इन्दु साह
विराटनगर । विराटनगर महानगरपालिका क्षेत्रमा बिहानदेखि शहरको सफाईमा काम गर्ने र फोहोर संकलनमा खटिने कर्मचारी संक्रमणको जोखिममा देखिन्छन् । उनीहरुले सफाईको काम गर्दा अपनाउनु पर्ने मापदण्ड र विधी अपनाएको देखिदैन । अझै यतिसम्मकी उनीहरुको स्वाथ्य सुरक्षालाई भन्दै दिएको गमबुट ट्याक्टरको डालामा झुन्ड्याउने र सामान्य फित्ते चप्पल लगाएर काम गर्ने गरेका छन् ।
घरबाट निस्कने फोहोर, सडकमा रहेको फोहोर, अस्पताल र होटलमा उत्पादन हुने फोहोर संकलन गरेर डम्पिङ साइटमा लगिन्छ । त्यसका लागि सफाई मजदुर खटिन्छन् । तर, उनीहरुले मानव स्वास्थ्यका हिसाबले लगाउनु पर्ने कपडा लगाएका हुँदैनन्, लगाउँदैनन् । स्वास्थ्य र सुरक्षाको लागि पाउने सुविधा समेत उपयोग नगरेर उनीहरुले आफूले आफैंलाई जोखिममा पार्ने गरेका छन् । सफाई मजदुरका लागि हातमा पञ्जा, खुट्टामा जुत्ता वा मुखमा माक्स अनिवार्य हुन्छ । त्यस बाहेक उनीहरुले सरसफाईमा खटिदाँ लगाउने पोशाक समेत विशेष प्रकारको हुनुपर्ने हुन्छ ।घरायसी तथा व्यवसायिक क्षेत्रबाट निस्कने कुहिने र नकुहिने फोहोर एकै ठाउँमा मिसाउँदा विभिन्न प्रकारका संक्रामक रोगहरू फैलन सक्ने जोखिम हुन्छ । यस्तो अवस्थामा सरसफाई कर्मचारीहरूले अनिवार्य रूपमा सुरक्षा सामग्रीको प्रयोग गर्नुपर्ने भनिन्छ ।
अस्पतालबाट संकलन गर्ने फोहोरमा सिसा र धातुजन्य लगायत अन्य विभिन्न संक्रमण हुन सक्ने वस्तु हुन्छन् तर उनीहरुले आधारभुत सुरक्षाको सामाग्रीको प्रयोग नगर्दा उनीहरुको स्वास्थ्यमा संक्रमण हुने जोखिम उच्च हुन्छ । महानगरका १९ वटै वडामा गएर उनीहरुले फोहोर संकलन गरी व्यवस्थापन गर्ने कार्य गरीरहेका छन् । नगरलाई स्वच्छ र सुन्दर बनाउन मुख्य भूमिका हुन्छ ।महानगर भित्रको फोहोर व्यवस्थापन तिन निजी कम्पनीले गर्दै आएको छ । तर, तिनै कम्पनीका सफाई कर्मचारीले फोहोर संकलनको क्रममा लगाउनु पर्ने सुरक्षा पोशाक एप्रोन, मास्क, पञ्जा र गमबुट जस्ता आधारभूत सुरक्षाका सामाग्रीको प्रयोग गर्दैनन् । महानगरका कर्मचारीलाई वर्षेनी आधारभुत सुक्षा सामाग्री वितरण गरीदै आएको महानगरपालिकाका सरसफाई शाखा प्रमुख पुनम दाहालले जानकारी दिए । उनले भने फोहोर संकलनको जिम्मेवारी पाएका तिनै कम्पनिलाई उक्त सामाग्रीको प्रयोग गर्न निर्देशन दिएका छौँ । यता नेपाल फुलबारी वेस्ट थ्री आर पोलुसन कन्ट्रोल सर्भिस प्रा.लि.का प्रमुख उमेश कटुवालका अनुसार सफाई कर्मचारीलाई वारम्वार स्वाथ्य सुरक्षाको सामाग्रीको प्रयोग गर्न निर्देशन दिएपनि मान्दैनन् । कर्मचारीले भने उक्त पोशाक लगााउदा काम गर्न ढिला हुने अफ्ठ्यारो हुने भन्दै प्रयोग गर्न नमान्ने गरेका हुन् । कटुवालका अनुसार उनीहरुलाई स्वास्थ्यमा फोहोरको कारण हुनसक्ने संक्रमणबारे पनि जनचेतनामुलक कार्यक्रममा सहभागि गराउदै आएको बताए । यस कम्पनिमा जम्मा ९५ जना सफााई कर्मचारी कार्यरत छन् ।फोहोरमा ब्याक्टेरिया, भाइरस, फंगस र परजीवीहरू हुन्छन्। सुरक्षात्मक पोसाक नलगाउँदा ती सूक्ष्म जीवहरू सिधै शरीरमा पर्न सक्छन् । जसले गर्दा टाइफाइड, हेपाटाइटिस, डायरिया, स्केबीज, टीबी जस्ता रोगहरू लाग्न सक्छन्। फोहोरबाट उठ्ने धूलो, दुर्गन्ध र विषालु ग्यास (जस्तैः मिथेन, एमोनिया) ले स्वासप्रश्वासमा असर पुर्याउँछ। मास्क नलगाउँदा एलर्जी, दम , ब्रोंकाइटिस वा दीर्घकालीन फोक्सो रोगहरू हुन सक्छन्। पञ्जा र उचित पोसाक नहुँदा छालामा घाउ, एलर्जी, इन्फेक्सन जस्ता समस्या देखा पर्न सक्छन्। फोहोरसँग सिधा सम्पर्कले छालामा बिषाक्त रासायनिक पदार्थ पनि पर्न सक्छन्।फोहोरमा धारिलो वस्तु (कांच, सिरिंज, सुई आदि) हुन्छन्। बुट वा पञ्जा नलगाउँदा त्यस्ता वस्तुले काट्न वा घोच्न सक्छ, जसले घाउ र सङ्क्रमण निम्त्याउँछ। दुर्गन्ध, अस्वस्थ वातावरण, र सरसफाइको कमीले मानसिक थकान, तनाव, र निराशा पैदा गर्न सक्छ।