मेलाले जुराएको प्रेम – इश्वर रेग्मी

<span class='c1'>मेलाले जुराएको प्रेम</span> <span class='c2'>– इश्वर रेग्मी</span>

विराटनगरको त्यो गर्मि झन्डै त्यस्तै ३८ डिग्री थियो । अफिसको काम बाट फुर्सद भएपछी म पिपल चोकमा रहेको ह्याप्पी आवरमा पुगेँ । त्यहाँ मैले एक बोतल कोक र चिकन म:म अर्डर गरेँ । अर्डर आउन्जेल मनमा केहि कुराहरु खेल्न थालिसकेका थिए र त्यसैबेला अफिसका कामलाई थाति राखेर हप्ता दिन जति रिफ्रेश हुँन झापा र इलाम जाने सोच बनाएँ । त्यसपछि म फेरी अफिस तिर गएँ र आफ्ना स्टाफहरुलाई कामकारबाही बारे बताएँ र म घर बाट केहि कपडा प्याक गरेर निस्किएँ । लगभग १ घण्टा जति भएको थियो होला गाडी चलाइरहेको थिएँ , कानेपोखरी पुगेपछि मेरा आखाँ मेला लागिरहेको स्थान तर्फ गयो । मैले रोकिएर त्यहाँ मेलामा केहि समय रम्ने निर्णय गरेँ । सडक खानाको गन्ध, हाँसोको आवाज र स्टलहरूको जीवन्त रंगहरूले मलाई आकर्षित गरे।

मेलाको भीडमा घुम्दै गर्दा, मैले एक फुल जस्तै सुन्दरीलाई देखेँ । हरियो आँखा र लामो, घुमाउरो खैरो कपाल भएकी केटी, ठ्याक्कै परी जस्ती । उनी मुस्कानसहित परम्परागत नृत्य प्रस्तुति हेरिरहेकी थिइन्। म उनको सुन्दरताबाट मोहित भएँ, झन् उनको त्यो लोभलाग्दो मन्द मुस्कान । एकै नजरमा मेरो मन उनीप्रति झुक्न पुग्यो। मनमा उनलाई सजाएर टोलाउँन थालेछु , झसंग भएर हेर्दा उनि त्यहाँ बाट हराइसकेकि थिइन् । मेरो त्यो खुसि क्षणभरमै समाप्त भएर गयो ।

झापा हिँडेको मान्छे म उनको त्यो हरियो आँखा र मन्द मुस्कानको झल्कोमा त्यहि मेलामा हराउँन पुगेँ ।
वसन्त ऋतुमा पलाउने नयाँ पालुवा जसरि मनमा नयाँ आशाको बिउ रोपेर मेलाको भिडको कुनै कुनामा देख्छु कि भन्दै भौतारिएँ । त्यसै क्रममा थारु समुदायले राखेको स्टलमा पुगेँ मेरो आखाँ पाक्दै गरेको ढीक्री परिकारमा गयो । म स्टल तर्फ लम्किएँ । अचानक म कसै संग ठोक्किन पुगेँ । संयोगवस, दुवैले एकै समयमा एउटै खाजा लिन हात बढाउँन पुग्यौँ र हाम्रा एक अर्काका हातहरू छुइए । हामीबीच माफी आदानप्रदान भयो र आफ्नो आफ्नो परिचय आदान प्रदान भयो । मैले थाहा पाएँ कि उनको नाम निशा हो, र उनी एक स्थानीय कलाकार पनि ।

कुराकानी गर्दै जाँदा, हामी दुवैलाई थाहा भयो कि दुवैजनालाई संगीत, नृत्य र कलाप्रति अत्यन्तै प्रेम र लगाव थियो। मेलाको वातावरण बिजुली जस्तै थियो हेर्दै चम्किलो , र हामिहरूले आफूलाई कुराकानीमा हराएको पायौँ। तर जब चीजहरू रोचक हुँदै गइरहेका थिए, निशाले माफी माग्दै भनिन् कि उनी त्यहाँबाट जानुपर्छ र उनि त्यहाँ बाट लागिन्। निशा कहाँ बस्छिन होला ठेगाना बारे कुरै हुँन पाएको थिएन ।

दिनहरू बित्दै गए, र मैले हाम्रो छोटो भेटको सम्झनालाई बिर्सन सकिरहेको थिइन । मैले आफूलाई हरपल निशाको बारेमा मात्र सोचिरहेको पाएँ । त्यो एक हप्ताको झापा र इलाम बसाइ कसरि सकियो पत्तै भएन । बारम्बार मेरो मनमा एउटा मात्र कुरा खेलिरहेको थियो, के मैले निशालाई फेरि कहिल्यै भेट्न सक्छु कि सक्दिन भनेर ? अब त कामको चाप पनि बढिसकेको थियो त्यसैले म झापाको धुलावारी बाट गाडी लिएर निस्किएँ । केहि घन्टाको यात्रा पछि मैले गाडी फेरी त्यहि मेरो मनले सोचिरहेको स्थान कानेपोखारिमा रोकेँ । मैले उनको एक झलक पाउनको लागि कानेपोखरी भरि खोजे तर कतै भेटिन । त्यसपछि म रंगेलिको बाटो हुदैँ विराटनगर फर्किने सोचेर त्यसतर्फ प्रस्थान गरेँ ।

अलिकति जंगल पार गरेपछि रमाइलो भन्ने ठाउँ आइपुग्यो , यस ठाउँको बारेमा बुढापाकाले कुरा गरेको सुनेको थिएँ । एकछिन गाडी सडक छेउमा राखेर रमाइलो बजार घुम्न थालेँ । त्यहाँ पुरानो सरकारी विधालय पनि थियो सायद नाम जनसेवा माध्यमिक जस्तो लाग्छ नाममा चाहिँ म कन्फ्युज्ड छु । यत्तिकै निशालाई सम्झिदै बस्ति भित्र कतै देखि पो हाल्छु कि भन्दै भौतारिदै थिएँ , बाटोको छेउमा बाँसझ्यांगको छायाँमा काठको चौतारो थियो एकछिन त्यहिँ बसेँ । ठिक अगाडिको घरमा रंगीचंगी फूलहरुले सुगन्धका साथ् आफ्नै एक किसिमका सुन्दरता पस्किरहेका थिए ठ्याक्कै मैले खोजेकी निशा जस्तै ।

पानि प्यास लागेको हुँनाले म त्यस घरमा गएर बोलाएँ , '' घरमा कोहि हुनुहुन्छ ? '' त्यत्तिकैमा कोइलीको जस्तो मधुर आवाजमा हजुर भन्दै कोहि निस्कियो । ओहो, उही हरिया आँखा, लामो र घुमाउरो खैरो कपाल भएकी केटि दुरुस्तै निशा जस्ती । फेरी आवाज गुञ्जियो सौरभ तपाइँ यहाँ ! झसंग भएँ, दुरुस्तै होइन उनि त निशा नै हो , मेरी निशा । मेरा खुशीका कुनै सिमा थिएन , म सपनाको बेग्लै संसारमा बादल बनेर उड्न थालिसकेको थिएँ । मैले तिर्खा धेरै लागेको छ पानि दिनको लागि अनुरोध गरेँ । उनले चिसो सर्वत बनाएर ल्याइन । जब उनले ग्लासमा पानि दिईन हाम्रो हात फेरि छुइयो त्यही मेलाको जसरि, महशुष अझै पनि ताजै थियो। घटघट तिन ग्लास जति सर्वत पानि पिएँ मैले । ओहो, कति धेरै प्यास लागेको रहेछ, हाँस्दै उनले भनिन् । हामीहरु केहि क्षण त्यहाँ घरमै बस्यौँ पानी पिउँदै कुरा गर्दै, र कुराकानी सजिलैसँग सुरु भयो।

कुराकानी गर्दै जाँदा, मैले निशाको कला, चित्रकलाप्रतिको उनको लगाव र आफ्नो सानो गाउँ प्रति उनको प्रेम बारेमा पनि प्रस्ट भएँ । निशाले पनि मेरा सडकमा भएका साहसिक कार्यहरू, संगीतप्रतिको मेरो प्रेम र मेरा सपनाहरूको बारेमा थाहा पाइन् ।

एक अर्का बीच निकै रोचक तथा भावनात्मक कुराहरु चल्दै थियो,घाम डाँडापारी ढल्किसकेको थियो । मैले त्यस क्षणलाई महशुष गरिसकेको थिएँ । मैले आजको यो भेटमा निशा संग धेरै नै समय बिताइसकेको थिएँ ,तर उनलाई कुनै आपत्ति नभएको जस्तो लाग्यो किनभने उनलाई समयको कुनै पर्वाह नै थिएन । सूर्य अस्ताउन थालेपछि, उनले मलाई नजिकै रहेको कानेपोखरी वरिपरि घुम्न आग्रह गरिन् । म तत्काल सहमत भएँ । आखिर सहमत नजनाउँ पनि कसरि ? मेरो मनको चाह उनले बताएकी जो थिइन् । साँझको हावाको आनन्द लिँदै हामी प्रकृतिको मिठो आनन्द लिँदै पैदल यात्रा गर्दै कानेपोखरी तिर लाग्यौँ । त्यस दौरान बेला बेला हाम्रा एकअर्काका हातले स्पर्श गरिरहेका थिए, यसघि मेलामा र निशाको घरमा पानि पिउने क्रममा हाम्रा हात छुइएका थिए । हामीले कानेपोखरी चोकमा त्यहाँको चर्चित चटपटे खायौँ र सफारी चढेर रमाइलो फर्कियौँ ।

बाटो छेउमा दिउँसो पार्क गरेर राखेको आफ्नो गाडी छेउमा पुगेर मनले नमान्दा पनि मैले निशा संग बिदा लिएँ र सोधेँ कि के उनी अर्को रात म सँग खाना खान चाहन्छिन्, र उनी सहमत भइन्। त्यसपछि हाम्रो पहिलो डेट दोस्रोमा परिणत भयो, र चाँडै, दिनहरु अविभाज्य भए। दिनहरू हप्तामा परिणत हुँदै जाँदा, मलाई महशुष भइसकेको थियो कि मैले कोही विशेष व्यक्ति भेट्टाएको छु । हरेक दिन अफिसको काम छिट्टै सकेर निशालाई भेट्न आउनेजाने मेरो क्रम जारि नै रह्यो । हामीले सँगै नजिकका विभिन्न गाउँ र शहर घुमिसकेका थियौँ । हामीले आफ्ना सपनाहरू पनि साझा गरिसकेका थियौँ , र दुख:सुख हाम्रा सारथि भइसकेका थिए ।

नयाँ वर्षले छोपिसकेको थियो र हामी चैत्र मसान्त मै भेडेटार पुगेका थियौँ । त्यहाँ हामीले विस्कि पिउँदै सांगीतिक कार्यक्रमको भरपुर मज्जा लियौँ । त्यस्पस्चात, हामीले भेडेटारको डाँडा बाट धरान शहरलाई निहाल्यौँ । मध्य रातमा धरान धपक्कै चम्किरहेको थियो ठ्याक्कै नयाँ बेहुली जस्ती । मैले निशातिर फर्केर भने, "म त्यो मेलामा तिमीलाई भेट्न पाउँदा धेरै खुसी छु।"

निशा मुस्कुराइन् र नजिकै झुकिन्। "म पनि" उनि अङ्गालीइन् ।

अनि, जब हामीले ताराहरूलाइ साक्षी राखी चुम्बन साझा गर्यौँ , मलाई महशुष भयो कि मैले आफ्नो घर भेट्टाएँ - शहरमा मात्र होइन, तर निशाको हृदयमा पनि।

- ईश्वर रेग्मी, संयुक्त अरव इमिरेट्स
(यस कथामा देखाइएका पात्रहरू मात्र काल्पनिक हुन् कसैको जीवनमा मेल खान गएमा संयोग मात्र हुनेछ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्