विराटनगर । चलचित्र पत्रकार संघ नेपालले आफ्नो २६ औँ स्थापना दिवस तथा दोस्रो राष्ट्रिय भेला ईलामको श्रीअन्तुमा विविध कार्यक्रम गरी भव्य रुपमा सम्पन्न गरेको छ ।

जेठ ७ गतेबाट ईलामको सुर्योदय नगरपालीका स्थित पर्यटकिय स्थल श्रीअन्तु मा आयोजना गरिएको कार्यक्रममा ‘श्रीअन्तु घोषणा पत्र’ समेत सार्वजनिक गरिएको छ । घोषणापत्रमा नेपाली फिल्म बजारको विकासका लागि कार्यक्रम सञ्चालनको माग समेत गरिएको हो ।

कार्यक्रममा चलचित्र पत्रकारिता क्षेत्रमा लामोसमयदेखी योगदान पुर्याउने ७ जना सिने क्षेत्रका पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरिएको छ ।
कार्यक्रममा ‘सिनेमा संवाद’, ‘मिडिया मन्थन’ र ‘पुरस्कार तथा सम्मान प्रदान समारोह’ आयोजना गरियो भने दोस्रो दिन ‘सिनेमा र पर्यटन’ विषयमा संवाद तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको थियो ।

कार्यक्रममा धुव्र लम्साललाई राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८२ बाट ५५,५५५ नगदसहित सहित पुरस्कृत गरिएको थियो भने विष्णु सुवेदी, नरेन्द्र बस्नेतलाई राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८२, जीवनकुमार पराजुली र वर्षा बस्नेतलाई राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८२ ले ५१ ह्जार नगदसहित) प्रदान गरिएको थियो ।
त्यसैगरी रश्मि थापालाई राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८२ र तुलसीप्रसाद निरौलालाई कोशी राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८२ बाट २५ हजार नगदसहित पुरस्कृत गरिएको थियो । समारोहमा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अभिनेत्री वसुन्धरा भुसाल र गौरी मल्ल, अभिनेता शिव श्रेष्ठ, कलाकार संघका अध्यक्ष मोहन निरौला, निर्देशक समाज अध्यक्ष जनकदीप पराजुली, निर्माता मिलन चाम्स, प्रेमकुमार श्रेष्ठ, नवीन श्रेष्ठसहित देशभरका चलचित्र पत्रकारहरुको सहभागीता रहेको थियो ।
कार्यक्रममा सहभागी पत्रकारले श्रीअन्तुको प्राकृतिक सौन्दर्यको अवलोकन गर्दै उक्त क्षेत्रलाई चलचित्र छायाङ्कनको लागि उपयुक्त खुल्ला स्टुडियोका रूपमा प्रवर्धन गर्ने प्रतिबद्धता जनाएका छन् । भेलाको व्यवस्थापन चलचित्र पत्रकार संघ नेपाल कोशी प्रदेश शाखाको संयोजनमा इलाम, झापा, मोरङ र सुनसरी शाखाले गरेका थिए । संघको दोस्रो राष्ट्रिय भेलाबाट ११ बुँदे ‘श्रीअन्तु घोषणा पत्र’ घोषणा भएको छ । घोषणापत्रमा नेपाली फिल्म बजारको अध्ययन, अनुसन्धान, व्यवस्थापन र विस्तारका लागि विभिन्न कार्यक्रम सञ्चालन गर्न माग गरिएको छ । बजारको विस्तारका लागि निरन्तर योगदान गरिरहेका व्यक्ति तथा संस्थासँग सहकार्य, समन्वय गरी प्रोत्साहन र प्रवर्धनका गर्न पनि आग्रह गरिएको छ ।

ईलामको सुन्दर नगरी श्रीअन्तुामा पहिलो पटक चलचित्र पत्रकार संघले आयोजना गरेको यस प्रकारको कार्यक्रमले ‘कोशी पर्यटन बर्ष २०८२ ’ लाई पर्यटन प्रवर्धनमा पनि ठुलो टेवा मिल्ने देखिएको छ ।