फिल्म छायांकनबाट पर्यटक बोलाउँछ इलाम

<span class='c1'>फिल्म छायांकनबाट पर्यटक</span> <span class='c2'>बोलाउँछ इलाम</span>

प्रेम देवान (लुङवा)
इलाम । पूर्वी नेपालको हरित नगर चियाबारीले सिंगारिएको पर्यटकीय नगरी इलाम पछिल्लो समय सिने क्षेत्रका लागि पनि एक आकर्षक गन्तव्यको रूपमा उदाउँदै गएको छ । यहाँको प्रकृति, मौसम, सांस्कृतिक विविधता र शान्त परिवेशले चलचित्र निर्माता, निर्देशक र कलाकारलाई लोभ्याएको छ । जसका कारण आज इलाम केबल घुम्ने ठाउँ मात्र नभएर सिने पर्यटनको केन्द्रका रूपमा स्थापित हुँदै गएको छ ।

वि.सं. २०६० साल यता एकपछि अर्को गर्दै इलाममा नेपाली सिनेमा तथा म्युजिक भिडियोहरूको छायांकन उल्लेखनीय रूपमा बढेको पाइन्छ । नेपाली चलचित्र उद्योगका चर्चित चलचित्रहरू—जस्तै ‘दुई कदम’, ‘साथी’, ‘मेरो एउटा साथी छ’, ‘हाईवे’, ‘म यस्तो गीत गाउँछु’, ‘एन्जिला’, ‘कृष्ण लिला’, ‘नोटबुक’, ‘क्याप्टेन’ लगायत १५–२० वटा चलचित्र इलामको विभिन्न रमणीय स्थानहरूमा सुटिङ भइसकेका छन् ।

पुराना कलाकारहरूमध्ये वरिष्ठ अभिनेत्री बसुन्धरा भुसालले पनि फिल्म ‘साथी’ को छायांकन अनुभवलाई स्मरण गर्दै इलामलाई चलचित्र छायांकनका लागि उपयुक्त गन्तव्य भएको बताउँनुभयो । उहाँले भन्नुभयो, ‘इलामको कन्याम, फिक्कल, श्रीअन्तु जस्ता स्थानहरू प्राकृतिक सौन्दर्यले भरिएका छन् । यहाँ छायांकन गर्दा कलाकार मात्र होइन, सम्पूर्ण टोली एक किसिमको ताजगी र प्रेरणाले भरिन्थ्यो ।’ फिल्म छायांकनको बेलामा मात्रै नभएर अन्य बेलामा पनि आफुहरु उक्त ठाँउमा भ्रमणको लागि आएको भुसालले सुनाउनुभयो ।

कसैले इलामको नाम सुनेको नहुन सक्छ, तर अन्तु डाँडाबाट उदाउँदै गरेको सूर्य हेर्दै गरिएको अभिनय दृश्य, चियाबारीमा दौडिएर खिचिएको रोमान्टिक गीत, वा माइपोखरीको शान्त छाँयामा लिइएको सन्देशमूलक दृश्यले पर्यटकलाई बोलाइरहेको हुन्छ । कुनै बेला ठूूला फिल्म, म्युजिक भिडियो फोटो सेसन मात्रै सुटिङ हुन्थे भने अहिले आएर टिकटक र रिल बनाउन कै लागि भए पनि इलामसम्म पुग्ने गरेका छन् ।

मौलिक तथा प्राचिन सम्पदा भएको स्थानहरुमा चलचित्र छायाँकन गर्यो भने त्यहाँको रोजगारी बढ्ने त्यहाँको सुन्दरताको आर्कषण बढ्ने साथै विदेशी नागरिक भ्रमणको लागि आउन सक्ने चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौलाले बताउनुभयो । इलाम जिल्ला पनि एक उत्कृष्ट फिल्म सुटिङ गर्ने ठाँउ भएका कारण पनि यो ठाँउमा चलचित्रको टिमहरु आयो भने त्यहाँको आर्थिक विकास तथा होटल व्यावसायहरुमा राम्रो टेवा मिल्ने अध्यक्ष निरौलाको भनाई छ ।

सिनेमाले फैलाएको पर्यटनको सन्देश
इलाममा छायांकन गरिएका चलचित्रहरूमा देखिएका दृश्यहरूले पर्यटनलाई इलाम तानिरहेको छ । चलचित्र पत्रकार संघ नेपालले इलामको श्रीअन्तुमा गत जेठ ६ गतेदेखि ९ गतेसम्म आयोजना गरेको तीन दिने सिने पर्यटन कार्यक्रमले इलामको साँख झन बढाएको छ । कार्यक्रमका संयोजक तथा संघका अध्यक्ष समिर बलामीले भन्नुभयोे–‘जब कुनै चलचित्र वा म्युजिक भिडियोमा कुनै ठाउँको सुन्दर दृश्य देखिन्छ, दर्शकहरू त्यस ठाउँमा जान प्रेरित हुन्छन् । यसैले छायांकन स्थलहरू पर्यटकीय गन्तव्य बन्न थालेका छन् ।’

त्यसैगरी चलचित्र विकास बोर्डले पनि इलाममा बाल चलचित्र महोत्सव र सेलेव्रिटीसँग बालबालिका कार्यक्रम आयोजना गरेको छ । प्रदेश सरकार र नेपाल टुरिजम बोर्डको प्रवर्धनमा इलाम नगरपालिकाको विशेष सहयोगमा बाल चलचित्र महोत्सव २०८२ जेठ ५ गतेदेखि १० गते सम्म आयोजना गरिएको कार्यक्रममा फिल्म क्षेत्रका अग्रज व्यक्तित्वहरुको सहभागिता समेत रहेको थियो । इलाम जिल्लालाई छायाकंन मात्र नभएर फिल्म सम्बन्धी गोष्ठीहरु पनि हुन थालेका छन् । यसले गर्दा पनि स्थानिय स्तरका व्यावसायमा आशा र उत्साह जगाएको स्थानीय व्यवसायी रामकुमार साहले बताउनुभयो ।

चलचित्रकर्मी संघ कोशी प्रदेशका अध्यक्ष केवल तामाङले ‘आमा’ ‘दुई कदम’, ‘साथी’, ‘मेरो एउटा साथी छ’, ‘हाईवे’, ‘म यस्तो गीत गाउँछु’, ‘एन्जिला’, ‘कृष्ण लिला’, ‘नोटबुक’, ‘क्याप्टेन’ जस्ता चलचित्रहरू इलाममै छायांकन गरेको बताउनु भयो । ‘यी फिल्महरूका दृश्यले दर्शकलाई इलामसम्म र्पुयाउने काम गरेका छन् ।’ ‘कृष्ण लिला’ लगायत आफ्ना आधा दर्जनभन्दा बढी म्युजिक भिडियोहरू इलाममा निर्माण गरेको अनुभव बाँड्दै भन्नुभयोे, ‘इलाममा अब्बल लोकेशन छ तर उपयुक्त पूर्वाधारको कमीले अझ धेरै टोली आउन सकेका छैनन् ।’

चलचित्रको दृश्य, संस्कृति, पहिरन, परिदृश्य, जीवनशैली आदिले दर्शकमा चासो उत्पन्न बनाए पछि पनि मन सबैको खिच्ने भएकाले त्यो स्थानलाई रोज्ने पहिलो उद्देश्य फिल्मकर्मीहरुको हुन्छ । पछिल्ला नेपाली सिने क्षेत्रले स्थानिय स्तरका प्राकृतिक सौन्र्दयतासँगै स्थानिय भाषा, संस्कृति, तथा जीवनशैलीमा तयार पारिएका सिनेमाहरुले पनि त्यहाँको पहिचान झल्काएको तामाङ बताउँनु हुन्छ । ती सिनेमाका दृष्यहरुले एक पटक त्यो ठाँउमा पुग्नुपर्छ भन्ने भान बनाइदिने गरेको नेपाल चलचित्रकर्मी संघ कोशी प्रदेशका अध्यक्ष तामाङको बुझाई छ ।

उदाहरणको लागि कवडी कवडी , जारी , घर ज्वाई , मनसरा, उनको स्वीटर, राई माईला जस्ता फिल्महरुले धेरै दर्शकहरुलाई सो क्षेत्रमा छायांकन गरिएको स्थानसम्म पर्यटनको रुपमा पुर्याइसकेको छ । आफैले पनि निर्माण गरेको कृष्ण लिला फिल्म लगायत आधा दर्जन बढी म्युजिक भिडियो इलाममा निर्माण गरिसकेको तामाङले बताउनु भयो । तर छायाकंनको लागि उपयुक्त भौतिक संरचना नभएका कारण समस्या भएको उहाँको भनाई छ । राज्यले ती छायाकंन हुने स्थानहरुलाई चलचित्रमैत्री बनाउनुपर्ने समेत उहाँले सुझाउनु भएको छ ।

सिने पर्यटन र स्थानीय रोजगारी
इलामका व्यवसायीहरूका अनुसार सिने पर्यटनले स्थानीय अर्थतन्त्रमा प्रत्यक्ष प्रभाव पार्न थालेको छ । कन्यामस्थित केभीएस रिसोर्टकी महाप्रबन्धक जिया खनाल भन्नुहुन्छ, ‘पहिला सय–दुई सय पर्यटक आउने इलाममा अहिले हजारौँ पर्यटकले भरिएको देखिन्छ । फिल्मका दृश्य हेरेर आउने पर्यटकहरू होटल बुक गर्छन, खाना खान्छन्, स्थानीय सेवा प्रयोग गर्छन् । जसले आम्दानी वृद्धि भएको छ ।’
भारतको दार्जिलिङ, सिक्किम, सिलगुडीलगायत स्थानबाट समेत भारतीय पर्यटक इलाम आइपुग्ने क्रम बढेको खनालको भनाइ छ । साथै, स्थानिय युवा गाइड, ट्रेकिङ सहायक, सवारी चालकजस्ता सेवामा रोजगारीमा आवद्ध भएको उहाँको भनाई छ ।

सिने क्षेत्र पर्यटन भन्नाले कुनै चलचित्र छायांकन भएका स्थलहरूमा पर्यटकहरू आकर्षित हुने प्रवृत्तिलाई जनाइन्छ । जब कुनै चलचित्र कुनै स्थानमा छायांकन हुन्छ र त्यसले दर्शकको मन जित्छ, तब ती दर्शकहरू त्यो स्थान प्रत्यक्ष हेर्ने चाहनाले त्यहाँ जान थाल्छन् यसै कारण, चलचित्र छायांकन स्थल पर्यटकीय गन्तव्य बनिरहेको हुन्छ ।

स्थानीय तहको तयारी के छ ?
इलामको सुर्योदय नगरपालिका नगर प्रमुख रणबहादुर राईले इलाम जिल्ला सिने छायांकनका लागि उपयुक्त गन्तव्य बन्दै गएको बताउनुभयो । नगर प्रमुख राईका अनुसार इलामको प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र सहज प्रशासनिक प्रक्रिया सिने क्षेत्रका लागि महत्वपूर्ण विशेषता बनेका छन् । नगर प्रमुख राईले भन्नुभयो, ‘इलामको श्रीअन्तुमा फिल्म छायांकन गर्न चाहने कलाकार, निर्देशक र प्रोडक्सन टिमलाई नगरपालिका स्तरबाट आवश्यक सहजीकरण गरिन्छ । अनुमतिदेखि लिएर आवास, यातायात र सुरक्षा सम्वन्धी सम्पूर्ण पक्षमा नगरपालिकाले सहयोग गर्छ ।’

उहाँका अनुसार इलाममा रहेका पहाडी भू–भाग, हरियाली चिया बगान, झरना, मठ–मन्दिर, पुराना बस्ती र हिमाल देखिने दृश्यावलीले नेपाली मात्र होइन, विदेशी चलचित्र निर्माताहरूको पनि ध्यान खिचिरहेको छ । भारत र भुटानदेखि एक दिनमा आउन सकिने भएका कारण पनि इलाम जिल्ला सबैको रोजाई बन्न थालेको राईले बताउनुभयो । ‘छायांकन टिमका लागि होटल र होमस्टे सुविधा उपलब्ध छ, स्थानीयहरु पनि सिने पर्यटनलाई स्वागतको लागि सधैँ तयार छन् ।’ यसका साथै यहाँका युवाहरू फिल्म निर्माण प्रक्रिया सिक्न इच्छुक छन, जसले आगामी दिनमा सिने–इलामको सम्भावना अझ उज्यालो बनाउँछ ।’

इलाम नगरपालिकाले आगामी दिनमा सिने पर्यटनलाई प्रवद्र्धन गर्न विभिन्न नीतिहरू ल्याउने तयारी गरेको पनि नगर प्रमुख राईले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, ‘हामीले सिनेमा छायांकनमार्फत पर्यटन प्रवद्र्धन गर्ने दीर्घकालीन योजना बनाएका छौं, र त्यसअनुसार पूर्वाधार विस्तार तथा सहजीकरणमा काम भइरहेको छ ।’ नगरपालिकाले सिने युनिटलाई सहज वातावरण सिर्जना गर्न फिल्म फ्रेन्डली नीति ल्याउने तयारी गरिरहेको छ । छायांकन अनुमति, सुविधाजनक ट्राभल मार्ग, सञ्चार सेवाको पहुँच र होमस्टे स्तरको स्तरोन्नति जस्ता विषयमा नगरपालिकाले जोड दिने नगर प्रमुख राईले बताउनुभयो ।

कोशी प्रदेश सरकारको लगानी
कोशी प्रदेश सरकारले पनि सिने पर्यटनको सम्भावना देखेर आवश्यक नीतिगत ढाँचा तयार पारिरहेको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयका उपसचिव चुणामणि लुइँटेलका अनुसार प्रदेश सरकारले इलाम, पाँचथर, ताप्लेजुङ, धनकुटा, भोजपुर, तेह्रथुमलगायत सिनेमैत्री सम्भावना भएका स्थानहरूलाई प्रोत्साहन गर्न रणनीति बनाएको छ । उहाँले भन्नुभयोे–‘सिनेमाका दृश्यले पर्यटन प्रवद्र्धनमा सहयोग गर्छन् भन्ने बुझेर हामीले नीतिमा प्रचार–प्रसार, पूर्वाधार विकास र स्थानीय जनसहभागितालाई प्राथमिकता दिएका छौँ ।’

पर्यटन वन तथा वातावरण मन्त्रालय कोशी प्रदेशका सचिव विशाल घिमिरेका अनुसार, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि पर्यटन प्रवद्र्धनमा १० करोड रुपियाँ, र ५ करोड ५० लाख रुपियाँ पदमार्ग विकासमा विनियोजन गरिएको छ । ‘हामी दीर्घकालीन रणनीतिअन्तर्गत प्रमुख गन्तव्यहरू विकास गर्न लागेका छौँ । पूर्वमा सिनेमा सुटिङका अन्य उत्कृष्ट स्थल पहिचानका लागि पनि प्रदेश सरकारले स्थानीय तहसँग सहकार्य गरेर काम गरिरहेको घिमिरेले बताउनुभयो ।

इलाममा सिने पर्यटनको सम्भावना निकै उज्यालो देखिएता पनि केही चुनौतीहरू पनि रहेका छन् । चलचित्रकर्मी तामाङ भन्नुहुन्छ–‘इलाम जति सुन्दर छ, त्यति नै अलिकति उपेक्षित पनि छ । छायांकनको लागि आवश्यक पूर्वाधार—जस्तै स्टुडियो, ठूला होटल, यातायात सुविधा आदिको अभाव छ ।’ उनले राज्यले इलामलाई सिनेमैत्री क्षेत्र घोषणासहित बजेटमा प्रोत्साहन दिनुपर्ने धारणा राख्नु भएको छ ।
दोस्रो चुनौती हो, प्रचारको कमी । धेरै फिल्म इलाममा छायांकन भए पनि त्यसको उचित ब्राण्डिङ गरिएन । ‘लहानको माल्द आँप’ झैँ ‘इलामको चियाबारी’, ‘श्रीअन्तुको सूर्र्योेदय’ वा ‘कन्यामको सिनेमाटिक दृश्य’ भन्ने शैलीमा प्रचार हुन सके सिने पर्यटन थप तीव्र हुने सरोकारवालाहरुको भनाई छ ।

आज सिनेमा मनोरञ्जनको माध्यम मात्रै छैन । यो एक शक्ति हो, जसले कुनै ठाउँलाई विश्वसामु चिनाउन सक्छ । सिने पर्यटनको अवधारणाले इलामलाई एउटा छुट्टै पहिचान दिइरहेको छ । चलचित्रले मानिसलाई केवल कथा सुनाउँदैन, त्यो कथा देखाइएको ठाउँमा पु¥याउने पुल पनि बनाउँछ ।

यदि राज्यले इलामजस्ता सम्भावनायुक्त क्षेत्रहरूमा आवश्यक पूर्वाधार विकास, प्रचार, र सहजीकरणमा ध्यान दियो भने, इलामले निकट भविष्यमा सिने पर्यटनको सफल नमूना बन्नेछ । जहाँ नेपाली चलचित्र मात्र होइन, अन्तर्राष्ट्रिय स्तरका फिल्म पनि सुटिङ हुने बरिष्ठ कलाकार भुसालले बताउनु भयो । यसले केवल इलामको विकासमा मात्र टेवा र्पुयाउनेछैन सिङ्गो कोशी प्रदेश र नेपालकै पर्यटन अर्थतन्त्रमा नयाँ आयाम थप्ने उहाँको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्