-राजन प्रसाद न्यौपाने
नझार्नु आँसु
आँखाबाट तिमी
झरे आँसु तिम्रा आँखाबाट भने
फुट्छ मूल मेरो छातीबाट
यो नबिर्सनु।
कमजोर बन्यो तिम्रो हृदय भने
नरुनु भक्कानिएर
बोझिलो बन्यो पीडाले छाती
तिम्रो भने
सगरमाथा ढलेर थिचे झैँ
हुनेछ मलाई
हुँदै हुन्न निराश बन्न तिमी
तिमी बन्यौ निराश भने
बन्द हुनेछन् मेरा धमनीहरु
कहाँ तिमी एक्लै हो र
बिरक्तिएर एक्लो हुनलाई
बालुवा र पानीको सम्बन्ध
नबिर्सनु कहिल्यै।
पीडा कसलाई हुन्न र
बिगत बोझिलै हुन्छ मान्छेलाई
बिर्सनु पर्छ नदीमा आएको
बाढी बेलाको धमिलोलाई
खहरे जस्तो उर्लाउने र सुस्ताउने होइनौ तिमी
अविरल नदी हौ तिमी
दिएको साथ र पाएको मौका नबिर्सनु।
नबनाउनु अँध्यारो तिम्रो
चन्द्र जस्तो अनुहार त्यो
नझुक्नु अब आफैंदेखि आफैं
नराम्रो बिगतलाई सम्झेर
हुँदै हुन्न तिमी रुन
स्वार्थले फुटाएको मुटुको घाउ
फेरि बल्झ्याउन
रोयौ तिमी भने
दुख्छ मेरो मुटु
ढुङ्गाको हृदय छैन मेरो
फूलले पनि घोचेर जिस्काउछ
पटकपटक
यो नबिर्सनु।
पहाड खस्दा पनि
किनाराको ढुङ्गाले अडेसो दिएको हुन्छ
जताततै ठोकिँदै आएको बाढीलाई पनि
समुद्रले शान्त बनाएर
आफैंमा समाहित गराएको हुन्छ
एकपटक सम्झ त!
त्यो फूलको थुङ्गालाई पनि
घोचेर छेडेर मुटुबाट
निस्कन्छ सियो अर्को तिर
मुस्कुराउन छाड्दैन त्यो
नबिर्सनु यो ।
हो बन्द गर आँसु खसाउन
बगाउनै परे त्यी अमूल्य आँसु
यो छाती दिउँला
समुद्र झैँ शान्त बनेर
साथ र समर्पण होइन रुनलाई
छैनौ एक्लो कहिलै
नसोच सधैं चट्याङ परिरह्न्छ जीवनमा
झार्यौ आँसु भने
हुदैनन् मोति त्यी सत्रुको अगाडि
हेप्ने दबाउने र कुरा गर्ने नै
आफूले त्यही काम गर्न नपाउनेहरु नै हुन्
म सङैछु ,नरुनु एक्लै
बिगत जति एक्लो भएपनि
बर्तमान र भविष्य सुन्दर छ तिम्रो
नबिर्सनु यो।