विराटनगर । सेयर कारोबारी दिपेन्द्र अग्रवाललाई सोमबार काठमाण्डौंमा प्रहरीले पक्राउ गरेपछि विराटनगरमा समेत उनीसँग पीडित भएकाहरुले कारवाहीको माग गरेका छन् । उनको पुरानो कारोबार विराटनगरमा छ । विराटनगर सातघुम्तीमा घर र कपडा पसल अहिले पनि सञ्चालनमा रहेको छ ।
सेयर कारोबार गर्न उनले विराटनगरमा प्रज्ञान सेक्युरिटी सञ्चालन गर्दै आएका थिए । त्यहि बेला उनी मेघा बैंकको डाइरेक्टर समेत थिए । मेघा बैंकको सेयरसँग सम्बन्धित एउटा सुचना लिक गरेपछि उनको प्रज्ञान सेक्युरिटी नेपाल स्टक एक्सचेन्जले बन्द गरिदिएपछि उनी काठमाण्डौं सिफ्ट भएका थिए ।
तीन महिना अगाडी दिपेन्द्रले काठमाण्डौंमा घर बनाएर सरेका थिए । उनका भाइ नरेन्द्र अग्रवाल समेत उनीसँगै थिए । तर, गैरकानुनी काम गरेर रकम आर्जन गरेपछि अनुसन्धान हुनसक्ने संभावनाबाट पारिवारिक सम्पति जोगाउन उनीहरु अलग–अलग भएका थिए ।
खासमा दिपेन्द्रले विराटनगरमा प्रज्ञान सेक्युरिटी हुँदा मेघा बैंकको सेयर जारी हुने सुचना पहिल्यै लिक गर्नेदेखि हावाबाजी काण्ड मच्चाउन थालेको आरोप उनलाई नजिकबाट बुझ्नेहरु बताउँछन् । उनले अहिले पनि धेरैवटा सेक्युरिटीको रकम बुझाउन बाँकी रहेको छ । उनी इन्स्योरेन्स कम्पनीसँगको विवादमा समेत फसेका थिए । रकम डुबाएर फरार भएका उनले पछि कारोबार मिलाएका थिए ।
उनले श्रीकृष्ट सेक्युरिटी र सिप्ला सेक्युरिटीसँगको कारोबार समेत मिलान नगरेको आरोप छ । उनी सोझा लगानीकर्तालाई फसाउने योजनावद्ध काम गर्ने गरेका थिए । गैरकानुनी रुपमा भाइबर र वाटसप ग्रुप बनाउने । अनि कुनै कम्पनीको दाम दुईसय छ भने उनीहरुले किन्ने । अनि गैरकानुनी ग्रुपबाट त्यसको हावाबाजी प्रचार बढाउने गर्दथे । एक हजारसम्म पुग्छ भनेपछि सर्वसाधारणले शेयर खरिद गर्दथे ।
कुनै कम्पनीको नेटवर्थ रेट १५० हुँदा उनले दुईसयमा खरिद गर्ने र गैरकानुनी ग्रुपमार्फत चारसय पुगेको हल्ला चलाउँथे । अनि सोझा लगानीकर्ताले ५०० मा किन्थे । त्यसपछि उसँगको सकिन्थ्यो, अनि बाँकी फस्थे । उनलाई अहिले काठमाण्डौं प्रहरी परिसरले नियन्त्रणमा लिएर अनुसन्धान गर्दै आएको छ । उनी विरुद्ध विभिन्न सेक्युरिटी कम्पनीसहित सर्वसाधारणको २२ करोड रकम ठगी गरेको आरोप छ । उनी विरुद्ध धितोपत्र बोर्डले समेत अनुसन्धान गरिरहेको छ ।
सेयर बजारमा धेरै लगानीकर्ताले ‘आदर्श’ मान्ने गरेका अग्रवालले सस्तोमा सेयर खरिद गर्ने र महँगोमा बिक्री गर्ने गर्दै आएका थिए । उनी आफूले सेयर खरिद गरिसकेपछि समाजिक सञ्जाल मार्फत लगानीकर्तालाई खरिद गर्न लगाउने र मूल्य नै तोकेर यति पुर्याउने भन्दै झुट्टा अस्वासन दिने गर्थे । सेयर लगानीकर्ताले खरिद गर्न थालेपछि भने अग्रवाल आफ्नो सेयर बिक्री गर्थे ।
त्यसैगरी अग्रवालले १५ वटा कारोबार व्यवस्थापन प्रणाली ९टीएमएस० खाता चलाउने गर्थे । उनले ती खातामार्फत आफैं खरिद गर्ने र आफैंले बिक्री गरी सेयर मूल्य बढाउने काम गर्दै आएका थिए । सेयर मूल्य निश्चित तहमा पुर्याएपछि उनले सेयर बिक्री गर्थे ।
त्यसैगरी अन्य व्यक्तिका कारोबार खाता पनि आफैं चलाउने र धितोपत्र ब्रोकरसँग लिनुपर्ने पैसा असुल गर्ने तर तिर्नुपर्ने पैसाका सन्दर्भमा अनेक लफडा गरेर भुक्तानी नदिने गरेका थिए ।