विराटनगर । कोशी प्रदेशका १४ जिल्लामा एकवर्षको अवधीमा २ लाख १३ हजार ६९५ वटा सवारी साधनका चालक ट्राफिक प्रहरीको कारवाहीमा परेका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी र मातहत कार्यालयले चालक कारवाहीबाट १६ करोड २९ लाख ७१ हजार ५५१ रुपैँया राजस्व संकलन गरेको हो ।
गत आर्थिक वर्ष २०८१÷२०८२ मा १४ जिल्ला ट्राफिक प्रहरी कार्यालय सहित ९६ वटा ट्राफिक प्रहरी इकाईहरुले २६ हजार २९३ पटक ट्राफिक सचेतनामुलक कार्यक्रम संचालन गरेका थिए । जसबाट ६ लाख १६ हजार भन्दा बढी सवारी चालक, आम सडक प्रयोगकर्ता तथा बिद्यार्थीहरुले सचेत हुने अवसर पाएका थिए ।
ट्राफिक व्यवस्थापन तथा सवारी दुर्घटना न्यूनिकरणको लागी कोशी प्रदेशका मुख्य तथा सहायक मार्गहरुमा ९३२ स्थानमा सिसी क्यामेरा जडान गरीएको छ । झापाको झिलझिले, बिराटनगरको दुधफारम र खार्जीमा नम्वर प्लेट डिटेक्टर सहितको सिसी क्यामेरा जडान गरिएको छ ।
यसैगरी लामो दुरीको सवारी साधन तथा भारतिय नम्वर प्लेटको सवारी जाँचको लागि ६ स्थानमा ट्राफिक कम्युनिकेशन एप सहितको चेकजाँच, सार्वजानिक सवारी साधनको गति नियन्त्रणको लागि २१ स्थानमा टाईम कार्ड ईन्ट्री राखिएको छ ।कोशी प्रदेशमा गतवर्ष ४१८ जनाको ज्यान गएको छ भने ७११ जना गम्भिर र ८ हजार ५३० जना सामान्य घाईते भएको तथ्यांक छ ।