विराटनगर । झापाको गौरादहमा सम्पन्न प्रथम कोशी प्रदेश स्तरीय कुस्ती प्रतियोगिताको उपाधि मोरङले जितेको छ।
जेठ ४ गतेदेखि ६ गतेसम्म झापाको गौरादह कभर्ड हलमा सम्पन्न प्रतियोगिताको विभिन्न तौल समूहमा ९ पदकसहित मोरङले उपाधि जितेको हो।
प्रतियोगितामा ९ पदक सहित मोरङ प्रथम हुँदा ५ पदक सहित झापा दोस्रो र ३ पदक सहित सुनसरी तेस्रो भएको छ। प्रतियोगितामा महिला तर्फ मोरङले विभिन्न तौल समूहमा ५ पदक जितेको हो। मोरङका लागि ५० केजी तौलमा चानमुनी हेमरम, ५५ केजीमा सुनिता कुमारी साह, ५७ केजीमा सुप्रिया कार्की, ७२ केजीमा प्राप्ती ठाकुर र ७६ केजी समूहमा सुस्मिता राजवंशीले पदक जित्नु भएको थियो।
महिला समूहको ५३ केजी तौल समूहमा सुनसरीकी प्रियंका सरदार, ६२ केजीमा झापाकी प्रतिमा साह, ६५ केजीमा ताप्लेजुङकी ज्योति इवारम प्रथम हुनु भएको थियो। महिला तर्फ प्रतियोगिताको उत्कृष्ट खेलाडी मोरङकी सुप्रिया कार्की हुनुभयो।
प्रतियोगिताको पुरुष तर्फ ५७ केजी तौल समूहमा झापाका फुर्वा लामा शेर्पा, ६१ केजीमा सुनसरीका नितेश कुमार यादव, ६५ केजीमा मोरङका विकास राजवंशी, ७० केजीमा मोरङका सविन राजवंशी, ७४ केजीमा झापाका सुमन श्रेष्ठ प्रथम हुनुभएको थियो।
त्यस्तै, पुरुष तर्फ ७९ केजीमा झापाका संगम मुण्डा, ८६ केजीमा दुर्गानन्द यादव, ९२ केजीमा मोरङका जयप्रकाश साह, ९७ केजीमा झापाका रिजन श्रेष्ठ र १२५ केजीमा मोरङका इन्द्र राजवंशी प्रथम हुनुभएको थियो।
पुरुष तर्फको उत्कृष्ट खेलाडी झापाका फुर्वा लामा शेर्पा हुनुभएको जिल्ला खेलकुद विकास समिति झापाका कार्यलय प्रमुख विष्णु नेम्वाङले जानकारी दिनुभयो।
प्रतियोगिताको विजयी खेलाडी र टिमलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव कृष्ण बस्नेत(पर्शुराम), जिल्ला खेलकुद विकास समिति झापाका अध्यक्ष भेषराज भण्डारी(प्रशान्त) लगायतले ट्रफी, मेडल र प्रमाणपत्र हस्तान्तरण गर्नुभएको थियो।
जिल्ला खेलकुद विकास समिति झापाको आयोजनामा सम्पन्न प्रतियोगितामा कोशी प्रदेशको ४ जिल्लाको सहभागिता थियो। कोशी प्रदेश खेलकुद विकास बोर्डले संयोजन गरेको प्रतियोगिताको प्राविधिक सहयोगी नेपाल कुस्ती संघ रहेको थियो।