विराटनगर । मोरङको बेलबारी नगरपालिकामा उपप्रमुखलाई बाइपास गरेर खर्चिएको हिसाब माग्दै पुगेका युवाहरुलाई प्रमुखले बिहीबार झम्टिएका छन् । बेलबारीका युवाहरु नगरपालिकाको हिसाब माग्दै पुगेका बेला प्रमुख दिलप्रसाद राई आक्रोशित भएका हुन् ।
नगरपालिकामा लेखाप्रमुख धनमाया राईले नगर उपप्रमुख नितु थापा (कोईराला) लाई नगरपालिकाबाट खर्च भएको शिर्षकको बजेट लुकाएपछि विवाद हुँदै आएको थियो । यो विवाद चर्किरहेको बेला बिहीबार बेलबारीका युवाहरु लेखा प्रमुख राईसँग हिसाब माग्दै पुगेका थिए । त्यस क्रममा विवाद हुँदा ताला लगाउने स्थितिमा पुगेका थिए ।
ताला लगाउने भन्दै ढोकामा काँटी ठोक्न थालेपछि प्रमुख राईले अराजकता मच्चाउने भन्दै उनीहरुलाई झम्टिएका थिए । उनी कुटपिट गर्ने शैलीमा बढिरहेको बेला नगर प्रहरी र कर्मचारीले रोकेका थिए । प्रमुख राईले उपप्रमुखले चलाएको हल्लाको पछाडी लागेर अराजक मच्चाउन आएको आरोप लगाए । उनले भने–काँटी ठोक्दै थिए, रोके. अनि काँटी उखालिदिए ।
नगर उपप्रमुख कोइरालालाई भने लेखा अधिकृत राईले हिसाब किताब नै नदिने गरेको गुनासो छ । कोइरालाका अनुसार एकवर्षदेखि नगरपालिकाबाट बिनियोजन भएको बजेटको खर्च शिर्षक माग्दा समेत गोपनियता भङ्ग हुने भन्दै नदिने गरिएको हो । बारम्बार माग्दा समेत नदिएपछि उपप्रमुख कोइरालाले कार्यपालिका बैठकमा समेत हिसाब मागेको सुनाइन् । तर, त्यहाँ नगर प्रमुख सधैं मौन बस्ने र वडा अध्यक्षहरुले पक्ष÷विपक्षमा विभाजन भएर कुरा राख्ने गरेको सुनाइन् ।
खासमा नगर उपप्रमुखको अधिकार कुण्ठित गर्दै प्रमुखले मनमौजी रुपमा छात्रवृत्ति तथा प्रोत्साहनको रकम वितरण गर्ने गरेको आरोप छ । नागरिकले कहाँ र कसरी पाइरहेका छन् भनेर बुझ्न जाँदा लेखा प्रमुखले सधैं रोक्ने गरेको भन्दै उनले गुनासो गर्दै आएकी छिन् । उपप्रमुख कोइरालाले नगरपालिकाको उपप्रमुखले खर्च भएको रकमका विषयमा जानकारी लिन नसक्ने अवस्था सिर्जना गरेर भित्रभित्रै मनमौजी भईरहेको आशंका गरिन् ।
उनले भनिन्–कानुनी परामर्श समेत गरिरहेकी छु, नागरिकले जवाफ पाउने गरी हिसाब सार्वजानिक गर्ने अवस्थामा पुग्नेछु । उनले उपप्रमुखलाई हिसाब नै बुझ्न नपर्ने व्यवस्था नभएको जस्तो आफूलाई लाग्ने बताइन् । उनले भनिन् अब नागरिक तहबाट यसको हिसाब माग्न सुरु भएको छ, त्यसैले संस्थागत पारदर्शिता बाहिर ल्याउनुपर्छ भन्ने मेरो माग छ ।