रति चासो देखिदैन । यता महानगरका नगरप्रहरी प्रमुख राजन पौडेलले भने उक्त साईकल के कारण थन्किएको भन्नेबारे जानकारी नभएको बताउछन् । उनको अनुसार ५ वटा साईकल संचालनमा छन् । उनलाई अझ कति साईकल विग्रेको अवस्थामा छन् र कति संचालनमा छन् भन्ने यकिन समेत नभएको हो । इलेक्ट्रिक साइकल खरीद गर्दा खर्चीएको मूल्य बढि भएकोले केहि साईकल विग्रन थाल्नसाथ मर्मत गर्नु पर्ने हो । तर १० वटामा ८ वटा विग्रदासम्म मर्मत गनुको सट्टा कबाडिमा थन्काएका छन् ।