विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङ र उपप्रमुख आइन्द्र बिक्रम बेघाबीच विवाद उत्कर्षमा पुगेको छ । श्रमदानबाट काम गराउँदै उपमहानगरपालिकाबाट भुक्तानी गराउने गरेको आरोपमा प्रमुख हर्क साम्पाङ बिरुद्ध उपप्रमुख बेघाले मुख खोलेसँगै विवाद उत्कर्षमा पुगेको हो । श्रमदानको भुक्तानी आफैं दिलाउँदै आएपछि उपप्रमुख बेघाले प्रमुख हर्क साम्पाङलाई अंकुश लगाउन खोजेका थिए । जुन विवाद उत्कर्षमा पुगेपछि दुई पक्षबीच सार्वजानिक रुपमा मुख छाड्नेदेखि झडप हुने अवस्थासम्म पुगेको हो ।
दुई पक्षाबीचको विवाद र झडपले गर्दा मंगलबार दिनभर नगर परिसर तनावग्रस्त बनेको छ । पछिल्लो विवाद भनेको बहुभाषिक विद्यालय पश्चिम सर्दु रोकथाम समिति’ले नगरपालिकासँग ७ लाख ४१ हजार भुक्तानी माग गरेपछि भएको हो ।
१७ लाख ४० हजार बराबरको काम मध्ये ९ लाख ९८ हजारको श्रमदान र नगरपालिकाबाट ७ लाख ४१ हजार भुक्तानी पाउनुपर्ने समितिले माग गरेको थियो । उपप्रमुख बेघाले यसलाई रोकिदिएका थिए । त्यसपछि धरान १० को रायणपथमा श्रमदानमा प्रयोग भएको नगरको सवारी समेत बेघाले आफ्नो नियन्त्रणमा लिएका थिए ।
दुई वटा काममा प्रश्न उठाउँदै बेथिती रोक्न उपप्रमुख लागेपछि सोमबार दुई पक्षबीच सामान्य विवाद भएको थियो । तर, मंगलबार दुवै पक्षले आफ्ना समर्थक बोलाएर उपमहानगरपालिका परिसरमै मुख छाडाछाड गरेका छन् । त्यति मात्रै नभई दुई पक्षबीच हात हालाहालको स्थिति समेत बनेको छ । दुवै पक्षका समर्थकलाई उपमहानगरपालिका परिसरबाट बाहिर निकालेपछि स्थिति सामान्य बनेको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षकले जानकारी दिएका छन् । उपप्रमुख बेघाको सचिवालयले श्रमदानको नाममा प्रमुख हर्क साम्पाङले अपारदर्शी ढंगबाट काम गरिरहेको दावी गरेको छ ।