कानेपोखरी गाउँपालिकाको केन्द्र भौंसाबारीमा सार्ने बाटो खुल्यो

<span class='c1'>कानेपोखरी गाउँपालिकाको केन्द्र भौंसाबारीमा</span> <span class='c2'>सार्ने बाटो खुल्यो</span>

विराटनगर । मोरङको कानेपोखरी गाउँपालिकाको केन्द्र ६ नम्बर वडाको रमाइलोबाट नम्बर वडाको भौंसाबारी सार्ने बाटो खुलेको छ । साविक रमाइलोमा रहेको केन्द्र सार्ने निर्णयमा विवाद उत्पन्न भएको थियो । प्रमुख प्रशासकीय भवनसहित पालिकाको केन्द्र सार्ने विवाद सर्वोच्च अदालतबाट टुङ्गिएको हो । कानेपोखरी गाउँपालिका, प्रदेश र संघ सरकारले गरेको निर्णयको विरुद्धमा सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भएको थियो ।

उक्त निवेदनको आइतबार अन्तिम सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय कुमार चुँडाल र शान्तिसिंह थापाको इजलाशले रिट निवेदन नै खारेज हुने फैसला गरेका हुन् । सर्वोच्चको यो फैसलासँगै अब प्रमुख प्रशासकीय भवन निर्माण गर्न र केन्द्र सार्न पालिकालाई बाटो खुलेको छ ।
कानेपोखरी ६ का रोमन पराजुली समेत ४ जनाले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, कोशी प्रदेश सरकार, कानेपोखरी गाउँपालिका, गाउँपालिका कार्यपालिकाको कार्यालय, पालिका अध्यक्ष राजमती इङ्नाम र प्रमुख प्रशासकीय अधिकृत विरुद्ध सर्वोच्च अदालतमा २०८१ फागुन १३ गते रिट दर्ता गरेका थिए ।

सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको इजलाशले २०८१ फागुन १५ गते कारण देखाउ आदेश जारी गर्दै अन्तरिम आदेशको विषयमा छलफललाई निरन्तरता दिएका थिए । यस्तै २०८१ चैत २० गते न्यायाधीश डा. मनोजकुमार शर्मा र टेकप्रसाद ढुङ्गानाको इजलाशले अन्तरिम आदेश जारी नहुने र रिट निवेदनलाई अग्राधिकार दिने आदेश गरेको थियो ।

कानेपोखरी गाउँपालिकाको गाउँसभाले २०८० वैशाख १७ गते कानेपोखरी ६ स्थित रमाइलो बजारमा रहेको प्रमुख प्रशासकीय अधिकृत भवनसहितको केन्द्र वडा नम्बर ५ को भौंसाबारीमा सार्ने निर्णय गरेको थियो । भवनसहित केन्द्र सार्नका लागि बैठकमा ३४ जनाले मतदान गरेका थिए । जसमा भवन सार्ने पक्षमा २७ र भवन हाल रहेको स्थानमा यथावत राख्ने पक्षमा ७ जनाले मतदान गरेका थिए । केन्द्र स्थापनाको लागि भौंसाबारीमा पालिकाले १ विगाहा जग्गा २ करोड ५ लाखमा खरिद गरेको थियो ।

सोही निर्णयको आधारमा २०८० माघ २९ गते कोशी प्रदेश सरकारले प्रशासकीय भवन सार्ने पालिकाको निर्णयलाई स्वीकृत गर्दै संघ सरकारलाई सिफारिस गर्ने निर्णय गरेको थियो । संघीय सरकारले २०८१ पुस १६ गते सो निर्णयको अनुमोदन गरेपछि त्यसका विरुद्ध सर्वोच्चमा निवेदन परेको थियो ।

गाउँपालिकाको केन्द्र सार्ने निर्णयको विरद्धमा एमाले मोरङका तत्कालिन जिल्ला सदस्य नविन पौडेलको नेतृत्वमा संघर्ष समिति नै बनेको थियो । कार्यपालिकामा एमालेकै बहुमत पक्षले केन्द्र सार्ने निर्णय गरेपछि भने पौडेललगायत २५० जना एमालेका स्थानीय नेता तथा कार्यकर्ताले राजीनामा दिएका थिए । यसरी राजीनामा दिनेमा गाउँ कमिटी सचिवालय सदस्य तथा ६ नम्बरका वडाध्यक्ष खड्गबहादुर बस्नेत, नेताहरु डिल्ली फुयाँल, अशोक फुयाँललगायत थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्