रबिन्द्र बराल
विराटनगर । जेनजी आन्दोलनको क्रममा जलेको भवन मर्मत गर्दै मोरङको रंगेली नगरपालिकाले त्रिपाल टाँगेर सेवा सुरु गरेको छ । रंगेली नगरपालिकाको मुख्य प्रशासकिय भवनसहित वडाहरु ६, ७, ८ र ९ नम्बर कार्यालय आन्दोलनका क्रममा जलेका छन् ।
मोरङमा रंगेली नगरपालिका अन्य पालिकाभन्दा उदाहरणीय कार्य गर्दै आएको स्थानीय तहमा पर्दथ्यो । तर, आन्दोलनका नाममा भएको तोडफोड, लुटपाट र आगजनीले तत्काललाई काम गर्न असहज भएपनि नागरिकको सेवामा फर्किन बाहेक विकल्प नभएको प्रमुख दिलिपकुमार बगडीयाले जानकारी दिनुभयो ।
महत्वपूर्ण दस्तावेज, कम्प्यूटर, प्रिन्टर, ल्यापटप, फर्निचर सबै जलेर नष्ट भए, तर हामीले यसलाई बिर्सेर काम गर्नुपर्ने स्थितिमा छौं, नगर प्रमुख बगडीयाले भन्नुभयो–जल्यो भनेर खरानी मात्रै टक्टक्याएर बस्दा नागरिकमा झन् नैराश्यता छाँउछ । उहाँले सरसफाईसँगै प्रशासकिय भवन र वडा कार्यालयहरु तत्काललै प्रवलीकरण गरिने जानकारी दिनुभयो । यसका लागि नगरपालिकाले विशेष नगर कार्यपालिकाले निर्णय गरिसकेको उहाँले जानकारी दिनुभयो ।
रंगेली नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत प्रदिप साहले नागरिकले दुःख महसुश गरेर फर्कनु नपरोस् भन्ने गरी काम गरिने छ । जेनजी आन्दोलनमा संलग्न युवाहरु शान्तिपूर्ण प्रदर्शन गरेर फर्किएपछि अर्को घुसपैठ भएको समूहले नगरपालिकामा आगजनी गरेको बताइएको छ । प्रमुख बगडीयाले जेनजी उमेर समूह कटेका व्यक्तिहरुले गरेको कुकर्मलाई कानुनी दायरा ल्याउन माग गर्नुभएको छ ।