विराटनगर। ग्रीनलाइट युनिसेक्स सैलुनले मानव सेवा आश्रम विराटनगरको तिनटोलिया स्थित आमा समूहमा रहेका आमाहरूलाई निःशुल्क कपाल तथा नङ सुधार सेवा प्रदान गरेको छ। साथै, वन कार्यालय नजिकै रहेको बुवा समूहका सदस्यहरूलाई भोजन सेवा पनि उपलब्ध गराइएको छ।
यी दुवै कार्यक्रमहरू श्रीकृष्ण प्रणामी युवा परिषद् विराटनगरको सहकार्यमा सम्पन्न भएका हुन्। उल्लेखनीय छ कि श्रीकृष्ण प्रणामी युवा परिषद् विगत केही वर्षदेखि विभिन्न आश्रम, अस्पताल र अन्य स्थानहरूमा भोजन वितरण लगायतका सामाजिक कार्यहरूमा सक्रिय रूपमा संलग्न रहँदै आएको छ।
यस प्रकारका सेवामूलक कार्यक्रमहरूले समाजका असहाय तथा विपन्न वर्गलाई राहत पुर्याउनुका साथै सामुदायिक एकता र सहकार्यको भावना प्रवर्द्धन गर्न मद्दत पुर्याउने आयोजकहरूले बताएका छन्। कार्यक्रममा सहभागी आमा तथा बुवाहरूले यस्तो मानवीय पहलको लागि ग्रीनलाइट युनिसेक्स सैलुन र श्रीकृष्ण प्रणामी युवा परिषद्लाई हार्दिक धन्यवाद दिएका छन्।