विराटनगर । विराटनगर ९ मा रहेको इडेनबर्ग कलेजले आज(शनिबार) एक विशेष कार्यक्रमको आयोजना गर्दै नवआगन्तुक विद्यार्थीलाई स्वागत र स्नातक विद्यार्थीलाई बिदाई गरेको छ ।
२०६६ सालमा स्थापना भएको यस कलेजमा हाल १ हजार ३६५ जना विद्यार्थी अध्ययनरत छन्। । कार्यक्रममा कलेजले यस वर्ष बिबिएस र बिएड प्रथम वर्षमा भर्ना भएका ४४२ जना विद्यार्थीलाई स्वागत गरेको हो। सोही अवसरमा बिबिएस र बिएड स्नातक तह सकाएका १६० जना विद्यार्थीलाई सम्मानपूर्वक बिदाई गरिएको थियो ।

कार्यक्रमको विशेष आकर्षणको रूपमा कलेजले स्वर्गीय कृष्ण देवानी स्मृति छात्रवृत्ति पुरस्कार वितरण पनि गरेको छ । ओवी मिडियाका निर्देशक तथा सञ्चारकर्मी प्रेम देवानको स्वर्गीय बुबाको स्मृतिमा स्थपना गरिएको छात्रवृत्रि पुरस्कार बिबिएस तेस्रो वर्षमा अध्ययनरत प्रेम रौनिया र आरिफ अन्सारीलाई उक्त छात्रवृत्ति प्रदान गरिएको थियो । छात्रवृत्ति प्राप्त दुबै विद्यार्थीको अध्ययनमा उत्कृष्टता रहेको क्याम्पस प्रमुख डिके शाह (दिपेन्द्र साह) ले जानकारी दिए । स्व. कृष्ण देवान विगत लामो समयदेखी ईडेनबर्ग कलेजमा कर्मचारीको रुपमा कार्यररत थिए । उनको एक बर्ष अघि हृयदघातका कारण निधन भएको थियो।

क्याम्पस प्रमुख शाहले कार्यक्रममा बोल्दै विद्यार्थीलाई संस्कार र सिपसहितको गुणस्तरीय शिक्षा प्रदान गर्दै कलेज अगाडि बढिरहेको बताए । उनले दक्ष, जिम्मेवार र व्यवहारिक ज्ञान भएको मानवशक्ति उत्पादन गर्नु कलेजको प्रमुख उद्देश्य रहेको उल्लेख गरे। कार्यक्रमको प्रमुख अतिथि संघीय सांसद योगेन्द्र मण्डलले विद्यार्थीलाई प्राविधिक र व्यवहारिक शिक्षा अनिवार्य रहेको बताए। शिक्षा मात्रै होइन, प्राविधिक सीप पनि आजको युगमा अत्यावश्यक रहेको उनले जोड दिए।
त्यस्तै, कलेजका सञ्चालक भुवन नेपालले राष्ट्र निर्माणको आधारशिला सक्षम जनशक्ति भएको उल्लेख गर्दै इडेनबर्ग कलेज दक्ष र योग्य जनशक्ति उत्पादनमा केन्द्रित रहेको जानकारी दिए।

उक्त कार्यक्रममा विद्यार्थीहरूले विभिन्न सांस्कृतिक नृत्य, गीत तथा प्रस्तुतिबाट कार्यक्रमलाई थप आकर्षक बनाएका थिए। विद्यार्थीहरूको सहभागिता, उत्साह र प्रस्तुतीले सम्पूर्ण माहोल उल्लासमय बनेको थियो। शिक्षक, अभिभावक, सञ्चालक समिति सदस्य तथा समाजसेवीहरूको समेत उपस्थिति रहेको कार्यक्रममा विद्यार्थीहरुले नृत्य तथा गीतहरु समेत गाएर मनोरन्जन प्रदान गरेका थिए । इडेनबर्ग कलेजले शैक्षिक उत्कृष्टता र समाजोपयोगी कार्यक्रममार्फत विद्यार्थीको समग्र विकासमा योगदान दिइरहेको स्पष्ट देखिएको छ ।
