विराटनगर । विराटनगर १४ मा रहेको भगवती विद्या मन्दिर सेकेण्डरी इङ्ग्लिस बोर्डिङ स्कुलले आफ्नो १५औं वार्षिकोत्सव तथा अभिभावक दिवस भव्य रुपमा मनाएको छ ।
विद्यालय परिसरमा आज (शुक्रबार) आयोजित कार्यक्रममा विद्यार्थी, अभिभावक, शिक्षक, विद्यालय सञ्चालक र स्थानिय प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रमको उद्घाटन वडा नम्बर १४ का वडा अध्यक्ष सूर्यनारायण महतले गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष महतोले वर्तमान शिक्षा प्रणालीमा गुणस्तरको महत्वलाई जोड दिँदै अबको आवश्यकता रोजगारमुखी शिक्षा रहेको स्पष्ट पारे। उनले भने, “अबको शिक्षा केवल किताबी ज्ञानमा सिमित हुनु हुँदैन। विद्यार्थीहरूलाई व्यवहारिक ज्ञान र सीपमा आधारित शिक्षा दिन जरुरी छ जसले भविष्यमा उनीहरूलाई आत्मनिर्भर बनाउन सकोस्।”
वडाध्यक्ष महतले यस्ता कार्यक्रमले विद्यार्थी, शिक्षक र अभिभावकबीचको सम्बन्ध मजबुत बनाउन मद्दत पुर्याउने भन्दै विद्यालयको प्रगतिको शुभकामना समेत व्यक्त गरे। विद्यालयका प्रिन्सिपल धनकुमार राईले विद्यालय स्थापना कालदेखि नै संस्कारसहितको गुणस्तरीय शिक्षा प्रदान गर्ने लक्ष्यका साथ अघि बढेको जानकारी दिए । उनले भने, “शिक्षा भनेको केवल ज्ञान दिने माध्यम मात्र होइन, यो चरित्र निर्माणको आधार पनि हो। हामीले आफ्ना विद्यार्थीहरूलाई अनुशासित, आत्मनिर्भर र सामाजिक उत्तरदायित्व बोध गराउने किसिमको वातावरणमा शिक्षण सिकाइ गर्दै आएका छौं।”
प्रिन्सिपल राईले विद्यालयमा हाल पिज्जेदेखि कक्षा १० सम्म करिब ६ सय विद्यार्थी अध्ययनरत रहेको जानकारी दिंदै विद्यालयको भौतिक तथा शैक्षिक पूर्वाधार विस्तारमा समेत विशेष ध्यान दिइएको उल्लेख गरे। कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक प्रस्तुति, गीत र नृत्यमार्फत मनोरञ्जन प्रदान गरेका थिए। अभिभावक तथा अतिथिहरूले विद्यार्थीहरूको प्रतिभा देखेर प्रशंसा व्यक्त गरे। विद्यालयका सञ्चालक तथा शिक्षकहरूले विद्यालयको आगामी योजना तथा लक्ष्यबारे समेत जानकारी गराएका थिए। कार्यक्रमले अभिभावकहरूलाई विद्यालयको गतिविधि र विद्यार्थीहरूको विकासबारे प्रत्यक्ष जानकारी लिन मद्दत पुगेको अभिभावकहरूले बताएका छन्। यस्ता उत्सवले विद्यालय र अभिभावकबीच विश्वासको सम्बन्ध बढाउने र विद्यार्थीलाई थप प्रेरणा दिने विश्वास गरिएको छ ।