विराटनगर । जिल्ला ट्राफिक प्रहरी कार्यालय, मोरङ भाडाको घरमा छ । सात महिना अगाडी विराटनगर ट्राफिक चौकस्थित जीर्ण भवन छोडेर विराटनगर–२ स्थित भाडाको घरमा सरेको थियो । जीर्ण भवन छोडेर भाडाको घरमा सरेको ट्राफिक प्रहरी कार्यालयको आफ्नै संरचना कहिले बनाउने भन्ने अलमलमा परेको छ ।
ट्राफिक चौकस्थित ट्राफिक कार्यालयको भवन नेपाल प्रहरीको नाममा रहेको छ । उक्त जग्गा मालपोलमा वडा प्रहरी कार्यालयको नाममा अंकित भएपनि त्यसको लालपूर्जा भने छैन । लालपूर्जा लिने प्रक्रियामा रहेको छ । यद्यपी लालपूर्जा लिएपनि ट्राफिक प्रहरी कार्यालयको भवन बनाउन भने त्यहि स्थान अनुपयुक्त हुने प्रारम्भिक छलफलबाट निष्कर्ष निकालिएको छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजन लम्सालले नयाँ भवन निर्माणका लागि उपयुक्त जग्गा उपलब्ध गराउन विराटनगर महानगरपालिकासँग अनुरोध गरिएको थियो । तर महानगरपालिकाका प्रमुख नागेश कोइरालाले भनेजस्तो जग्गा नभएको बताएका छन् । उनले मोरङ ट्राफिक प्रहरीको अहिलेको अवस्थाको विषयमा लिखितै जानकारी गराएको बताए । उनले भने जग्गाको लालपूर्जा लिने विषय जिल्ला प्रहरी कार्यालय मोरङले बढाउँछ ।
मोरङका प्रहरी नायव उपरीक्षक बेदप्रकाश जोशीले भवन निर्माण गर्नुपर्ने आवश्यकता भएपनि पुरानै स्थान उपर्युक्त नदेखिएको प्रारम्भिक छलफल भएको जानकारी दिए । जग्गा नै फाइनल नभएको अवस्थामा भवन बनाउने विषय समेत अहिले खासै चर्चामा नभएको जोशीले बताएका छन् । भवन आवश्यकता भएपनि अहिलेको स्थितिमा पुरानै स्थानमा ट्राफिक प्रहरीको संरचना उपर्युक्त नहुने बुझाई भएको छ, जोशीले भने–बाँकी विषय टुङगो लाग्दै जाँदा हुने हो ।
विराटनगर–९ ट्राफिक चौकबाट विराटनगर–२ स्थित भाडाको घरमा कतिबेर बस्ने भन्ने हो । ट्राफिक चौकमा आफ्नै तीनतले भवन भएको जग्गामा अनुपयुक्त भए तत्काल नयाँ भवन बन्ने अनिश्चित देखिएको छ ।
प्रदेश सरकार आन्तरिक मामिला मन्त्रालयमा नयाँ भवनको लागि दुईवर्ष अगाडी नै बजेट माग गर्दै फायल पेस गरिएको थियो । यद्यपी बहुवर्षे योजना अन्तर्गतको योजनामा राखिएपनि निर्माणको प्रक्रिया बढ्न सकेको थिएन ।