विराटनगर । सुन्दरहरैँचामा करेन्ट लागेर आज(शनिबार) बिहान श्रीमान–श्रीमतीको मृत्यु भएको छ ।
सुन्दरहरैँचा नगरपालिका–७ का ५८ वर्षीय पूर्णबहादुर लिम्बू र उनकी पत्नी ५२ वर्षीया फूलमाया लिम्बूको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
सुन्दरहरैँचा–७ स्थित मदेली खोलाको पुलमुनि विद्युत प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर दुवै जनाको घटनास्थलमै मृत्यु भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले बताइन् ।
लिम्बूले माछा मार्नलाई बिजुलीको पोलबाट ‘हुक’ प्रयोग गरेर खोलामा करेन्ट प्रवाह गर्दा घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार अचानक करेन्ट लागेर दुवै जनाको बिहान करिब ९ः४० बजेतिर घटनास्थलमै मृत्यु भएको हो ।
घटनास्थल पुगेर इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री नेतृत्वको टोलीले कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्टमार्टमका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको छ ।
घटना सम्बन्धमा थप अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ ।
फोटो:फाइल