विराटनगर । राष्ट्रिय योजना आयोग र नेपाल उद्योग वाणिज्य महासंघ कोशीको संयुक्त आयोजनामा १६ औँ योजना कार्यान्वयनका विषयमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । झापाको बिर्तामोडमा आइतबार सम्पन्न अन्तरक्रिया कार्यक्रममा कम विकसित मुलुकबाट स्तरोन्नती, उद्योग, वाणिज्य तथा भन्सार सम्बन्धी विषयमा छलफल भएको हो ।
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा. शिवराज अधिकारीले नेपालले अब निर्यातमुखी अर्थतन्त्रतर्फ अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । “नेपालको निर्यात व्यापार विस्तारका लागि अब कृषि, जडीबुटी, अलैँची, चिया, अदुवा, सुपारीजस्ता नगदे बालीलाई उच्च प्राथमिकतामा राखेर नीति निर्माण गरिनु पर्नेमा उनको जोड थियो ।
उनले भन्सार पूर्वाधारको सुधार, भन्सार प्रक्रियामा सहजता, गुणस्तर प्रमाणीकरण, अन्तर्राष्ट्रिय बजारको पहुँच, यातायात पूर्वाधारमा लगानी र निजी क्षेत्रसँग सहकार्यलाई दिगो विकासको मेरुदण्डका रूपमा प्रस्तुत गरेका थिए ।
बिर्तामोडमा सुरु हुने भूटान, बङ्गलादेश, भारत र नेपालको चार देशीय विज्ञ समूहको कार्यशालामा कोशी प्रदेशका भन्सार नाकाबाट निर्यात हुँदै आएका वस्तुहरू र एसियन हाइवे जस्ता सम्भावनाका विषयमा छलफल भएको थियो ।
कार्यक्रममा सहभागी व्यवसायीहरूद्वारा नेपालबाट हाल निर्यात भइरहेका चिया, अलैँची, अदुवा, सुपारी, जडीबुटी लगायतका नगदे बाली तथा भविष्यमा सम्भावित अन्य कृषिजन्य वस्तुहरूमा गहिरो बहस गरिएको थियो ।
निर्यात व्यवसायी महासंघ उपाध्यक्ष तथा चिया निर्यातकर्ता शान्ता बाँस्कोटा कोइरालाले नेपालको जैविक चिया, जडीबुटी र अन्य कृषिजन्य उत्पादनमा अन्तर्राष्ट्रिय बजारमा ठूलो सम्भावना रहेको धारणा व्यक्त गर्दै निर्यात वृद्धि गर्न नीति, पूर्वाधार र ब्राण्डिङमा ध्यान दिनुपर्ने सुझाव दिएकी थिइन् ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका उपाध्यक्ष कुमारमणी पोख्रेलले निजी क्षेत्रको अनुभव र सरकारी नीतिको सहकार्यमा निर्यात व्यापार सुदृढ बनाउने वातावरण सिर्जना गर्न आग्रह गरेका थिए । कार्यक्रममा सहभागीउद्योगी व्यवसायी, कृषकहरूले सीमापार व्यापारमा भन्सार सहजता, यातायात सञ्जाल विस्तार, भन्सार जाँच प्रक्रियामा सुधार, विदेशी बजारमा पहुँच विस्तार लगायतका सुझाव तथा अनुभवहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा आयोगका सदस्य गीता अधिकारी, सहसचिव खुमराज कोइराला, मेची भन्सार कार्यालयका अधिकृत हरिहर पौडेल, अलैँची व्यवसायी महासंघका अध्यक्ष निर्मल भट्टराई, नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमिया, गोकुल श्रेष्ठ, पूर्व केन्द्रीय सदस्य केशवमणी पाण्डे, नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेशका निवर्तमान अध्यक्ष टिकाराज ढकालसहितको उपस्थिति रहेको थियो ।