-सुरज दाहाल
म झोले हुँ,
गर्वले छाती फुलाउँछु,
प्रगति अग्रगमन र गणतन्त्रको झन्डा मैले नै बोकेको हुँ भन्दै सुनाउँछु।
तर जब वाइडबडी आकाशबाट खस्यो,
ऋणको भारी थपियो,
४० मिलियन डलर बढी तिर्दा, मेरो बोलीमा ताला लाग्यो, मौनताले बास बस्यो।
अन्तर्राष्ट्रिय उडान रोकियो, देशको इज्जत ध्वस्त भयो,
त्यो सब पार्टीको खेल थियो, मैले देख्दादेख्दै मौन बसिदिएँ।
म झोले हुँ,
मेरो झोलामा अविरल बाँधिने अन्धभक्तिको पट्टि छ,
सत्य देख्ने आँखामा भ्रमको मैलो टट्टी छ।
जब पाथीभराको पवित्र भूमिमा, कर्पोरेट स्वार्थले टेक्यो,
स्थानीय लिम्बूको आवाज दबाइयो, बल प्रयोग गरियो,
म झोले 'विकास' को नारामा मख्ख थिएँ, केही बोलिनँ।
गिरिबन्धु टि-स्टेटको जग्गा जब नीतिगत भ्रष्टाचारले बेचिँदै थियो,
ऐन संशोधन गरेरै बाटो खुल्यो, सर्वोच्चको फैसला पनि छल्न खोजियो,
मेरो कानमा कपास, आँखाहरू चिम्मै रहे, 'पार्टीको निर्णय' भन्दै म मौन रहें।
म झोले हुँ,
मेरो इतिहास राष्ट्रघाती महाकाली सन्धिदेखि
राष्ट्रवादको लिपुलेख प्रोपोगन्डासम्म छ।
नक्कली भुटानी शरणार्थी बनाएर, आफ्नै जनताको सपना लुटियो,
पूर्व उपप्रधानमन्त्रीदेखि मन्त्रीसम्मको हात लाग्यो, देशद्रोही आरोप लाग्यो,
म झोले 'दोषीलाई कारबाही हुन्छ' भन्दै भाषण ठोक्थेँ, तर मेरो पार्टीले गर्दा मौन बसिरहें।
कर्णालीमा बाटो नभएर बिरामी मर्दा, अभावले जनता छट्पटिँदा,
म झोले दमकको भ्यु टावरको टुप्पोबाट हेर्छु, दुई अर्बको 'सेतो हात्ती' मेरा लागि गर्व हो।
नेपाल समृद्ध देखिन्छ, किनकि पार्टीले त्यही देखाउँछ,
समृद्ध नेपालमा मृत्यु मर्नेको दोष हो, मेरो पार्टी र सरकारको हैन भन्दै म हाँस्छु।
किनकि त्यही टावरमा मेरा नेताका 'कमिशन' का कथाहरू छन ।
त्यो टावर जनताको पैसा हैन मेरो पार्टी अध्यक्षको पुर्खाको सम्पत्तिले बनेको हो ।
म झोले हुँ,
मेरो पार्टी सगरमाथा जस्तै अग्लो,
सुडान घोटालादेखि
वालुवाटारको जग्गासम्म (१४३ रोपनी) सगर्व ताक्छ।
प्रहरी प्रमुखहरू जेल गए, देशको शान्ति मिसनमा दाग लाग्यो,
ललिता निवासमा पूर्व मन्त्रीहरू बचे, न्याय किनेको स्पष्ट भयो।
तर म झोलेलाई-
पार्टीको ‘नैतिकता’ ले छेक्छ, म सत्य बोल्दिनँ।
कोरनाको महामारीमा जब कीट र मास्कमा घोटाला भयो,
ओम्नी समूहले दोब्बर मूल्य लियो, जनता मरे, नाफा बटुलियो,
उपप्रधानमन्त्रीदेखि मन्त्रीसम्मको नाम आयो, तर छानबिनमा 'आँखा चिम्लियो',
मैले 'संकटमा साथ दिनुपर्छ' भन्दै पार्टीको रक्षा गरें, 'भ्रष्टाचार' शब्द कानमा परेन।
कर फर्स्योट आयोगले जब अरबौंको राजस्व मिच्यो,
त्रिवेणी डिस्टिलरीलाई ९९% छुट दियो, राज्यको ढुकुटी रित्तियो,
गरिबलाई करको बोझ थपियो, धनीलाई उन्मुक्ति मिल्यो,
तर म झोले त्यो 'नीतिगत भ्रष्टाचार' लाई 'कानूनी प्रक्रिया' भन्दै ढाकछोप गर्छु।
चौराहामा म झोलेका स्थानीय नेता धेरै छन्,
जसले मेरो झोला भरिरहन्छन्, अविर र भत्ताको नाममा।
अनि म यही झोलाको बोझले लखतरान,
देश डुबेको देख्दा पनि, जयजयकारको धुनमा।
मेरो झोलामा छ इतिहासको भारी,
लुकाइएका सत्य, दबाइएका आवाजहरू भारी।
म झोले हुँ.....