विराटनगर । दुईदिनपछि अगस्ट २८ देखि ३० सम्म भारतको गुहाटीमा चल्ने ‘रोबो वार्स’ इभेन्टमा विराटनगरका २० वर्षीय अनुभव बस्नेतले प्रतिस्पर्धा गर्ने भएका छन् । बस्नेत अन्तराष्ट्रिय प्रतिस्पर्धामा १५ केजी तौल समूहबाट सामेल हुने भएका हुन् ।

पूर्वाञ्चल विश्वविद्यालको आईटीका विद्यार्थी उनी विराटनगर नर्सिङ होममा सोसल मिडिया सम्हाल्छन् । त्यस बाहेक उनको अन्य कार्यकारी जिम्मेवारी समेत रहेको छ । सानै उमेरदेखि अनुभव सक्रिय रहँदै आएका छन् । आफ्नो पढाइ, जागिर र संगीतमा उतिकै लगाव राख्ने उनी अन्तर्राष्ट्रिय रोबोटिक्स प्रतिस्पर्धामा सामेल हुने चरणमा पुगेका हुन् ।
नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रियस्तरको मैदानमा रोबोट प्रतिस्पर्धामा अब्बल बन्ने उनको लक्ष्य रहेको छ । उनको यात्रा विद्यालय तहदेखि नै सुरु भएको थियो । विराटनगरको आदर्श स्कुलमा पढ्दा विज्ञान प्रदर्शनीका लागि बनाएको एउटा सामान्य ‘हाइड्रोलिक जेसिबी’ले उनलाई मेसिन र प्रविधिको दुनियाँसँग जोडिदिएको हो । उनी साधारण प्रोजेक्टबाट प्रतिस्पर्धी रोबोट बनाउन सक्षमउन्मुख भएका हुन् ।

करिब ६ वर्षअघि उनले ‘टिम डिस्ट्रक्टर’ नामक एउटा समूह बनाएका थिए । रोबोटिक्स प्रतिस्पर्धामा भाग लिने र जित्ने यसको उद्देश्य रहेको थियो । यो टोलीले राष्ट्रिय स्तरमा आयोजना हुने विभिन्न प्रतियोगिताहरूमा आफ्नो बलियो उपस्थिति जनाउँदै आएको छ ।
हालसम्म रोबो वार्स, रोबो रेस र रोबो सकरजस्ता विभिन्न प्रतियोगितामा भाग लिएको उनले दावी गरेका छन् । राष्ट्रिय प्रतियोगितामा आफ्नो स्थान बलियो बनाउन सफल भएको सुनाउँछन् । त्यसपछि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा यो टोलि सामेल हुन लागेको हो । सन् २०१९ मा भारतको दिल्लीमा भएको टेक्नोजियन वल्र्ड रोबोटिक्स च्याम्पियनसिप र भिआइटी भेलोर जस्ता प्रतिष्ठित प्रतियोगितामा उनीहरूले भाग लिएका थिए । सुरुवाती दिनहरूमा अनुभव र उनको टोलीले सेमिफाइनलबाटै बाहिरिनुपर्ने वा कहिलेकाहीँ छनोट चरण पार गर्न पनि नसक्ने जस्ता चुनौती भोगेका थिए ।

यसपटक उनको टोलीमा काठमाडौंका पवन शर्मा पनि छन् । नेपालको लागि एउटा पोजिसन लिएर आउने उनीहरुको संकल्प रहेको छ । बाहिरबाट हेर्दा रोबोटिक्स सामान्य खेलजस्तो देखिए पनि यसको निर्माण प्रक्रिया अत्यन्तै जटिल र खर्चिलो छ । एउटा प्रतिस्पर्धी रोबोट बनाउनु सामान्य नहुने उनी सुनाउँछन् ।

सबैभन्दा पहिले ‘सोलिडवक्र्स’ जस्ता सफ्टवेयरमा रोबोटको थ्रीडी डिजाइन तयार पारिन्छ । रोबोटको उद्देश्यअनुसार यसको संरचना, हतियार र प्रयोग हुने धातु आल्मुनियम, टाइटेनियम, विशेष ग्रेडको फलाम निर्धारण गरिन्छ । नेपालमा उच्चस्तरीय सीएनसी मेसिनजस्ता प्रविधिको अभाव भएकाले आफ्नो डिजाइन भारत पठाउनुपर्छ । जुन सुविधा नेपालमा छैन ।
पार्टपुर्जामा मोटर, ईएससी, रिमोट कन्ट्रोल सिस्टम (ट्रान्समिटर–रिसिभर) जडान गरेर रोबोटलाई पूर्णता दिइन्छ । यो पूरै प्रक्रियामा कम्तीमा पनि साढे दुई लाख रुपैयाँ खर्च हुने अनुभव बताउँछन् । मेकानिकल पार्टपुर्जामा लगभग ८०–९० हजार, इलेक्ट्रोनिक्समा डेढ लाखसम्म र बाँकी खर्च लाग्ने गरेको छ ।