देवराज तामाङ
विराटनगर । महाभारत कालमा पाण्डवहरूले आश्रय लिएको विराट दरबार क्षेत्र अहिले संरक्षणमा छ । यसको महत्व ऐतिहासिक र धार्मिक रुपमा छ । पौराणीक कालका प्रख्यात राजा विराटको दरबार विराटनगर–१८ स्थित बुधनगर भेडियारी क्षेत्रमा रहेको छ । यहाँका पुरातात्विक महत्वका वस्तु संरक्षणमा छन् । वि.संं १९७० सम्म गोग्राह रहेको भनिएको यो क्षेत्रलाई विराट राजाको नामबाटै विराटनगर राखिएको भन्ने भनाई छ ।
राष्ट्रिय जनगणना २०७८ अनुसार २ लाख ४३ हजार ९२७ जनसंख्या भएको विराटनगर महानगरपालिकामा क्षेत्री, ब्राह्मण, मुसलमान, यादव, केवट, नेवार, तेली, धानुक, राजवंशी, थारुलगायत विभिन्न जातजातिको बसोबास रहेको छ । यसको अर्थ विराटनगरमा विविधता छ । त्यही विविधतामा एकताको एउटा अनुपम नमुना पनि यही विराटनगरमा छ ।
धार्मिक स्थलहरूको समृद्ध संग्रह
विराटनगरमा रहेका प्राचीन धार्मिक स्थलहरूले यस शहरको सांस्कृतिक समृद्धताको प्रमाण दिन्छन् । वनास्खण्डी महादेव मन्दिर, काली मन्दिर, विराटेश्वर मन्दिर, संसारीमाईस्थान मन्दिर, राधाकृष्ण मन्दिर, रामजानकी मन्दिर, सत्यनारायण मन्दिर, बङ्गालमुखी मन्दिर, लक्ष्मीनारायण मन्दिर, श्री कृष्ण प्रणामी मन्दिर, हनुमान मन्दिर, अष्टचिरन्जीवी मन्दिर छन् । त्यति नै संख्यामा मस्जिदहरु छन् । जसमध्ये एकसय वर्ष पुरानो जामे मस्जिद विराटनगरको मुटुमा छ । चौधरी र राजबंशीका ग्रामथान समेत उतिकै महत्व रहेको छ । यहाँ गुम्बा र इसाई धर्म मान्नेहरुको चर्च गिर्जाहरु पनि उतिकै छन् । पुरातात्विक स्थलका रूपमा विराट राजाको दरबारस्थल, किच्चकबध पोखरी, मण्ठापोखरी र रानी पोखरी विराटनगरका प्रसिद्ध स्थलहरू हुन् ।
राधाकृष्ण रथयात्राः जोड्छ अन्तरधार्मिक एकता
विराटनगरको राधाकृष्ण रथयात्रा अन्तरधार्मिक एकता र सामाजिक सद्भावनाको प्रतीकका रूपमा स्थापित छ । श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने यो ऐतिहासिक परम्परा वि.सं. १९८८ सालदेखि सुरु भएको मानिन्छ । यसको महत्व क्रमशः विराटनगर बाहिर समेत बढ्दै गएको छ ।

संघीयता पछिको प्रादेशिक संरचना स्थापना भएर सरकार बनेपछि राधाकृष्ण रथयात्राको महत्व झन बढेको छ । प्रदेश सरकारले रथयात्राको दिन ४ जिल्लामा सार्वजानिक विदा दिदैं आएको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मीले बताए । २०८१ सालको रथयात्राका लागि कोशी प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको थियो । सुरुमा झापा मोरङ र सुनसरीमा बिदा दिएको थियो । यो वर्ष प्रदेशका ४ जिल्लामा मात्रै सार्वजनिक बिदा दिएको छ । आगामी भदौ १ गते रथयात्रा (कृष्ण जन्माष्टमीको भोलिपल्ट निकालिने) लागि झापा मोरङ, सुनसरी र उदयपुरमा सार्वजनिक बिदा दिने निर्णय भएको मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीले जानकारी दिए ।

विराटनगर–१ स्थित श्रीराधाकृष्ण मन्दिर परिसरबाट सुरु भएको खट यात्रा वि.सं.२०२५ सालबाट भव्य एवं विशाल रथको रूपमा रूपान्तरित भएको इतिहास छ । यसलाई सर्वधर्म महत्वको रुपमा मानिदै आएको छ । विराटनगर र आसपासका नागरिकसँगै यसलाई भारतीय धर्मानुरागीले समेत महत्व दिएर उतिकै रुपमा उपस्थिति जनाउँदै आएको राधाकृष्ण मन्दिर व्यवस्थापन समितिका अध्यक्ष कैलाश रेग्मी बताउँछन् । रेग्मीका अनुसार १९८८ मा खट यात्रा सुरु गर्दा यसको पेरीफेरी बरगाछी र पोखरीया मात्रैमा सिमित थियो ।
५४ औं संस्करणदेखि रथयात्राको दुरी दुई किलोमिटर थपियो । यसअघि मन्दिर परिसर देखि मेनरोड, ट्राफिक चौक, महेन्द्रचौक, बरगाछी हुँदै मन्दिरको दुरी ७ किलोमिटर थियो। ५४ औं संस्करणको रथयात्रादेखि ९ किलोमिटर पुगेको छ ।

यस उत्सवमा केवल हिन्दू धर्म मान्ने धर्मानुरागी मात्र नभएर अन्य धर्मावलम्बीहरूले समेत उत्तिकै महत्व र सहयोगी भाव राख्दै आएका छन् । विभिन्न धर्म र संस्कृतिका मानिसहरूको एकताको सन्देश झल्काउने यो रथयात्रा विराटनगरको पहिचानको रूपमा मानिन्छ । हरेक वर्ष विराटनगर महानगरपालिकाबाट रथयात्रामा सहयोग गर्ने समूहहरुले स्वीकृत लिनुपर्दछ । जसमा सरसफाई, पानी तथा सर्वत वितरण, स्वयम् सेवक तथा स्वागतद्वार निर्माणका लागि सबै धर्मालम्बीहरुले सहभागिता जनाउन स्वीकृत लिने गरेका विराटनगर महानगरपालिकाका सरसफाई शाखा प्रमुख पुनम दाहालले जानकारी दिए । गत वर्षको रथयात्रामा १२५ वटा संस्थाले सहभागिताका लागि स्वीकृत लिएको उनले बताए ।
रथ यात्राको महत्व बढ्दैं
विराटनगरको पहिचान बनेको राधाकृष्ण रथयात्रा धार्मिक एकतासँगै सद्भावको प्रतिक समेत मानिन्छ । स्थानीय सरकारले दिदैं आएको विदालाई अहिले प्रदेश सरकारले समेत राजपत्रमा सूचना जारी गरेरै विदा दिन थालेको छ । योसँगै २०२५ सालपछि राधाकृष्ण सवार हुँदै आएको पुरानो रथलाई भत्काएर नयाँ बनाउन थालिएको छ । आगामी भदौ १ गते निकालिने राधाकृष्ण रथयात्रा नयाँ स्वरुपमा आउने बताइएको छ । रथयात्रा सौन्दर्यकरणका लागि विराटनगर महानगरपालिकाले ४४ लाख रुपैँया बजेट उपलब्ध गराएको विराटनगर महानगरपालिकाका उपप्रमुख शिल्पा निराला कार्कीले जानकारी दिइन ।
मन्दिरका अध्यक्ष रेग्मीका अनुसार झण्डै दुई सय क्यूफिट सखुवा र सिसौको काठ, दुई हजार केजी फलाम प्रयोग भएर नयाँ रथ निर्माण हुनेछ । हालसम्म रथको डायस दुईहजार केजी फलामबाट निर्मित भइसकेको छ । नयाँ बन्ने रथ २१ फिट अग्लो, १४ फिट चौडा र १९ फिट लम्बाईको हुने छ । फलामका चक्कासहित बनेको डायसमा चार वटा काठको पिलर गाडेर मन्दिर निर्माण हुनेछ । भईरहेको रथ समयक्रमसँगै सानो भएपछि नयाँ रथ निर्माण गर्नु परेको अध्यक्ष रेग्मी बताउँछन् ।उनका अनुसार स्थानीय सरकारसँगै प्रदेश सरकारको समेत उपस्थिति हुन थालेसँगै सबैको सुझावका आधारमा यसलाई फराकिलो बनाउन लागिएको हो । राधाकृष्ण रथ यात्रा अवलोकन गर्न आउनेहरुले रथारोहण भएका राधा र कृष्णको युगल जोडीलाई हेर्न पाउनुपर्ने माग पछिल्ला वर्षहरुमा गर्दै आएका थिए । त्यसलाई सम्बोधन गर्नका लागि नयाँ रथ निर्माण हुँदा भगवानको दर्शन हुने गरी व्यवस्थापन गरिने अध्यक्ष रेग्मी सुनाउँछन् ।
राधाकृष्ण रथयात्राको मुल सारथी पण्डित भवानी निरौला भक्तजनको मागलाई सम्बोधन हुने गरी पुरानो पहिचान नमासिकन रथ निर्माण गरिने बताए । उनले रथ यात्राको महत्व हिन्दुमा मात्रै नभई आम नगरवासीमा रहेकोले पनि पहिचान मास्न नमिल्ने बताए । उनी राधाकृष्ण रथयात्रा अद्धितीय सद्भावको प्रतिक भएको सुनाउँदै भन्छन्– सावधान ! भन्दा सबै टक्क अडिन्छन् र रथलाई नमन गर्दछन् । पण्डित निरौला नै राधाकृष्ण रथयात्राको मुल पण्डित अर्थात सारथी हुन् । उनले रथलाई अगाडी बढ्दै जाँदा रोक्नुपर्ने विश्रामस्थलको जनाउ दिन सावधान ! भनेर निर्देशन दिने गरेका छन् ।
साझा उत्सव
किराँत राई यायोख्खा विराटनगर महानगर समिति अध्यक्ष विष्णु राईले संविधानले नै धर्मनिरपेक्ष राष्ट्र उल्लेख गरिसकेपछिका सहज स्थितिको मनन राधाकृष्ण रथयात्रामा व्यक्त हुने भावनाबाट प्रतित हुने सुनाउँछिन् । उनले राधाकृष्ण रथयात्रालाई एकताको महत्व बोकेको उत्सव रहेको बताउँदै भन्छिन्–‘संघीयतापछि अझै यसको महत्व बढेको छ, जसरी काठमाडौंका नेवारी जात्राहरुमा अभूतपूर्व एकता दर्शाउन मानव उपस्थिति हुन्छ, त्यस्तै यहाँ पनि उपस्थिति हुने गर्छन ।’
विराटनगर-१५ निवासी २५ वर्षीय तरवेज आलम रथयात्रालाई धार्मिक महत्वको रुपमा मात्रै नभई एकताको उत्सवको रुपमा लिएका कारण सर्वग्रहण हुने गरेको बताउँछन् । उनले रथयात्रा विराटनगरको शान भएकोले यहाँ कुनै धर्म विशेषले मात्र नभएर सम्पूर्ण समुदाय नै मिलेर मनाउँदै आएको विगतको परम्परा कायम रहनेमा विश्वास व्यक्त गर्दछन् ।

रथयात्रालाई धर्मको नभई शहरको एकता प्रतीकको रूपमा हेरेर सहभागिता जनाउने गरेको विराटनगरका कुमार तामाङ सुनाउँछन् । उनको भनाईमा रथयात्राप्रतिको सम्मान सबै उमेर समूहका सबै धर्मका नागरिकको मनोभाव रहेको भन्छन् । विराटनगरमा सबै समुदायले एकअर्काको चाडपर्वलाई सम्मानका साथ मनाउने गरेका छन् । महिला उदयन संगठनकी केन्द्रीय अध्यक्ष रोकैया खातुन सबै धर्मका पर्वहरुमा समान उपस्थिति हुने स्थितिलाई नकार्न नसकिने बताइन । ‘मुस्लिम समुदायले मनाउने पर्वहरुमा कति धेरै सम्मान भाव प्रकट हुन थालेको छ ।’उनले भनिन ‘हिन्दु धर्मका पर्वहरुमा हुने विदा अहिले सबै धर्मका लागि दिन थालिएकोको छ । यो सकरात्मक पक्ष हो ।’
रथ यात्राको इतिहास
विराटनगरको वडा नम्बर १ श्रीराधाकृष्ण मन्दिर परिसरबाट वि.स. १९८८ सालदेखि सुरु भएको ऐतिहासिक खटयात्राले ५४ वर्षअघिबाट रथयात्राको रूप लिएको थियो । खटयात्रालाई स्थानीय भूपालमानसिंह कार्की र सत्यनारायण धनावतसहितका समाजसेवी र धार्मिक व्यक्तिहरूले २०२५ सालबाट रथयात्रामा रूपान्तरण गरेको स्थानीय बुढापाकाहरुको भनाई छ ।
रथयात्रा सुरु गर्नुअघि भगवान् श्रीराधाकृष्णको मूर्तिलाई खटमा राखी काँधमा बोकेर नगरपरिक्रमा गराउने प्रचलन थियो । खटयात्रालाई रथयात्रामा रूपान्तरण गरिएयता परम्परागत शैलीको आधुनिक रथमा भगवान् श्रीराधाकृष्णको मूर्ति राखेर नगर परिक्रमा गराउने गरिएको श्रीराधाकृष्ण समारोह समितिका अध्यक्ष कैलाश रेग्मीले बताए । पहिला प्यागोडा शैलीमा निर्माण गरिएको रथको लम्बाई २२ फिट, चौडाइ १४ फिट र उचाइ १८ फिट रहेको थियो । रथ तान्नका लागि रथको अग्रभाग जुवाको दुवैतर्फ ७५ फिट लम्बाइको डोरी राखिन्छ । मन्दिरका अध्यक्ष रेग्मीका अनुसार झण्डै दुई सय क्यूफिट सखुवा र सिसौको काठ, दुई हजार केजी फलाम प्रयोग भएर नयाँ रथ निर्माण हुने छ । हालसम्म रथको डायस दुई हजार केजी फलामबाट निर्मित भइसकेको छ । नयाँ बन्ने रथ २१ फिट अग्लो, १४ फिट चौडा र १९ फिट लम्बाईको हुने छ । फलामका चक्कासहित बनेको डायसमा चार वटा काठको पिलर गाडेर मन्दिर निर्माण हुनेछ । भईरहेको रथ समयक्रमसँगै सानो भएपछि नयाँ रथ निर्माण गर्नु परेको अध्यक्ष रेग्मी बताउँछन् ।

रथयात्राको क्रममा श्रद्धालुहरूको अत्यधिक भीड हुने गरेका कारण त्यसलाई व्यवस्थित गर्न रथको दायाँ भागमा पुरुष र बायाँ भागमा महिलाका लागि रथ तान्ने स्थान निर्धारण गरिएको छ । रथको अग्र भागमा विभिन्न जातजाती, सम्प्रदाय, धर्म एवम् संस्कृति झल्कने झाँकी एवम् भजन मण्डलीहरूको ताँती रहने गरेको आयोजकले जनाएको छ ।
विराटनगरमा निकालिने रथयात्रालाई दक्षिण एसियाकै दोस्रो ऐतिहासिक रथयात्रा मान्ने गरिन्छ । भारतको जगन्नाथपुरीमा निकालिने रथयात्रा पछिको दोस्रो ठूलो विराटनगरकोलाई मान्ने गरिएको अध्यक्ष रेग्मी बताउछन् । रथयात्राको अवलोकन गर्न नेपालका विभिन्न जिल्ला र छिमेकी मुलुक भारतबाट समेत भक्तजन आउने गरेका छन् । आयोजकको दाबी अनुसार हरेक संस्करणमा करिब ५ लाख हाराहारीमा भक्तजनको सहभागिता हुने गरेको छ । रथ हेर्नकै लागि टाढाटाढाबाट मानिसहरू आउने गरेको आयोजकको भनाई छ । मोरङ, सुनसरी, झापा, सप्तरी तथा भारतको विभिन्न स्थानबाट भक्तजनहरू आउने गरेको अध्यक्ष रेग्मीको भनाई छ । उनले भने,‘ भारतको उडिसाबाट समेत भक्तजनहरू आउने गरेको हामीले पाएका छौं ।’
जगन्नाथ रथयात्रा
विराटनगरमा निकालिने राधाकृष्ण रथयात्रालाई जगन्नाथ रथयात्रासँग तुलना गरिने गरेको छ । भारतको ओडिशा राज्यको पुरीमा जुन २७ मा मनाइने जगन्नाथ रथयात्रा अन्तरधार्मिक एकता र सद्भावनाको एक अनुपम उदाहरण बनेको छ । यो विश्वको सबैभन्दा ठूलो धार्मिक जुलुसहरूमध्ये एक हो जसले करोडौं भक्तजनलाई आकर्षित गर्छ । जगन्नाथ मन्दिरका अधिकारीहरूका अनुसार यस रथयात्राको विशेषता यो छ कि सबै धर्म र आस्थाका मानिसहरूले देवताहरूको दर्शन गर्न र जुलुसमा भाग लिन सक्छन् । सामान्य दिनहरूमा मन्दिरभित्र प्रवेश गर्न नपाउने व्यक्तिहरूले पनि रथयात्राको समयमा भगवानको दर्शन गर्न सक्ने व्यवस्था गरिएको हुन्छ ।
जगन्नाथ रथयात्रा केवल एक धार्मिक पर्व मात्र नभएर भारतीय संस्कृतिको “वसुधैव कुटुम्बकम“ को आदर्शलाई साकार पारेको छ । यसले सबै जाति, धर्म र समुदायका मानिसहरूलाई एकैठाउँमा ल्याएर विश्व एकताको संदेश फैलाउन मद्दत गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
धर्मसँग जोडिएका योजनामा समानुपातिक बजेट
विराटनगरको रथ यात्रा धार्मिक सहिष्णुताको अनुपम नमुनासँगै नेपाल कै गौरवको पर्वको रुपमा स्थापित भए पछि सरकारले यसको संद्धधन र सौन्दर्यकरणका लागि बार्षिक बजेटसमेत विनियोजन गदैं आएको छ । यो कोशी प्रदेश सरकारले विराटनगरको वडा नम्बर १ श्रीराधाकृष्ण मन्दिर परिसरमा सामुदायिक भवन निर्माण गर्नका वहुबर्षीय योजना अन्तर्गत विनियोजित २ करोड बजेटबाट काम सुरु गरिएको मन्दिरका अध्यक्ष रेग्मीले बताए ।
कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट बिनियोजन हुने बजेटमा बहुधार्मिक पर्यापर्यटन प्राथमिकीकरण हुने गरेको छ । नेपाल बहुजाति, बहुसंस्कृति र बहुसामुदायिक बसोबास भएका कारण र संविधानले सबैलाई समान हेरेका कारण पनि जिल्लागत रुपमा बहुसाँस्कृतिक महत्वका योजना समेटिने गरिएको मन्त्रालयका सचिव बिशाल घिमिरे बताउँछन् ।
उनले जिल्लागत रुपमा केहि जिल्लाको उदाहरण दिदैं भने चालु आर्थिक वर्षको बजेटमा उदयपुरको गाईघाट–१ मा किराँत साँस्कृतिक सामुदायिक भवन, रौतामाई गाउँपालिका–७ मा कर्मसाङ्गे छेयालिङ्ग गुम्बा, रौतामाई–७ मुर्कुचीमा जनजाती संग्राहालय र त्रियुगा नगरपालिका–१२ श्रीमद भागवत धर्म एवं भक्ति साधना शान्तिधाम समेटिएका छन् । उनका अनुसार एउटै जिल्ला भित्र यति धेरै जातजाति र धर्म संस्कृतिको सम्वद्र्धन गर्ने योजना समेटिनु धार्मिक एकताको भाव पैदा गर्नु हो । उदयपुरका लागि १६ योजना समेटिदाँ ५० प्रतिशत बहुधार्मिक छन् ।
मन्त्रालयले चालु आर्थिक वर्षमा १२२ योजना समेटेको छ । जसमा एकल धर्म नभई बहुधार्मिक महत्वका योजना समेटिएका छन् । उदयपुर मात्रै नभई ताप्लेजुङका तीन योजना अन्तर्गत पाथीभरा जाने बाटो अन्तर्गत फुङलिङ्ग–१० मा बुद्ध पार्क निर्माण र पाथीभरा माता पर्यटन पूर्वाधार निर्माणसहित छन् । इलाममा आदिवासी संग्राहालय निर्माणदेखि श्रीअन्तु पर्यटक पूर्वाधार विकास, उर्गेन छोलिङ्ग गुम्बा निर्माणका योजना समेत राखिएका छन् ।
यसैगरी झापाको कमल गाउँपालिकामा आदिवासी जनजाती स्मृति पार्क, तुषो हेमरम प्रतिष्ठान पर्यटन पूर्वाधार लगायतका छन् । मोरङमा राजबंशी पर्यटन पूर्वाधार निर्माण, मुसाफिर खाना भवन समेटिएका छन् । सुनसरीको धरान १५ मा सद्भावना पार्क निर्माण, किराँत धर्मसंघ नेपालको चुला मन्दिर निर्माण रहेका छन् । सचिव घिमिरेले सरकारले धार्मिक आस्थालाई समान मान्दै सबैको सम्र्वद्धन र प्रवद्र्धनमा समान आँखाले हेर्ने गरेको बताए ।
५४ औं संस्करणको रथयात्रादेखि ९ किलोमिटर रथ यी स्थानहरुमा विश्राम गरिन थालिएको छ ।
१) राधाकृष्ण मन्दिरबाट रथ प्रस्थान
२) तीनपैनी चौक
३) धनावत निवास अगाडी
४) शंकरपुर जाने मोड
५) विराटेश्वर महादेव मन्दिर
६) महानगरपालिका चौक
७) गोल्छा चौक
८) वडा प्रहरी कार्यालय
९) सत्यनारायण मन्दिर
१०) सातघुम्ती मोड
११) जैन भवन
१२) लक्ष्मी सनराइज बैंक
१३) जलजला मोड
१४) काली मन्दिर
१५) बाटा गल्ली चौक
१६) पञ्चमुखी हनुमान मन्दिर
१७) राष्ट्रिय वाणीज्य बैंक
१८) कर कार्यालय
१९) ट्राफिक चौक
२०) संसारी माईस्थान
२१) एक्वा पार्क जाने मोड
२२) भूमि प्रशासन चौक
२३) रोडशेष चौक
२४) कलेज मोड
२५) बसपार्क
२६) महेन्द्र चौक
२७) एनआईडोसी भवन अगाडी
२८) सरौचिया चौक
२९) महाबीर रोड चौक
३०) शनिमन्दिर चौक
३१) भाटभटेनी सुपरमार्केट अगाडी
३२) शिवमन्दिर चौक
३३) सत्यनारायण मा.वि.
३४) भृकुटी चोक
३५) बिद्युत प्राधिकरण
३६) विराट नर्सिङ होम चौक
३७) मुनालपथ चौक
३८) बरगाछी चौक
३९ ) बासुकीनाथ मन्दिर मोड
४०) शंखरपुर जाने बाटो मोड
४१) दुर्गा चौक
४२) पानी ट्यांकी चौक
४३) राधाकृष्ण मन्दिरमा रथ विश्राम