-रंजना भट्टराई
भावनामा बगेर
भाव कै समुन्द्रमा
डुबुल्की मार्ने
म कवि ।
मरभुमिमा हरियालि देख्ने
मृग तृष्णाका क्षण
पानीमा डुबुल्की मार्ने
म कवि
म फूलमा सुन्दर जीवन
देख्छु
तिमी त्यसमा बास्ना छ भन्छौ
त्यसमा कोपिला, पराग
अनि रङ्ग पनि त हुन्छ ।
नीलो आकाश, श्वेत हिमाल
क्षितिजको सामिप्यमा
उदाएको सूर्यले
सिंगो जीवन कोरेको देख्छु
जुनकिरीको
धिपधिपेमा पूर्ण चन्द्रको आभाष पाउँछु
म कवि ।
म धैर्यवान छु
तिमी चंचला
तिमी शितलाई पानी भन्छौ
म त्यसमा कोहिनुर हिरा पाउँछु
पातमा टक्क अडिएको अनमोल ।
उष्ण गर्मीमा
तपतप पसिनामा नुहाउँदा
म गंगा र जमुनाको
संगम महसुस गर्छु
तिमी दुर्गन्ध देख्छौ त्यहाँ ।
तिमी कविलाई बैरागी
उपमा दिन्छौ मत भावनामा बग्ने स्वाभिमानी भन्छु
बेग्लै रित छ तिम्रो र मेरो ।
म भावनामा बग्छु
कलिलो मुना चुडिएको दुःखमा बग्छु
म बीभत्स घटनामा बग्छु
सृङ्गारमा बग्छु
सायद वास्तविकतामा पनि ।
तिमी बहकिएको पागल
भन्छौ मलाई
म सत्यतामा बग्छु
झरि,बादल,वर्षा,हिमाल
प्रकृति सबै मेरा घनिष्ट मित्र ।
हिउँको घर बनाउँछु
सूर्य किरणसंगै पग्लिन्छु
वाफ, बादल,झरि बन्दै बग्दै बग्दै समुन्द्रमा पुग्छु
मेरो अन्त्य छैन
पुष्प पत्रमा आफ्नो सुनौलो रङ्ग कोर्दै पुनः म बग्छु
म कवि ।
विराटनगर-१०